+
+

नेपालको वातावरणीय चुनौती र विपद् जोखिम व्यवस्थापन

स्थानीय पहल र अन्तर्राष्ट्रिय सहयोगको संयोजनबाट नेपालले वातावरण संरक्षणका जटिलतालाई कम गर्न सक्दछ र कालान्तरमा यसबाट हुनसक्ने जोखिमसमेत निराकरण गर्न सक्ने ठाउँमा पुग्न सक्नेछ ।

डा. रुद्र अर्याल डा. रुद्र अर्याल
२०८० मंसिर ३ गते ७:०८

एनआरएन अन्तर्राष्ट्रिय कमिटीले हरेक दुई वर्षमा नेपाल र नेपाल बाहिर रहने नेपाली विज्ञहरूको टोलीलाई सहभागी बनाई विभिन्न विषयमा अन्तर्राष्ट्रियस्तरको ज्ञान सम्मेलन गर्दै आएको छ । आफ्नै लगानीमा यो सम्मेलन गरेर एनआरएनले नेपाल भित्र र बाहिरका नेपाली विज्ञहरूलाई एकै ठाउँमा ल्याई नेपालको प्रत्यक्ष विकाससँग जोड्न एक महत्वपूर्ण काम गरेको छ ।

यही सम्मेलन अन्तर्गत नेपालको वातावरणीय चुनौती र विपद् जोखिम व्यवस्थापन सम्बन्धमा भएको सेमिनारको अध्यक्षता गर्ने अवसर मलाई मिलेको थियो । यस लेखमा विशेषगरी वायु प्रदूषण, प्रदूषणबाट हिमालयमा परेको प्रभाव, सीमापारिका देशहरूबाट नेपालमा हुने वायु प्रदूषण र विपद् जोखिम व्यवस्थापन जस्ता नेपालले सामना गरिरहेका केही प्रमुख समस्याको बारेमा छोटो विश्लेषण गरिएको छ ।

थोरै क्षेत्रफल ओगटे पनि तराई, पहाड र हिमालमा विभाजित नेपालका आफ्नै मनमोहक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाको उपस्थितिले गर्दा विश्वका विश्वविद्यालयदेखि सरकारी केन्द्रहरूसम्मका लागि वातावरणीय प्रभाव र सांस्कृतिक अवस्थाको विश्लेषण गर्न नेपाल प्रमुख रूपमा छनोट क्षेत्रमा पर्ने गरेको छ ।

म आफू पनि लामो समयदेखि नेपालको वायु प्रदूषणको अध्ययनमा संलग्न भएको छु । सँगै लामो समय अमेरिकादेखि विश्वका विभिन्न क्षेत्रहरूका वातावरणीय परिस्थितिहरूको अनुसन्धान गरेकोले पनि मलाई यो निष्कर्ष निकाल्न अप्ठेरो लाग्दैन कि- हाम्रो देश प्राकृतिक रूपमा राम्रो हुँदाहुँदै पनि असंख्य वातावरणीय चुनौतीबाट मुक्त छैन । त्यसैले यो विषय अति नै संवेदनशील छ र यसमा तत्काल ध्यान दिन आवश्यक छ ।

वायु प्रदूषणः हिमालहरू झन् जोखिममा

शहरीकरण, औद्योगीकरण र सवारी साधनको वृद्धिले गर्दा नेपालको वायु प्रदूषणको समस्या अझ बढी विकराल हुँदै गइरहेको छ । शहरी क्षेत्रहरूमा सवारी साधन र औद्योगिक गतिविधिको बाक्लो उपस्थितिले वायुमण्डलमा धूलाका कणहरू प्रदूषकको रूपमा छन्, जसले आम जनताको स्वास्थ्य र वातावरणीय परिस्थितिमा प्रतिकूल असर पारेको देखिन्छ ।

अझ विशेषगरी नेपालका शहरी क्षेत्रहरूका बाटाघाटाहरूको मर्मत समयमा नहुँदा धुलाको समस्या अझ बढी भएको देखिन्छ । यस समस्याको गम्भीरतालाई प्रभाव पर्ने गरी नेपाल सरकारले प्रदूषण नियन्त्रणका लागि यातायात क्षेत्रका नियमहरू परिमार्जन गर्ने गरेको छ ।

यस्तै प्रदूषण नियन्त्रण मापदण्ड लागू गर्ने जस्ता कडा कदम चालेको पनि छ । तर, यी विषयमा सबै पक्षले गम्भीरतापूर्वक नलिएको देखिन्छ । अहिले आएर विभिन्न विकसित देशहरूले कडाइका साथ वायु प्रदूषणबाट बच्न र कम गर्न विभिन्न मापदण्ड प्रयोगमा ल्याएका छन् भन्ने तथ्यलाई हामीले पनि स्वीकार गर्नुपर्छ ।

तीमध्ये भारत, चीन लगायत विश्वका धेरै देशमा घर र कार्यालयहरूमा उच्च-दक्षता कण वायु फिल्टरहरू सहितका एयर प्युरिफायरहरूको प्रयोग गर्दै हावाबाट सूक्ष्म कणहरू र प्रदूषकहरू हटाई घरभित्रको हावाको गुणस्तरमा व्यापक सुधार गरिएका छन् ।

त्यसैगरी उद्योगहरूले निकाल्ने प्रदूषणलाई नियन्त्रण गर्न प्रभावकारी प्रविधिको रूपमा इलेक्ट्रोस्टेटिक पि्रसिपिटेटरहरू प्रयोग गरिएको छ । जसले गर्दा उद्योगहरूका ग्याँसबाट निस्केका प्रदूषित कणहरू इलेक्ट्रोस्टेटिक चार्ज प्रयोग गरी हटाई वायु प्रदूषण कम गर्ने गरिएका छन् ।

त्यहाँ रूखहरू व्यापक रूपमा रोपेर ‘हरित बेल्ट’ विकास गर्दै वातावरणीय सुन्दरता विकास गरिएका छन् । गाडीबाट निस्कने प्रदूषणको मात्रालाई कडाइका साथ लागु गर्दै लगिएको छ । शहरको बीचमा ठूला ठूला एअर-फिल्टरहरू राखेर हावालाई स्वच्छ बनाउने र विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहन गरिएका छन् । वायु प्रदूषणको नकारात्मक असर बारे जनचेतना जगाउने र शहरका चोकहरूमा प्रष्ट रूपमा प्रदूषणको मात्रा देखिने गरी उपकरणहरू राखिनुपर्ने विषयमा छलफल भइरहेका छन् ।

हामी सबैले वातावरणीय सुन्दरतालाई महत्व दिंदै काम गर्न थाल्यौं भने प्राकृतिक प्रकोपको जोखिम कम गर्ने मामिलामा नागरिकदेखि स्थानीय र केन्द्रसम्मका सरकारहरूको भूमिका महत्वपूर्ण हुनेछ

आन्तरिक प्रदूषण बाहेक नेपालले सीमा बाहिरबाट नेपालसम्म आइपुग्ने प्रदूषणहरूको समेत प्रभाव झेलिरहेको छ । यस सम्बन्धमा करिब दुई वर्ष पहिला म सहित अन्तर्राष्ट्रिय अध्ययन टोलीको एउटा अनुसन्धान पत्र अन्तर्राष्ट्रिय वैज्ञानिक शोधपत्रमा समेत प्रकाशित भएको थियो ।

सन् २०१७ को डेटालाई आधार मानेर गरिएको सो अध्ययन अनुसार विन्टर र प्रि-मनसुन समयमा -डिसेम्बरदेखि मे महिनासम्म) मा विशेषगरी अरबियन र पाकिस्तानको विभिन्न भागबाट इन्डियाको पश्चिम उत्तर क्षेत्र हुँदै नेपालमा वायु प्रदूषण प्रवेश गरेको भेटिएको थियो । यस्तै मनसुनको समयमा (जूनदेखि सेप्टेम्बरसम्म) विशेषगरी इन्डियाको ‘बे अफ बङ्गाल’ देखि इन्डियाकै उत्तर-पूर्वी क्षेत्र हुँदै नेपालको दक्षिण-पूर्वी भागबाट नेपाल प्रवेश गरेको देखियो ।

त्यसैगरी पोस्ट मनसुन सिजनमा (अक्टोबर-नोभेम्बर) भने हावाको गतिमा केही कम भएको, इन्डियाको उत्तर पूर्वी क्षेत्र र बंगलादेशको प्रदूषण अनि नेपालको आन्तरिक प्रदूषणहरूको प्रभाव हिमालसम्म पुगेको देखिएको थियो ।

यसरी छिमेकी राष्ट्रहरूबाट उत्पन्न हुने अन्तरदेशीय वायु प्रदूषणले नेपालमा वायुको गुणस्तरमा समस्या थपेको प्रष्ट रूपमा देखिन्छ । नेपाल सरकारले यो प्रदूषणको आवागमनमा सम्बोधन गर्न क्षेत्रीय सहयोगको नीतिका लागि समन्वयात्मक प्रयास गर्नु अति आवश्यक देखिन्छ ।

संयुक्त राष्ट्रसंघका फोरमहरूमा हुने छलफलहरूमा समेत छिमेकी राष्ट्रहरूका कारणले व्यहोर्नुपर्ने प्रदूषणको समस्यालाई विशेष महत्व दिएर उठाउने काम भइरहेको छ र पीडित देशहरूले क्षतिपूर्ति समेत पाउनुपर्ने ‘क्लाइमेट जस्टिस’ को रूपमा समेत ठूलो आवाज उठिरहेको छ । यसमा अझ विशेष पहल र कूटनीतिक संलग्नताको आवश्यकता देखिन्छ ।

नेपालको जलवायु सन्तुलनमा हिमालय क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । विभिन्न समयमा भएका वैज्ञानिक अध्ययनहरूबाट नेपालभित्रकै प्रदूषण, हिमाल चढ्दा फालिने वस्तुहरूको प्रभाव र छिमेकी देशहरूबाट हावा मार्फत आउने कार्बन लगायत विभिन्न मेटालिक कणहरूले गर्दा हिमाल पग्लने खतरा एकदमै बढेको देखिन्छ ।

यसमा पनि विश्वव्यापी बढ्दो तापक्रमले गर्दा हिउँ पग्लँदै जाने र कालान्तरमा हिमनदीहरू सुक्ने, वर्षाको ढाँचामा परिवर्तन हुने जस्ता विषम परिस्थितिले गर्दा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको जीविकोपार्जनमा प्रत्यक्ष खतरा निम्त्याउने जोखिम छ । यसले हिमाल भन्दा तलका क्षेत्रहरूमा समेत दूरगामी प्रभावहरू पार्ने देखिन्छ । यी प्रभावहरूको अनुगमन र न्यूनीकरण गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रयासहरू बढाउनुपर्ने खाँचो छ ।

विपद् जोखिम व्यवस्थापन

नेपालको भौगोलिक विविधताले भूकम्प, पहिरो, बाढी लगायत विभिन्न प्राकृतिक प्रकोपहरूले समग्र सुरक्षा प्रणालीलाई नै अति संवेदनशील बनाएको देखिन्छ । हालैका वर्षहरूमा देशले विभिन्न क्षेत्रमा विनाशकारी भूकम्पहरूको अनुभव गरेको छ । धेरै धनजनको क्षति हुनुमा नागरिक तहमा राष्ट्रियस्तरमा जागरुकतामा कमी र आपत्-विपद् पर्ने परिस्थितिमा कस्तो खाले सरकारी सहयोग गर्ने भन्ने बारेमा कुनै योजनाहरू समेत नबनेको देखिन्छ ।

बलियो विपद् जोखिम व्यवस्थापन रणनीतिहरूको महत्वलाई जोड नदिने हो भने आउँदा दिनमा भयङ्कर आपत् आइलाग्न सक्ने अनुसन्धानहरूले देखाएका छन् । घर निर्माणमा भौगोलिक परीक्षण, प्राकृतिक प्रकोप हुने ठाउँमा बन्ने घरहरूको बनोटलाई ख्याल गर्नु जरूरी छ ।

त्यस बाहेक प्रारम्भिक चेतावनी प्रणालीमा लगानी, पूर्वाधारमा लचिलोपन र सामुदायिक तयारी जस्ता विपद्को प्रभावलाई न्यूनीकरण गर्ने पक्षमा राष्ट्रको समग्र शक्ति प्रयोग गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाटै लगानी गर्नुपर्ने देखिन्छ । यस सम्बन्धमा विदेशमा बस्ने दक्ष नेपालीको समेत सहयोग महत्वपूर्ण हुनसक्छ ।

अन्त्यमा, नेपालका वातावरणीय चुनौती प्रशस्त छन् । यी मुद्दाहरूको पहिचान र तिनको न्यूनीकरणका लागि विदेशमा रहने दक्ष नेपालीहरू सहयोगी हुनसक्छन् । यसैगरी नेपालका अनुसन्धानकर्ताहरू, विभिन्न विश्वविद्यालयका तर्फबाट र सम्बन्धित मन्त्रालय समेतले स्थानीयदेखि केन्द्रसम्मकै विशेष किसिमको एकीकृत कार्यक्रम बनाएर अघि बढ्ने प्रतिबद्धता देखाउनुपर्ने अवस्था छ ।

स्थानीय पहल र अन्तर्राष्ट्रिय सहयोगको संयोजनबाट, नेपालले वातावरण संरक्षणका जटिलताहरूलाई कम गर्न सक्दछ र कालान्तरमा यसबाट पर्ने जोखिमलाई समेत निराकरण गर्न सक्ने अवस्थामा पुग्न सक्नेछ । हामी सबैले वातावरणीय सुन्दरतालाई महत्व दिंदै काम गर्न थाल्यौं भने प्राकृतिक प्रकोपको जोखिम कम गर्ने मामिलामा नागरिकदेखि स्थानीय र केन्द्रसम्मका सरकारहरूको भूमिका महत्वपूर्ण हुनेछ ।

(डा. अर्याल फ्यांकलिन फिअर्स विश्वविद्यालय न्यु हृयाप्शायरका प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?