+
+

हजुरआमाका माया र हजुरआमाहरू सँगका सम्बन्ध

मैले एकदिन हजुरआमालाई सोधेँ, ‘छोरीसँगसँगैँ सुत्केरी हुन त्यतिबेला लाज हुँदैनथ्यो ?’ उहाँले रिसाउँदै जवाफ दिनुभयो, ‘तँलाई यस्तो कुरा सोध्न लाज लाग्दैन ?’

अमृता लम्साल अमृता लम्साल
२०८० कात्तिक २९ गते १८:१५

आजको समाजमा, हजुरआमा/हजुरबुवाहरूसँगसँगै, हुर्कने, उहाँहरूका कुरा सुनेर सिक्ने भन्ने कुराहरू एकादेशका कथामा परिणत हुन थालिसक्यो।

यस्तै कुराहरू सोच्दै, सुन्दै, आजभन्दा चार वर्ष अगाडि मैले केही हजुरआमाहरूका कथाहरूलाई श्रृंखलावद्ध डकुमेन्टेसन गरेकी थिएँ। त्यस कार्यलाई धेरै पाठकहरूले त्यस प्रसंगलाई खुबै मन पराइदिनुभयो र त्रिभुवन विश्वविद्यालयको एन्थ्रोपोलोजी डिपार्टमेन्टको पहिलो वर्षको पाठ्यक्रममा समावेश गरियो, जुन एउटा माइलस्टोन थियो।

तत्पश्चात्, कतिपय सञ्चारमाध्यममा, ‘महिलाहरूको कथा पनि पढ्नलायक हुँदोरहेछ’ भन्ने सोच राखेका कारणले होला, यदाकदा आमा-हजुरआमाका उमेरका महिलाहरूका अनुभवहरू प्रकाशन र प्रसारण हुने गरेको देखिन्छ।

साँच्चै भन्ने हो भने, विश्वव्यापी रुपमै हालका दिनहरूमा हजुरआमा/बुबा पुस्ता र नातिनी/नाति पुस्तासँगै बस्ने चलन नगण्य भइसक्यो। तर पनि, त्यो नाता र सम्बन्धको महत्व कतै पनि कम भएको जस्तो लाग्दैन। विदेशका कतिपय इलेमेन्ट्री स्कूलहरूमा, ‘ग्रयान्ड प्यारेन्ट्स डे’ भनेर वर्षको एकपटक भएपनि बच्चाहरूका बाजे/बज्यैलाई स्कूलमा डाकेर विशेष कार्यक्रम पनि गर्ने गरेको देखिन्छ।

ती हजुरआमा/बुबा पुस्ताहरूको परिवार र समाजमा एकदमै ठूलो योगदान हुन्छ। उनीहरूले, आफ्ना नाति/नातिनीहरूलाई परिवारको इतिहास सुनाउने, कतिपय मौखिक रुपले पुर्खौँदेखि स्थापित चलन र मान्यताहरू सिकाउने, सल्लाह दिने, उनीहरूका विश्वासी साथी बनिदिने, आमा बाबुले गाली गर्दा वा रिसाउँदा सान्त्वना दिने काउन्सिलर बनिदिने, बच्चाहरूको खेल्ने साथी बनिदिने जस्ता भूमिकासमेत निर्वाह गर्ने गर्दछन्।

म, यस्तो परिवारकी सदस्य हुँ, जहाँ ‘तीन सेट’ हजुरआमाहरू हुनुहुन्थ्यो, थियौँ। ‘तीन सेट’ भन्नुको अर्थ, मेरी हजुरआमा, कृष्णकुमारी घिमिरे, पहिलो हजुरआमा। दोस्रो, मेरी ममी जयन्ती लम्साल, मेरा र बहिनीहरूका सन्तानको हजुरआमा। तेस्रो, मेरी छोरी र छोराको सन्तानको हजुरआमा, म आफैँ। ‘तीन सेट हजुरआमा’को इतिहास बोकेर हिंडिरहेकी सदस्य ‘थिएँ’ भन्नुको अर्थ, मैले यही कात्तिक १९ गते मेरी हजुरआमा तथा ‘हजुरआमाका कथा’ पुस्तककी एक पात्र कृष्णकुमारी घिमिरेलाई भौतिक रुपमा गुमाएँ।

उहाँ, मेरी मावल हजुरआमा, यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले आफ्नो परिवारलाई बलियोसँग बाँधेर राख्नुभएको थियो। काठमाडौँ सहरमा, हालका दिनमा विरलै त्यस्ता परिवार होलान्, जुन परिवारको मूलीलाई  विरामी पर्दामात्रै होइन, अरूबेलासमेत छोरा, बुहारी, नाति, नातिनी बुहारीमात्रै होइन, पनातिनीसमेतले त्यत्तिकै माया र स्नेहका साथ एक मिनेट एक्लै नछाड्ने, उदाहरणीय परिवार थियो।

मैले, उहाँसँग उहाँका छोरापट्टीका नातिनातिनाहरूले जस्तो साथै रहने समय नपाए पनि, उहाँको अमूल्य माया र स्नेहको साथबाट विमुख कहिल्यै हुनुपरेन।

हुनत, मैले बुबाको आमासँग पनि छोटै समय भएपनि बिताउने समय पाएकी थिएँ। त्यही छोटो समयमा पनि, मेरी हजुरआमाले सुनाउनु भएको कथा, अप्रत्यक्ष्य रुपमै दिनुभएको सिकाइ आज, आफैँ हजुरआमा भइसक्दा पनि जीवनको मूल्यवान क्षणको रुपमा मनभित्र कैद भएर रहेको छ।

मेरा दुबै हजुरआमाहरू, चोखोनितोमा कट्टर, सकुन्जेलसम्म आफैँ पकाएर खानेमात्रै होइन, खुवाउनेसमेत गर्नुहुन्थ्यो। बुवातिरको हजुरआमा दिवङ्गत हुनुभएको त ३६ वर्ष भन्दा बढी भइसक्यो । तर, हामी नातिनातिनीहरूले मावलको हजुरआमाबाट कहिल्यै नबिर्सने र अतूलनीय माया, प्रेम पाएर हुर्कियौँ ।

आजभन्दा, करिब डेढ वर्ष अगाडिसम्म पनि, मावलको हजुरआमालाई म बच्चा जस्तो भएर जिस्किँदै र जिस्क्याउँदै हैरान बनाउँथें। उहाँसँग, ऊ-बेलाका समाजबारे, अनेक खालका प्रश्नहरू गरेर धुरुक्क बनाउँथें। हाम्रो कान्छो मामा, मेरी माहिली बहिनीको उमेरसँगको हुनुहुन्छ। मैले एकदिन हजुरआमालाई सोधेँ, ‘छोरीसँगसँगैँ सुत्केरी हुन त्यतिबेला लाज हुँदैनथ्यो ?’ उहाँले रिसाउँदै जवाफ दिनुभयो, ‘तँलाई यस्तो कुरा सोध्न लाज लाग्दैन ?’ म ढिट हुँदै प्रश्नमाथि प्रश्न  गरिरहन्थेँ। उहाँ कहिले खुशी भएरै, कहिले रिसाउँदै जवाफ दिनुहुन्थ्यो।

मलाई ‘हजुरआमाका कथा’ श्रृंखलामा लेख्न धेरै जवाफहरू चाहिएको थियो। त्यतिबेलाको समाजको अवस्थाबारे ज्ञान तथा जानकारी चाहिएको थियो। उहाँलाई, आफ्नो छोरापट्टीको पहिलो नाति अत्यन्तै प्रिय थियो। जब मलाई जवाफ दिनुहुन्न थियो, तब, म आफूसँगसँगै उसलाई अगाडि सारेर प्रश्न सोध्न लगाउँथें। यसरी मैले ‘हजुरआमाका कथा’मा उहाँको कथा लेखेकी थिएँ।

एकदिन मसँग आजित भएर, मलाई उहाँले प्रश्न गर्नुभयो, ‘तैँले मेरो कुरा लेखेर पैसा कमाउँछेस् हो ?’ मैले त्यो प्रश्नलाई हाँसेर टारिदिएँ।

म, अब उहाँलाई कसरी जवाफ दिन सक्छु र, ‘तपाईंको कथाले तपाईंलाई आफ्नो छुट्टै पहिचान दिएको छ। तपाईं, कविरत्नम् तथा विद्यावारिधि कृष्ण प्रसाद घिमिरे, जो संस्कृतको प्रकाण्ड विद्वान, लेखक र अनुवादक हुनुहुन्थ्यो; उहाँकी धर्मपत्नीमात्रै होइन। तपाईं, ६ जना छोराछोरीको आमामात्रै होइन। तपाईं स्वतन्त्र र संघर्षशील महिला हुनुहुन्थ्यो; जसलाई यो समाजले सयौँ वर्षसम्म पढ्नेछ र कदर गर्नेछ।’

मेरो बाल्यकालतिर फर्कँदा, गैह्रीधारा चोकमै रहेको (अहिले सनराइज बैंक भएको ठाउँ) झिंगटीको छाना भएको घरमा बुइंगलमा रहेको चुलोमा भान्सा सफा गर्ने बेलाबाहेक सायदै, कहिल्यै निभ्थ्यो आगो; गुलि…यो चिया, उहाँको स्वागतको शैली थियो।

उहाँ टोलका महिलाहरूको अघोषित नेता हुनुहुन्थ्यो; किनकि, उहाँमा नेतृत्वको गुण थियो। सबैलाई सहयोग गर्ने, ‘बच्चु दिदी'(उहाँको श्रीमान् ले उहाँलाई ‘बच्ची’ भनेर बोलाएको याद छ), हाम्री ‘दिदी’ (हजुरआमालाई दिदी भन्थ्यौँ) सबैकी प्रिय हुनुहुन्थ्यो।

हामी मामाघर बस्न जाँदा घरबाट दुई मिनेटमा रहेको टोलभरिको पानीको स्रोत रहेको ढुँगेधारामा लिएर जानुहुन्थ्यो हामीलाई नुहाई दिएर माटाको ठूलो भिउँटमा लुगा धुन बस्नुहुन्थ्यो। त्यहाँको माहौल, अहिलेको सामाजिक सञ्जालको जस्तो हुन्थ्यो। सबैका घरका सबै कुराको जानकारी पाइने।

उहाँले पकाएको कालो दाल, आलु तारेको, टुइचाको आलु पसलबाट किनेर ल्याइदिएको साँधेको आलु हाम्रो सबैभन्दा मन परेको खाना/खाजा हुन्थ्यो। पापड भन्ने जिनिस तारेर उहाँले नै खान सिकाउनुभएको थियो।

त्यतिबेला हामी बालाजु पार्क भन्दामाथि रहेको खानेपानीको रिजर्भ्वायरमा बस्थ्यौँ; बुवा त्यहाँ खानेपानी कार्यालयको प्रमुख हुनुहुन्थ्यो। त्यहाँ भएकै समयमा सायद, २९/३० सालतिरको कुरा होला, हाम्रो चुच्चेपाटी स्थित घर पूनर्निर्माण सुरु भयो। मेरी माहिली बहिनि सुनिता र म, बालाजुदेखि बुवालाई खाना बोकेर हिंड्दै, चुच्चेपाटी पुग्थ्यौँ।

हाम्रो बीचको स्टप हाम्रो मामाघर हुन्थ्यो। त्यहाँ रोकिएर बुईंगलमा सानो डालीले छोपेर हजुरआमाले राखिदिनुभएको कालो दाल र भात खपाखप खान्थ्यौँ। अनि भाटभटेनी, भत्किएको पुल (खोलाबाटै हिंड्थ्यौँ) हुँदै, चुच्चेपाटी पुग्थ्यौँ। त्यहाँ, बुवाले खाना खानुभएपछि, फेरि बालाजु जान हिंड्थ्यौँ।

सुनिता र म त्यतिबेला कन्या हाइस्कूल लैनचौरमा पढ्दै थियौँ, बुवाहरू चुच्चेपाटी सर्नुभयो। स्कूल बीचमा सर्न मिलेन। हामी चुच्चेपाटीबाट लैनचौर स्कूल पुग्थ्यौँ; हाम्रो ‘खाजा घर’ मामाघर नै हुन्थ्यो। हजुरआमाले पकाउनुभएको जस्तो मिठो खाजा अन्यत्रको हुँदैनथ्यो। फेरि, त्यतिबेला जहाँसुकै किनेर खाने चलन पनि थिएन र किन्न पनि पाइँदैनथ्यो।

हजुरआमाको कुरा गर्दा कहिले पनि नबिर्सने प्रसंग त उहाँको बाँकटे चोलोको भित्री पत्रमा रहेको सानो खल्तीबाट झिकेर दिने ‘एक सुका’को मूल्य अहिलेको हजार रुपैयाँ भन्दा धेरै हुन्थ्यो अझ, रमाइलो लाग्ने कुरा त, उहाँले हामीलाई खेल्न भनेर, रित्तो भिक्सको बट्टा, के के पुराना कुराहरू जम्मा गरेर राखिदिनुहुन्थ्यो। ती कुराहरू अमूल्य हुन्थे।

आजका पुस्ताहरूले त्यो समयको मूल्य कसरी आँक्न सक्छन् र !

तीन सेटमध्येकी हजुरआमा, मेरी ममीको, उहाँकी दुई नातिनी र पाँच नातीकोसम्बन्धबारे मैले भन्दा धेरै उनीहरूले नै बताउन सक्लान्।

तेस्रो सेटकी म हजुरआमाको अनुभव आफ्नै छन्। म, मेरा तीन नातीहरू र भर्खर केही महिना अगाडि जन्मिएकी नातिनीबाट धेरै टाढा बस्छु। मैले, मेरी हजुरआमासँग बिताएको समय र सन्दर्भ, मैले उनीहरूसँग वा उनीहरूले मसँग पाउन सक्दैनन्। केही गरी पाए पनि एकदम कम समयको लागि मात्रै पाइन्छ।

मेरो जेठो नातीसँगको भेट, ऊ तीन वर्ष भइसकेपछि भएको थियो भने चार महिना पुगिसकेकी मेरी नातिनीसँग भौतिक रुपमा भेट हुन अझै केही हप्ता कुर्नुपर्नेछ। यस्तो अवस्थामा, हाम्रो पुस्ताले हाम्रा हजुरआमा/बुवासँग बिताएको त्यो अन्तरङ्ग समयको कल्पना त अहिलेका नातिनातिनी पुस्ताले विरलै गर्न सक्लान्।

मैले हजुरआमा भएर अनुभव गर्दा, साँवा भन्दा व्याज प्यारो भन्ने भनाई एकदमै सत्य हो। किनकि, छोराछोरी हुर्काउने जिम्मेवारी, उनीहरू बिग्रेलान्, उनीहरूलाई उनीहरूले चाहेको जीवन दिन नसकिएला भन्ने पीर र सुर्ता, नातीनातिनीहरूसँग नहुने हुँदा हजुरआमा/बुवाहरूले गर्नु नपर्ने हुँदा सहज र सरल हुने रहेछ।

त्यसैले, अहिलेका आमा/बुवाले पनि आफ्ना सन्तानहरूलाई सकेससम्म आफ्ना छोराछोरीलाई उनीहरूको हजुरआमा/बुवासँग जोडेर राखुन् ता कि, नातीनातिनी पुस्ताले आफ्ना जीवनका अमूल्य समयलाई मुटुको भित्री कुनामा सजाएर राख्न सकून्।

हजुरआमा, कृष्णकुमारी घिमिरेको बैकुण्ठमा वास होस्!

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?