+
+

माओवादी महासचिव भन्छन् : प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते ११:१९

८ मंसिर, काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरूङले दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको दाबी गरेका छन् ।

‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको ट्रायल हो । एउटा हाउगुजी क्रियट गर्ने प्रयास हो ।’

बिहीबार नेकपा एमालेको युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । सरकारले सुरक्षा सर्तकर्ता अपनाएका कारण बिहीबारको प्रदर्शनमा आयोजकले चाहे जस्तो द्वन्द्व फैलाउने नपाएको उनको भनाइ छ ।

‘एकले अर्कोको विरुद्ध प्रर्दशन गर्ने, एकै ठाउँमा प्रदर्शनका लागि पहल गर्ने प्रयास भयो । यो द्वन्द्व निम्त्याउने र त्यसमा खेल्ने प्रयास हो’ महासचिव गुरुङ भन्छन्, ‘राजधानीमा भएको प्रदर्शन प्रायोजित प्रदर्शन हो ।’

विकासउन्मुख देशमा अशान्ति र द्वन्द्व मच्चाएर एकाधिकार काम गर्ने शक्तिले नेपालमा पनि  भूमिका खेलिरहेको उनको टिप्पणी छ ।

महासचिव गुरूङ भन्छन्, ‘एउटा पक्ष जहिले पनि तेस्रो विश्वमा अस्थिरता भइरहोस्, द्वन्द्व भइरहोस भन्ने चाहन्छ र त्यस खालका व्यवहारमा मलजल गर्छ । नेपालमा अहिले देखिएको दृश्य पनि त्यसकै बिम्ब हो ।’

नेपालमा राजतन्त्र फर्किन्छ भनेर कल्पना पनि गर्न नसकिने उनको दाबी छ । उनी प्रश्न गर्छन्, ‘कुनै वंशको दास हुन हृदयले कोही चाहन्छ होला त ?’

तर यस्तो नाराको पछाडि मानिसहरू किन लागे भनेर सरकारले मनन गर्नुपर्ने माओवादी महासचिव गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?