+
+

कञ्चनपुरमा महिलाको हत्या गरी गरगहना लुटपाट, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १६:४७

७ मंसिर, धनगढी । कञ्चनपुरमा गत २० कात्तिकमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको छ ।

मृत भेटिएकी जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको हो । जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जना मतियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महिलाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने  डगौराका साथी धनगढी उपमहानगरपालिका-१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेको डीएसपी डाँगीले बताए ।

मृतक जोशीलाई १९ कात्तिकमा घटनाका मुख्य अभियुक्त डगौराले घाँस काट्न एक्लै जंगलतिर गइरहेको देखेपछि लुट्ने उद्देश्यले आफू पनि महिलाकै पछि पछि गएको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । डगौराले जंगलभित्र पुगेर मृतक महिलासँग घाँस काटिदिन्छु भन्दै हँसिया मागेका थिए ।

हँसियालाई केही टाढा फाल्दै मृतकको घाँटी थिचेको र हल्ला गर्न थालेपछि नाकमुख च्यापि पुनः घाँटिमा हातले दबाएर मृतककै चुन्नी जस्तो कपडाले घाँटी कसी मारेको बयान प्रहरीलाई डगौराले दिएका छन् ।

जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए । धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।

धनगढी फर्किएपछि साथी लक्ष्मण चौधरीसँग छाडेर गएको लुटेको बुलाकी बिक्री गरेपछि उनकै कोठामा बसेको बयान दिएका छन् ।

मृतकका छोरा मोहनराज जोशीले मुख्य अभियुक्त महेश डँगौरासहितका नाममा कर्तव्‍य ज्यान तथा लुटपाट शीर्षकमा जाहेरी दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?