+
+

खोलामा करेन्ट लगाउँदा गण्डकीमा ४ वर्षमा १५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १८:४६

४ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२९ पटनेरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार दम्पतीको मृत्यु भएको छ ।

खेतमा पानी लगिएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पटनेरी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती सावित्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

मुस्ताङ जोमसोमबाट पोखरामा मजदुरी गरी बस्ने भीमलाल दम्पतीलाई नै करेन्ट लागेर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।

धेरै खोला भएको गण्डकी प्रदेशमा करेन्ट लगाएर माछा मार्ने क्रममा ज्यान जानेको संख्या बढ्दै जान थालेपछि प्रहरीका निम्ति पनि टाउको दुखाइ बनेको छ । सहर र गाउँका खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो ४ वर्षको अवधिमा मात्र गण्डकी प्रदेशमा करेन्ट लगाएर माछा मार्ने क्रममा १५ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । धेरै माछा छिटो मार्न सकिने भन्दै करेन्ट लगाउँदा एकातिर जलचरको धेरै क्षति भएको छ भने अर्कोतर्फ मानवीय क्षति पनि भएको प्रदेश प्रहरी प्रमुख वुद्धिराज गुरुङले बताए ।

‘गैरकानुनी रुपमा माछा मार्ने क्रममा ठूलो संख्यामा मान्छे मार्न थालेपछि हाम्रो लागि पनि चुनौती बनेको छ’, प्रदेश प्रहरी प्रमुख गुरुङले भने, ‘ज्ञान नभएर हो या प्रशासनले कारबाही गर्छ भन्ने थाहा नभएर हो, यो क्रम रोक्न सकिएन । यसमा सचेतना बढाउनुपर्ने देखियो ।’

गण्डकी प्रदेशमा ४ वर्षमा १५ जनाको मृत्यु भइसकेको छ भने करेन्ट लगाएर माछा मार्ने काममा संलग्न १३ जना पक्राउ परेका छन् ।

जलचर संरक्षण ऐन २०१७ को दफा ३ अनुसार विद्युतीय धार प्रवाह (करेण्ट) लगाएर सार्वजनिक जलमा जलचरलाई समात्न वा मार्न पाइँदैन । बिस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न पनि कानुनले बर्जित गरेको छ ।

गैरकानुनी रुपमा यस्तो कार्य गरे हानी नोक्सानीको विगो बराबरको क्षतिपूर्ति गराई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, गैरकानुनी रुपमा यसरी माछा मार्न खोज्दा धेरैले ज्यान गुमाएका हुन् ।

आर्थिक वर्ष ०७७/०७८ मा स्याङ्जामा १ जना र तनहुँमा १ जना गरी २ जनाले ज्यान गुमाएका थिए भने २ जना पक्राउ परे । त्यसको पछिल्लो वर्ष नवलपरासी पूर्वमा करेन्ट लागेर ७ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्षमा नवलपरासी पूर्व र स्याङ्जामा गरी २ जनाले ज्यान गुमाए भने ३ जना पक्राउ परे ।

चालु आर्थिक वर्षमा अहिलेसम्म कास्की, पर्वत, स्याङ्जा र तनहुँमा गरी ५ जनाले ज्यान गुमाएका छन् । करेन्ट लगाएर माछा मार्ने ४ जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी प्रमुख गुरुङ करेन्ट लगाएर माछा मार्नु गैरकानुनी हो, यसरी धेरै जनाको ज्यान गएको छ र धेरै जनालाई प्रहरीले कारबाही गरेको छ भनेर स्थानीय स्तरदेखि नै चेतना जगाउनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?