+
+
ब्लग :

स्रोङ्चन गम्पो-भृकुटी दाम्पत्य सम्बन्धको ऐतिहासिक दायरा

विचारणीय पक्ष के छ भने राजा स्रोङ्चन गम्पो र भृकुटीको दाम्पत्य सम्बन्धको ऐतिहासिक दायरालाई फराकिलो बनाउन नेपाल र चीन सरकारबीच थप कूटनीतिक-ऐतिहासिक-सांस्कृतिक पहलको आवश्यकता महसुस हुन्छ ।

कविता सुब्बा कविता सुब्बा
२०८० मंसिर ६ गते १८:५१

नेपालको उत्तरी सँधियार मित्रराष्ट्र चीनको स्वायत्त प्रदेश तिब्बतको प्राचीन नाम टुबो थियो । टुबो राज्यको स्थापनार्थ तत्कालीन गार परिवारको नाम अग्रपंक्तिमा आउँछ । तिब्बतमा गार परिवारलाई प्राचीन सम्भ्रान्त परिवारको रूपमा लिइन्छ ।

तत्कालीन तिब्बती राजा स्रोङ्चन गम्पो र उनका विश्वास पात्र विद्वान् मन्त्री गार तोङसेन युलसुङको नाम ऐतिहासिक रूपमा जोडिएको छ । मन्त्री गार टुबो राजा स्रोङ्चन गम्पोका एक असल सेनानी र राजनेताको रूपमा कहलिएका थिए ।

गार तिब्बती जनतामाझ लोकप्रिय मन्त्री थिए । उनले हान जाति र तिब्बती जनताको बीचमा रहेर गहिरो मित्रताको बीजारोपण गरेका थिए । मन्त्री गारले नेपाल र चीनको सम्बन्धलाई प्रगाढ बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेका थिए ।

तिब्बतमा ग्यात्सा काउण्टी छ । ऐतिहासिक ग्यात्सा निवासीले ‘गर्यु’ नाम गरेको स्थानलाई गार वंशको आदिभूमि र जन्मभूमि मान्दै आएको छ । ‘गर्यु’को अर्थ तिब्बती भाषामा ‘गार तोङसेन युलसुङको गृहनगर’ भन्ने हुन्छ । यो स्थानमा उनको परिवारसँग सम्बन्धित १२ वटा भौगोलिक स्थलहरूको नाम जोडिएको छ ।

हिजोआज पनि तिब्बतमा गारको सम्झनामा लोकगीत गाउने प्रचलन रहिआएको छ । तिब्बतका गार्दुल, गर्जी, गर्मी, गर्यु लगायत ठाउँहरूमा पनि मन्त्री गारको प्रशंसा चुलिएको छ । भृकुटी स्मृति प्रतिष्ठानका अनुसन्धानकर्ताहरूका अनुसार राजा स्रोङ्चन गम्पोका लागि नेपालमा राजकुमारी भृकुटीको हात माग्ने प्रस्ताव लिएर आउँदा सन् ६३२÷३३ ताका तिब्बतबाट मन्त्री गार नै आएका थिए ।

नेपालमा तिब्बतका मन्त्री गारसँगै अर्का मन्त्री थोनमी साम्भोटा र साथमा अङ्गरक्षकहरू पनि आएका थिए । उनीहरू नेपाल आउँदा केरुङ (किढोङ) को बाटो भएर आएको तिब्बती ग्रन्थ ‘मणि काबुम भोलुम क’ मा उल्लेख छ । केरुङको बाटो भएर नेपाल आउँदा रसुवागढी हुँदै आउनुपर्छ । भृकुटीलाई तत्कालीन खोपासीबाट अन्माएर साँखुको बज्रयोगिनी हुँदै तिब्बत लैजाने क्रममा पनि केरुङकै बाटो प्रयोग गरिएको अनुसन्धानकर्ताहरूको दाबी छ ।

रसुवागढीको केरुङ (भोट) खोला पारिपट्टिको पाखो, पहरोलाई भृकुटी लगिएको प्राचीन जन्ती मार्गको रूपमा चिनिंदै आएको स्थानीय जनमानसमा व्याप्त छ । त्यसै जन्ती मार्गबाट भृकुटीलाई केरुङ लगेपछि एउटा प्राचीन गुरुफुग गुफामा केही समय राखिएको थियो । त्यो गुफा हाल पनि केरुङको ग्येफु गाउँमा अवस्थित छ ।

‘ग्ये’को अर्थ छुट्नु अर्थात् बिदाइ गर्नु हो । फु÷फुगको अर्थ गुफा हो । भृकुटी त्यो गाउँको गुफाबाट छुट्टिएर माइती नेपाल छोडी तिब्बत घरतर्फ प्रस्थान गरेकाले आजभोलि पनि ग्येफु गाउँको गुरु गुफा ऐतिहासिक र लोकप्रिय बनेको छ । भृकुटीलाई त्यहाँबाट अन्तिम बिदाइ गरी ल्हासातर्फ सवारी चलाइएको नेपाली र तिब्बती ऐतिहासिक स्रोतहरूले जनाएका छन् ।

त्यो गुफाबाट भृकुटीलाई बिदाइ गरी नेपाली माइती पक्ष नेपालतिर फिर्ता आएको मणि काबुममा पनि उल्लेख छ । यसरी तिब्बती जन्तीहरूले भृकुटीलाई ल्हासातर्फ लिएर गएको हुनाले नै त्यो गुरुफुलाई आजभोलि पनि बिदाइ गुफा भनेर चिनिंदै आएको छ ।

त्यसपछि गुरु रिम्पोछेकालीन शताब्दीमा पनि रिम्पोछेले यसै ऐतिहासिक गुफामा बसेर तपस्या गर्नुभएको केरुङका स्थानीय स्रोतहरूले जनाएका छन् । नेपाल–चीन (भोट तिब्बत) सम्बन्धको इतिहासमा रसुवागढी–केरुङ त्यो महत्वपूर्ण केन्द्र हो, जहाँबाट भविष्यमा विद्युतीय चिनियाँ रेलमार्ग निर्माण भई रेलसेवा सञ्चालनमा आउने योजना सार्वजनिक भइसकेको छ ।

तत्कालीन तिब्बती राजा स्रोङ्चन गम्पोले आफ्नो नेतृत्वमा तिब्बतको एकीकरण अभियान सफल पारेका थिए । त्यसपछि लगत्तै उनले एउटी राजकुमारी नेपालबाट, अर्की राजकुमारी चीनबाट ल्याएर विवाह गरी रानी बनाउने प्रतिज्ञा गरेको तिब्बती ग्रन्थ मणि काबुममा उल्लेख छ ।

एउटा रोचक प्रसंग के छ भने स्रोङ्चन गम्पोले नेपाल र चीनकी राजकुमारीहरूसँग विवाह गर्ने क्रममा आफू राजगद्दीमा रहेकाले दुवै राजकुमारीका देशहरूमा मन्त्री गार तोङसेन युलसुङलाई नै आफ्नो प्रतिनिधिको रूपमा पठाएका थिए । तर नेपालकी राजकुमारी भृकुटीको हकमा भने मन्त्री गार सँगसँगै अर्का विद्वान् मन्त्री थोनमी साम्भोटालाई पनि आफ्नो विवाह प्रतिनिधिमण्डलको रूपमा नेपाल पठाएको इतिहास छ ।

परन्तु, विवाह प्रतिनिधिमण्डलको रूपमा नेपाल आएका थोनमी साम्भोटा भने चीनकी राजकुमारी वेङचेङ कोङचोको हात माग्न चीन गएको इतिहास मौन छ । यसरी राजा स्रोङ्चन गम्पोको निर्देशन र चाहनामा जसरी मन्त्री गार तोङसेन युलसुङ नेपाली राजकुमारी भृकुटीको प्रस्ताव लिएर नेपाल आएका थिए, त्यसैगरी अर्की रानी चिनियाँ राजकुमारी वेङचेङको हात माग्न सन् ६४०/४१ ताका तत्कालीन चीनको छाङआन गएका थिए ।

छाङआनमा राजकुमारी वेङचेङ कोङचोको हात माग्न गार बाहेक अन्य राज्यका प्रतिनिधिहरू पनि विवाहको प्रस्ताव लिएर पुगेका थिए । चिनियाँ थाङ वंशीय शक्तिशाली सम्राट ताइजोङ (ली शिमिन) ले सम्भावित वरहरूको बीचमा एउटा बहुपरीक्षण प्रतियोगिता गरे । त्यो प्रतियोगिताका विजेताले राजकुमारी वेङचेङलाई प्राप्त गर्ने शर्त राखे ।

त्यसका लागि योग्य वर छान्न ६ वटा परीक्षण गर्ने निधो गरे । ऐतिहासिक दस्तावेजका अनुसार पहिलो परीक्षणको रूपमा एउटा कपडालाई ९ वटा दुलो भएको मोतीमा छिराउनुपर्ने थियो । फरक–फरक र तल–माथि भएका नौ वटा दुलोमा त्यो पातलो कपडालाई छिराउनुपर्ने थियो । अरू दूतहरूले इज्जतसाथ टुबोको दूतसमक्ष जानुपर्दथ्यो । त्यहाँ कसैले पनि समस्या समाधान गर्न सकेका थिएनन् । मन्त्री गार तोङसेनले केही पर एउटा ठूलो रूखमुनि सोचमग्न भएर यो सबै दृश्य अभिरुचिपूर्वक नियालिरहेका थिए ।

गारले अचानक त्यहाँ एउटा कमिला देखे । त्यो कमिला देखेर गारको मन, मस्तिष्कमा एउटा विचार फु¥यो । उनले सानो धागोको एकपट्टि त्यो कमिलालाई बाँधे । अर्कोपट्टि त्यो धागो कपडाको त्यान्द्रोमा बाँधे । उनले केही थोरै मह त्यो मोतीमा राखिदिए । उनले त्यहाँ कमिला पुगेपछि विस्तारै फुकेर अर्कोपट्टि कमिलालाई निकाले । कमिलासँगै कपडाको त्यो सानो त्यान्द्रो पनि बाहिर निस्कियो । यसरी त्यो समस्याको समाधान भयो ।

त्यसैगरी अन्य पाँच प्रश्नहरूको जवाफ पनि विभिन्न प्रकारबाट समाधान भयो । सबै प्रश्नहरूको समाधान भएपछि सम्राट ताइजोङ खुसी भए । त्यसपछि उनले आफ्नी छोरी राजकुमारी वेङचेङ कोङचोको बिहे टुबोका शासक स्रोङ्चन गम्पोसँग गरिदिने निधो गरे ।

थाङ सम्राटकी छोरीलाई आफ्नो राजासँग विवाह गराउन सफल भएकोमा गारलाई तिब्बती र हान समुदायबीच विवाहको सुरुवात गर्ने सेतुको रूपमा स्मरण गरिन्छ । यसरी मन्त्री गारले ऐतिहासिक–सांस्कृतिक नेपाल–चीन (तिब्बत) सम्बन्ध सुदृढीकरणमा पनि निर्णायक भूमिका निर्वाह गर्नुभएको विषय मननीय छ ।

यहाँनेर एउटा विचारणीय पक्ष के छ भने राजा स्रोङ्चन गम्पो र भृकुटीको दाम्पत्य सम्बन्धको ऐतिहासिक दायरालाई फराकिलो बनाउन नेपाल सरकार र चीन सरकारबीच कूटनीतिक–ऐतिहासिक–सांस्कृतिक पहलमा थप वृद्धि गर्नुपर्ने आवश्यकता महसुस हुन्छ । ऐतिहासिक टुबो गार परिवारको भूमिका जोडिएको नेपाल–भोट चीन सम्बन्धको उचाइमा भृकुटी–स्रोङ्चन गम्पो–वेङचेङ सदा अमर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?