+

गुलियो चिनीको तीतो असर

२०८० फागुन  २४ गते १७:३२ २०८० फागुन २४ गते १७:३२
गुलियो चिनीको तीतो असर

नेपाली समाजमा भनाइ छ- ‘रातो राम्रो गुलियो मीठो ।’ गुलियो भन्नेबित्तिकै चिनी जोडिइहाल्छ । चिनी यस्तो कुरा बनेको छ कि जुनबिना जिब्रोको स्वाद नै फिक्का भइरहेको महसुस हुन्छ । नेपालमा मात्रै होइन, विश्वभर नै चिनीको माग र खपत बढ्दो छ ।

तर चिनीको फाइदा भन्दा बढी बेफाइदा छन् भन्ने कुरामा भने हामीमध्ये धेरैलाई हेक्का छैन । हामी गुण र अवगुण नचिनी धेरै चिनी खाइरहेका छौं । गुलियो मानव जातिको प्रिय स्वाद भएकाले परिकारमा त्यो स्वाद खोज्नु स्वभाविकै हो । चिनी थपेपछि खानेकुरा मीठो हुन्छ, तर निष्फिक्री खाने हो भने शरीरले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

करिब २५ सय वर्षअघि भारतमा सुरु भएको प्रशोधित चिनी आज विश्वका अधिकांश मुलुकमा उत्पादन हुन्छ । यसको आपूर्तिका लागि उखु बालीको उत्पादन विश्वमा धान र अनाजपछि सबैभन्दा बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार अमेरिकी नागरिकहरु प्रतिदिन औसत १७ चिया चम्चा चिनी खाने गर्छन् । विश्वका विकसित मुलुकमध्ये अमेरिका बढी र जापान कम चिनी खपत हुने मुलुक हुन् ।

नेपालको सन्दर्भमा हाम्रो पारम्परिक खानामा केही चाडपर्वमा खाइने पकवान बाहेक चिनीको प्रयोग न्यून हुन्छ । रैथाने खानेकुराहरुमा गुलियो स्वाद थप्न चिनीको सट्टा सख्खरको प्रयोग गरिन्छ । यसो भएपनि चिनी हालेको दूध-चिया एवं अन्य गुलियो पेय पदार्थको लोकप्रियता नेपाली समाजमा बढेकै छ ।

चिनी एक रसायन

हामीले प्रत्येक दिन चिया, कफी वा अन्य खानेकुरामा थपेर खाने सेतो चिनी एक शुद्ध रासायनिक पदार्थ हो । चिनीको रसायनिक नाम ‘सुक्रोज’ हो, जुन ‘ग्लुकोज’ र ‘फ्रुकटोज’ मिलेर बनेको हुन्छ । प्रशोधित चिनी जसलाई ‘टेबल सुगर’ पनि भनिन्छ, यी दुई रसायनबाहेक त्यसमा अरु कुनै पोषकतत्व हुँदैन । हामीले खाने प्राय: खानेकुरामा विभिन्न मात्रामा चिनी पाइन्छ । सुक्रोज (डाइसेकराइड) अनि मोनोसेकराइड जस्तै ग्लुकोज, फ्रुकटोज, ग्लाकटोज लगायत नाम र बनावट जेसुकै भए पनि यी सबै कार्बोहाइड्रेट हुन् ।

खानेकुरामा रहेको कार्बोहाइड्रेटलाई टुक्राएर सिधै र छिटो चिनी शरीरभित्र प्रवेश गर्छ । चिनीको बनावट अनुसार तिनीहरुको गुण पनि फरक पर्छ । जस्तै, ग्लुकोज र फ्रुकटोज दुवै उस्तै मोनोसेक्राइड हुन् तर दुवैको मेटाबोलिक असर भिन्न हुन्छ ।

किन खाइन्छ यति धेरै चिनी ?

चिनी मुखमा हाल्नेबित्तिकै जिब्रोले गुलियो स्वाद अनि शरीरले शक्ति प्रदान गर्छ । यसले मिठासको अनुभूति दिनुका साथै खुसी हार्मोन डोपामिनको उत्पादन गर्न उत्पेरित गर्छ । यस्तोमा मस्तिष्कले चिनीलाई एक गुणकारी पदार्थ सम्झेर बारम्बार गुलियो खाने लालसा वा लत जगाउँछ । अधिक तनाव, अनिद्रा, भोकले पनि बढी गुलियो खोज्छ ।

हामीले खाने प्राकृतिक खानेकुराबाट शरीरले चिनी प्राप्त गरिरहेको हुन्छ । एक स्वस्थ मानिसलाई यसको परिपूर्तिका लागि चिनी थपेर खाइरहनुपर्दैन । त्यसमा पनि प्याकेटबन्द तयारी खानेकुरा खाने हो भने अनावश्यक चिनी शरीरले बेहोर्नुपर्ने हुन्छ ।

जस्तै, सहरी जनजीवनमा दैनिक बिहानको खानामा सामेल हुने अन्नमा निक्कै धेरै चिनी थपिएको हुन्छ । कुनै–कुनै ब्रान्डका १०० ग्राम अन्नमा २० ग्राम या त्योभन्दा बढी चिनी हुन्छ । यसो भएपनि आम उपभोक्तालाई यो जानकारी नभएकाले गुलियो मनलाग्दी खाइन्छ ।

शरीरमा चिनीको प्रवेश सबैभन्दा धेरै गुलिया पेय पदार्थ (जस्तै सोडा, कोला, लेमोनेड)को सेवनले हुन्छ । भनिन्छ, करिब ३५५ मिलिलिटर कोकको क्यानमा ३९ ग्राम चिनी मिसिएको हुन्छ । विकसित मुलुकमा यस्ता पदार्थको सेवन घटदो छ भने भारत, चीन जस्ता मुलुकमा बढ्दो छ । विशषेगरी युवापुस्तामा यस्ता पेय पदार्थप्रति आकर्षण छ ।

यसका अतिरिक्त स्वीट टी, चकलेट, फ्रुटजुस डायटेरी सुगरको अन्य प्रमुख स्रोतहरु हुन् । धेरैलाई फ्रुटजुस स्वस्थकर लाग्न सक्छ । धेरै मुलुकमा बिहानको ब्रेकफास्ट वा तिर्खाएको बेला टन्न जुस पिउने चलन छ । अष्ट्रेलिया, न्युजिल्याण्ड जस्ता मुलुकमा फलफूल जुस निकै लोकप्रिय छ ।

कति खाने चिनी ?

वास्तवमा चिनी स्वादे जिब्रोलाई चाहिने हो, शरीरलाई होइन । खाने नै हो भने पनि अमेरिकन हार्ट एसोसियेसनका अनुसार प्रतिदिन एक स्वास्थ मानिसले ६ चियाचम्चा नबढाई चिनी खान सकिन्छ । एक चिया चम्चामा करिब चार ग्राम चिनी हुन्छ । गुलिया पेय पदार्थको हकमा चिनीको नकारात्मक असरबाट बच्न हप्तामा एक पटक २०० देखि ३५५ मिलिलिटर नबढाई पिउनु उपयुक्त हुन्छ ।

गुलियो चिनीको ततो असर

चिनी गुलियो स्वादको प्रतिनिधि तत्व भएपनि जनस्वास्थ्यको दृष्टिकोणले यो तीतो गुलियोको रुपमा परिणत हुँदैछ । चिनीको अधिक सेवन मोटोपन, मधुमेह, क्यान्सर लगायत धेरै दीर्घरोगलाई बढावा दिन्छ ।

यद्यपि, चिनी मात्र यी रोगका कारण होइन । तर यसको सेवन बढाउँदा स्वास्थ्य समस्या बढ्ने र कम गर्दा घट्ने भने हुनसक्छ ।

 

विशेषगरी मधुमेह २ मा यसको ठूलो भूमिका रहेको हुन्छ । जब चिनी रगतमा प्रवेश गर्छ यसले इन्सुलिन उत्पादन गर्न आमाशयलाई संकेत गर्छ । इन्सुलिन यस्तो हार्मोन हो, जसले रगतको चिनी (ग्लुकोज)लाई मांसपेशी अनि फ्याटसेलमा प्रवेश गराउँछ । जुन शक्ति उत्पादनमा खर्च हुन्छ । अत्यधिक चिनीयुक्त खानेकुरा बारम्बार सेवन गर्ने हो भने प्याङ्क्रियाजले इन्सुलिनको उत्पादन बढाउँछ । इन्सुलिन यसरी बढिरहने हो भने कोषले इन्सुलिनलाई स्वागत होइन, अस्वीकार गर्छ । अर्थात् इन्सुलिन प्रतिरोधी (रेसिस्टेन्ट) हुन्छ ।

यसरी चिनीको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउँछ । अर्को कुरा खाएको अनावश्यक चिनी शरीरमा धेरै भण्डार भएर रहन सक्दैन । त्यसैले चिनी चिल्लो पदार्थ (फ्याट)मा परिवर्तन हुन्छ । अधिक चिनीको सेवनले मुटुमा पनि समस्या सिर्जना गर्छ । रगतमा उच्च चिनी (ग्लुकोज) हुनेहरुमा मुटरोग हुने सम्भावना धेरै हुन्छ ।

यति मात्र होइन, रगतमा ग्लुकोज वा फ्रुकटोजको मात्रा बढिरहने हो भने त्यसले प्रोटिनसँग प्रतिक्रिया गरेर हानिकारक तत्व (ग्यालकेसन इन्ड प्रोडक्ट) बन्न थाल्छ ।

त्यस्तै, छालामा देखिने चाउरीपनमा यसको असर हुन्छ । त्यसैले स्वस्थ र सुन्दर छालाका लागि चिनी कम खान सल्लाह दिइन्छ । चिनीको हानिकारक असर यति धेरै हुने भएकाले कतिपय वैज्ञानिकहरुले चिनीलाई विषाक्त पदार्थ सरह मान्छन। यसमा कति सत्यता होला ? यो एक चर्चाको बिषय हुन् सक्छ । तर अधिक चिनीको सेवन स्वास्थ्यमा कुनै नकुनै रुपमा हानिकारक हुन् सक्ने धेरैजसो वैज्ञानिक अध्ययन र
अनुसन्धानले पुष्टी गरिसकेको छ ।

के गर्ने त ?

‘अलिकति चिनी हुन्छ ठिक्क, तर धेरैले दिन्छ दिक्क’ ।

अर्थात्, सावधानीपूर्वक चिनीको गुणलाई चिनेर खाने हो भने स्वाद र स्वास्थ्य दुवै ठीक रहन्छ ।

मुख्य कुरा आफ्नो शरीरको स्वास्थ्य अवस्था (मेटाबोलिजम) अनि दिनचर्या (निष्क्रिय वा शारीरिक सक्रिय) कस्तो छ, त्यसलाई विचार पुर्‍याउनुपर्छ । मधुमेहको वा मोटोपनको संकेत देखिएको छ भने चिकित्सकीय सल्लाहमा मात्र के कति गुलियो खाने निर्धारण गर्नु बुद्धिमानी हुन्छ ।

चाडपर्व वा खुसियालीमा खाइने गुलियो, मीठो खानेकुरा सचेत भएर खानुपर्छ । मिठाई, बिस्कुट, केक, चकलेट, ब्रेड (पाउरोटी) लगायत खानेकुरा नखाने वा खानैपरे कम खानुपर्छ । प्याकेट बन्द वा प्रोसेस फुड नखानु स्वस्थकर भएपनि आजको जीवनशैलीमा यी चीजबाट विल्कुलै टाढा रहन गाह्रै हुन्छ । त्यस्तो अवस्थामा तयारी खानेकुरालाई खाँदै नखानु भन्दा पनि चेतनशील भएर खान सकिन्छ ।

मात्रा अनि खाने तरिकामा परिवर्तन गरेर खाने हो भने यी खानेकुराको सेवन हानिकारक हुँदैन । जस्तो कि पाउरोटी गुलियो चियासँग खानुभन्दा त्यसमा आफूले रुचाएका तर प्रशस्त रेसादार तत्व भएका खानेकुरासँग खान सकिन्छ । यसो गर्दा चिनी बिस्तारै रगतमा प्रवेश गर्छ । र, ग्लुकोज स्पाइकको जोखिम कम हुन्छ ।

हामीकहाँ विशेषगरी बिहानको खाजा (ब्रेकफास्ट)मा गुलियो परिकार (जस्तै जेरी वा पुरी) हुन्छ । यस्तो खानेकुरा खानु आफ्नो शरीरलाई जोखिममा पार्नु हो । थोरै गुलियोको आनन्द कहिलेकाहीं लिन सकिन्छ तर त्यो मूल खाना बन्नु हुँदैन । बरु मौसमी गुलिया फलफूल, दही, सातु वा अन्य प्रशस्त फाइबरयुक्त परिकार ठिक्क मात्रामा खाने हो भने गुलियो स्वादका साथै त्यसमा रहेको पोषकतत्व पनि शरीरले प्राप्त गर्छ । जुनसुकै खानामा पनि कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको राम्रो सन्तुलन छ भने मात्र त्यो स्वस्थकर हुन्छ ।

गुलियो खाइसकेपछि के गर्ने ?

गुलियो खाने मात्र होइन, खाइसकेपछि पनि ध्यान पुर्‍याउनुपर्छ । गुलियो खाना टन्न खाएर धेरैबेर सोफामा बस्नु भन्दा केहीछिन बिस्तारै हिंड्ने, टहलिने गरे रगतमा ग्लुकोज सन्तुलित हुन मद्दत पुग्छ ।

गुलियो चिनी डा. जीवन प्रसाईं
डा. जीवन प्रसाईं
लेखक
डा. जीवन प्रसाईं
लेखक तथा अनुसन्धानकर्ता

डा. प्रसाईं हाल संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अलाबामामा कार्यरत छन् ।  उनले मेडिकल एण्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा पीएचडी गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थको क्षेत्रमा काम गरेका प्रसाईं पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनी वैज्ञानिक अनुसन्धान केन्द्र नेसनल इन्स्टिच्युट […]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय