+
+

यस्तो छ भाइटीकाको विधि

भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने र अटल सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २९ गते ७:२२

२९ कात्तिक, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् ।

दिदीबहिनी र दाजुभाइ मिलेर पूजा सामग्री तयार गर्छन् । पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ ।

त्यसपछि भाइटीका लगाउन सुरु गर्नुअघि केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ ।

मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।

त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ ।

दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता, लाभा आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ ।

त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका विभिन्न स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ ।

टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूलको वा दुबोका माला लगाइदिने गरिन्छ । तिहारमा मखमली, दूबो र सयपत्री मालाको विशेष महत्व छ । मखमली कहिल्यै नओइलाउने, दूबो सधैं हरियो रहिरहने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले भाइटीकामा तिनै मालाको प्रयोग गर्ने चलन छ ।

दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिइसकेपछि दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाइदिनुपर्छ र दक्षिणा, उपहार आदि साटासाट गरिन्छ ।

त्यसपछि दिदीबहिनीहरुले सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ ।

भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने साझा छ । भाइटीकाको दिनले दिदीबहिनी र दाजुभाइबीच आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने र अटल सौभाग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?