+
+

भारतबाट भन्सार सहुलियतको २० हजार मेट्रिक टन चिनी आउने सम्भावना टर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १७:११

८ मंसिर, काठमाडौं । सरकारले तिहारका लागि भन्सार सहुलियतमा आयात गर्न खोजेको चिनी नआउने भएको छ । भारत सरकारले महँगो मूल्य भनेका कारण चिनी ल्याउन सम्भव नदेखिएको सरकारी दाबी छ ।

द्रुत गतिमा चिनी खरिदका लागि पहल थालेको अर्ध सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि भारतबाट सहुलियतमा चिनी ल्याउने प्रयास लगभग सकिएको बताएको छ । सरकारले १५ प्रतिशत भन्सार छुटमा तिहारका लागि भारतबाट २० हजार मेट्रिकटन चिनी आयात गर्ने घोषणा गरेको थियो ।

जसमा १० हजार मेट्रिकटन खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट र १० हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङले आयात गर्ने गरी जिम्मेवारी तोकिएको थियो । तर, दुवै कम्पनीले गरेको प्रयासबाट चिनी ल्याउन असम्भव देखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ ।

‘भारतको सरकारी कम्पनीबाटै चिनी किन्ने भनिएको थियो,’ एक उच्च अधिकारीले भने, ‘तर, उच्च मूल्यका कारण नेपालसम्म आइपुग्दा चिनी झनै महँगो हुने देखियो ।’

ती अधिकारीकाअनुसार भारतले ५३ रुपैयाँदेखि ५५ रुपैयाँ भारुमा चिनी नेपाललाई बेच्न प्रस्ताव गरेको छ ।

‘यो मूल्यले नेपालमा आइपुग्दा चिनीको लागत १०५ रुपैयाँ नाघ्ने देखियो,’ ती अधिकारले भने, ‘नेपालमै उत्पादन हुने चिनीभन्दा पनि महँगो मूल्यमा चिनी नेपाल आइपुग्ने भएकाले भारतको मूल्यपछि हामी हच्किएका छौं ।’

साल्ट ट्रेडिङले पनि चिनी ल्याउन नसिकिने अवस्था आएको जनाएको छ । चिनी खरिदका लागि भारतीय कम्पनीमै पुगेर छलफल गरे पनि अब ल्याउने चिनीले लगानी फस्ने तर बजारमा चिनीको बिक्री गर्न नसकिने अवस्था देखिएको कर्पोरेसनले जनाएको छ ।

‘भारतमै महँगो मूल्यका कारण सहुलियतको चिनी ल्याएर बिक्री गर्न नसकिने देखियो,’ साल्ट ट्रेडिङका सूचना अधिकारी कुमाराज भण्डारीले भने, ‘नेपालमा चिनीको क्रसिङ्ग सुरु भइसकेका कारण चिनी ल्याउन हामी सोचिरहेका छौं ।’

भारतीय बजारमा चिनीको मूल्य ४३ रुपैयाँ रहेको तर नेपाललाई प्रस्ताव गरिएको मूल्य निकै महँगो भएको साल्टका अधिकारीहरुले बताएका छन् ।

२७ कात्तिकमा भारतीय दूतावासले एक पत्रमार्फत नेपाललाई तिहार अघि नै २५ हजार मेट्रिकटन चिनी उपलब्ध गराउन सहमत भएको जनाएको थियो । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो ।

भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको थियो ।

मन्त्रालयकाअनुसार भारतसँग खरिद गर्न लागिएको २५ हजार मेट्रिकटन चिनी मध्ये २० हजार मेट्रिकटन चिनी भन्सार छुटको हुने र चिनी एक हप्ता भित्रै ल्याइने बताइएको थियो । बाँकी रहेको ५ हजार मेट्रिकटन चिनी भने तिहारपछि भन्सार छुटविनै ल्याइने मन्त्रालयको तयारी थियो ।

सहुलियतको २० हजार मेट्रिकटन चिनीको खरिद प्रक्रियाको लागि सरकारले २७ गते नै परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?