+
+

धनगढीले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १३:२८

६ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुल महाशाखाका प्रमुख नरेन्द्र बहादुर खातीले विद्यालयले निजी स्रोतमा राखेका शिक्षकलाई आवश्यकताका आधारमा नगर शिक्षक बनाउने निर्णय भएको जानकारी दिए ।

खातीकाअनुसार निजी स्रोतमा कार्यरत सबै शिक्षक नगर शिक्षक भने हन सक्ने छैनन् ।

स्रोत, साधन भएका विद्यालयको हकमा सम्बन्धित विद्यालयले नै शिक्षकको सेवासुविधा व्यहोर्ने र अवस्था कमजोर भएका विद्यालयमा कार्यरत शिक्षकलाई भने नगरपालिकाले सेवासुविधा उपलब्ध गराउने उनको भनाई छ ।

‘अहिले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउनेगरी नीतिगत निर्णय भएको हो । अब त्यसको मापदण्ड बनाएर कार्यान्वयनमा लैजान्छौँ,’ खातीले भने, ‘स्रोत,साधन भएका स्कुलले आफै व्यर्होछन् । नदिइ नहुने अवस्थाका विद्यालयबारे अध्ययन गरेर अघि बढ्छौँ ।’

खातीका अनुसार धनगढी उपमहानगरपालिकामा अहिले एक सय ५९ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । उनीहरुमध्ये कतिपय शिक्षण अनुमति पत्र प्राप्त नगरेका व्यक्ति समेत रहेका छन् ।

नगर शिक्षक बनाउने क्रममा सम्बन्धित व्यक्तिको योग्यता, दक्षता र शिक्षण अनुमती पत्र भए/नभएको कुरालाई समेत आधार बनाइने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?