+
+

बजारमा फेरि चिनी अभाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १७:०८

१७ मंसिर, काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले बताएका छन् ।

केही दिनदेखि बजारमा चिनी अभाव भएको र ग्राहकहरु चिनी नपाएर फर्केको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका कोषध्यक्ष ध्रुव अधिकारीका अनुसार व्यापारीहरुले समेत कतै पनि चिनी किन्न पाएका छैनन् । ‘साल्ट ट्रेडिङ, खाद्य व्यवस्था र चिनीका व्यापारीहरुले बजारमा चिनी पठाएका छैनन्’ अधिकारीले भने, ‘बजारमा फेरि पनि चिनी छैन ।’

पछिल्लो दुई दिनयता चिनीका ग्राहकहरु रित्तोहात फर्किनु परेको उनको भनाइ छ । आफूले माग गर्दा साल्ट ट्रेडिङ लगायतका संस्थाहरुले चिनी छैन भनेको उनले बताए ।

यता, साल्ट ट्रेडिङले पनि आफूहरुको गोदाममा चिनी मौज्दात नरहेको जनाएको छ । अहिले कम्पनीले खुद्रामा २ किलोका दरले चिनी बिक्री गरिरहेको भए पनि पसलहरुमा दिने चिनी नरहेको कर्पोरेसनका सूचना अधिकारी कुमारराज भण्डारीले बताए ।

‘अहिले खुद्रामा २ किलोका दरले चिनी बिक्री कार्यालयबाटै भइरहेको छ, तर पसलहरुलाई दिने चिनी हामीसँग पनि छैन’ राजभण्डारीले भने, ‘हामीले एभरेष्ट सुगर मिलसँग किनेको चिनी पहिले दिन्छु भनेको भन्दा निकै कम मात्रै आयो । त्यो पनि सकियो ।’ तत्काल चिनी खरिदको उपाय पनि नदेखिएको कर्पोरेसनले जनाएको छ ।

मूल्यमा कुरा नमिलेको भन्दै भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार मच्चिएको हो । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुंगो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए ।

‘सहुलियतको चिनी आयातमा कुनै प्रगति भएको छैन’ उनले भने ,‘बिक्री नै नगरिने भएका कारण बजारबारे थाहा छैन । ’

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर, दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्द अहिले समस्या बल्झिएको हो ।

यता वाणिज्य मन्त्रालयले आफूहरु आपूर्ति व्यवस्था मिलाउनका लागि छलफलमा जुटिरहेको जनाएको छ । नेपालका केही मिलहरुले पनि चिनी उत्पादन गर्न थालेको तर त्यो चिनी बजारमा आए नआएकोबारे रिपोर्टिङ लिने काम भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए ।

नेपालमा वार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नु पर्ने अवस्था छ । तर, यस वर्ष भारतले चिनीमा बढाएको करका कारण बजारमा पर्यप्त मात्रामा चिनी आयात हुन सकेन भने स्वदेशी उद्योगीहरुले पनि बजारमा चिनीको कृत्रिम अभाव सृजना गरे ।

जसका कारण गत असारमा ९५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीको मूल्य ठूला चाडपर्वको मुखैमा १६० रुपैयाँसम्म पुर्‍याइयो । बजारमा चरम अभाव भएको मौका छोपेर चिनी बिक्री गर्न कुरेर बसेका व्यापारीबाटै प्रधानमन्त्री कार्यालयले मूल्य बढाएर बिक्री गर्न पठाएको चिनी समेत सकिएपछि अहिले बजारमा पुनः चिनीको हाहाकार मच्चिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?