+

चिनी नखाँदैमा केही हुन्छ र ?

२०८० कात्तिक  २३ गते १२:११ २०८० कात्तिक २३ गते १२:११
चिनी नखाँदैमा केही हुन्छ र ?

बिहानको चियादेखि मिठाईसम्म । चिनीले हाम्रो खानामा मात्रै होइन, जीवनमा पनि मिठास थप्छ । यो चिनीबिना हामीले मिठाई, चकलेट, केक वा सफ्ट ड्रिंक्स जस्ता खानेकुरा खान पाउने थिएनौं । तर यो चिनी कहाँबाट उत्पादन भयो हाम्रो भान्सासम्म कसरी आइपुग्यो त ?

उखुको रसबाट सक्खर र त्यसपछि खैरो चिनी पहिले भारतमा बन्न थाल्यो । भारत र विदेशका ऐतिहासिक पुस्तक र विभिन्न रिपोर्टले यसको प्रमाण दिन्छ । ‘द कन्भर्सेसन’ नामक बेलायतको मिडिया आउटलेट नेटवर्कमा प्रकाशित ‘ए हिस्ट्री अफ सुगर : द फुड नोबडी नीड्स, बट एवरी क्रेभ्स’ नामक अनुसन्धान प्रतिवेदनका अनुसार भारतमा करिब २५ सय वर्षअघि अर्थात् ५०० ईसापूर्वमा चिनी बनाइएको थियो ।

यहाँबाट यसलाई बनाउने प्रविधि पूर्वतर्फ चीनतर्फ फैलिएको थियो र इरान हुँदै मध्यपूर्वसम्म पुग्यो । प्रथम शताब्दीमा ‘नेचुरलिस हिस्टोरिया’ नामक विश्वकोष लेख्ने इतिहासकार प्लिनी द एल्डरले भारतीय चिनीलाई अरबमा बनेको चिनीभन्दा राम्रो भएको बताएका थिए ।

भनिन्छ, सातौं शताब्दीमा पहिलो पटक अरब व्यापारीहरूमार्फत चिनी भारतबाहिर मध्यएसियामा पुगेको थियो, जहाँ यसको धेरै प्रयोग भएको थियो । इजिप्टका कालिगढहरूले ब्राउन सुगरबाट दानेदार सेतो चिनी, चिनी क्यान्डी नगेट्स र बटाशेस बनाउने तरिका पत्ता लगाए र यो ११ औं शताब्दीमा युरोपमा पुग्यो । पोर्चुगलका व्यापारीहरूले सन् १५०५ मा क्यारिबियनमा पहिलो चिनी कोलोनी स्थापना नगर्दासम्म विश्वभरका अधिकांश मानिस यसको स्वादबारे अनभिज्ञ थिए ।

मुगलकालमा चिनीलाई सेतो, दानेदार चिनीमा परिणत गर्ने प्रविधि चीनबाट भारत पुग्यो त्यसैले यसलाई यहाँ ‘सुगर’ भनिन्छ । भारतमा पहिलो चिनी मिलको स्थापनाको प्रारम्भिक रेकर्ड सन् १६१० मा छ । १६ औं शताब्दीअघि चिनी यति मूल्यवान थियो कि शासकहरू र ठूला व्यापारीहरूले मात्र यसमा पहुँच पुर्‍याउन सक्थे । यस समयमा यसलाई ‘सेतो सुन’ पनि भनिन्थ्यो । साम्राज्यवादी विस्तार र व्यापारको समयमा चिनी बिस्तारै आम नागरिकमा पुग्यो ।

चिनी कसरी बन्छ ?

चिनी बन्न सर्वप्रथम उखु पाकेपछि त्यसलाई काट्नुपर्छ । त्यसपछि उखुलाई सानो टुक्रा बनाई काट्नुपर्छ । काटिसकेको उखुलाई सफा हुने गरी धोएर त्यसबाट रस निकाल्नुपर्छ । त्यसपछि चुना र सल्फरमा घोलेर सफा गरिन्छ । यसो गर्दा माटो र फोहोर निस्किन्छ । अनि विभिन्न चरणमा पकाएर चिनीको दाना बनाइन्छ ।

किन चिकित्सकले चिनी नखाए पनि हुन्छ भन्छन् ?

पोषणविद् प्रतिमा सेन केसीका अनुसार चिनी गुलियो स्वादका लागि खाइन्छ । ‘यो कार्बोहाइड्रेटको स्रोत हो । हामीले खाने अन्न जस्तो चामल, गहुँ पनि कार्बोहाइड्रेटको नै स्रोत हो, यी खानेकुरा खाँदा पनि त्यो पनि सुगरमा नै परिणत हुन्छ । त्यसैले हाम्रो शरीरलाई चाहिने सुगर अन्य खानेकुराबाट पनि प्राप्त हुने भएकोले चिकित्सकहरूले अतिरिक्त चिनी नखाए पनि हुन्छ भनेका हुन्,’ उनी भन्छिन् ।

गुलियो खानेकुरा खाएर हामी खुसी हुन्छौं र  हाम्रो मस्तिष्क पनि खुसी हुन्छ । त्यही खानेकुरा बारम्बार  खान मन लाग्छ । चिनीको बढी सेवनले शरीरको ग्लुकोज लेबललाई बढाउने केसी बताउँछिन् ।

‘चिनीमा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । हामीले दैनिक रूपमा धेरै मात्रामा कार्बोहाइड्रेट खायौं भने शरीरले त्यसलाई प्रयोग गर्न सकेन भने त्यो बोसोको रूपमा बस्छ र मोटोपना बढ्छ,’ उनी भन्छिन्, ‘साथै धेरै चिनीको प्रयोगले टाइप टु मधुमेहको जोखिम बढ्ने, मुटुको समस्या र क्यान्सरको जोखिम बढ्ने र नन अल्कोहेलिक फ्याटी लिभरको जोखिम समेत बढ्छ ।’

कति मात्रामा चिनी खानु उचित ?

यूएस डाएटरी गाइडलाइन’का अनुसार हामीले दैनिक दुई हजार क्यालोरी खान्छौं भने त्यसको १० प्रतिशत मात्र अतिरिक्त चिनी प्रयोग गर्नु उचित हुन्छ भनेको छ । तर हामीले चिनीको मात्रा विभिन्न खानेकुराबाट पाउने भएकोले सीधै चिनी नखाए पनि खासै फरक नपर्ने केसी बताउँछिन् ।

चिनीको विकल्पमा के के खान सकिन्छ ?

कतिपयले चिनीको विकल्पको रूपमा मिस्री, सख्खरको प्रयोग गर्छन् । तर यो राम्रो विकल्प होइन किनकि मिस्री र सख्खरमा पनि कार्बोहाइड्रेट तथा ग्लाइसेमिक इन्डेक्सको मात्रा उति नै हुने केसी बताउँछिन् ।

‘मिस्री र सख्खरलाई चिनीको विकल्पको रूपमा प्रयोग नगर्नु नै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘चिनीको विकल्पमा हामी प्राकृतिक चिनीलाई प्रयोग गर्न सक्छौं । जस्तो, फलफूल, छोकडा, किसमिस आदि प्राकृतिक चिनीका स्रोत हुन् ।’

आहार चिनी पोषण
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय