+

राति राम्रो निद्रा परे पनि दिनभर किन रहन्छ थकान ?

२०८२ जेठ  २३ गते १२:२७ २०८२ जेठ २३ गते १२:२७
Shares
राति राम्रो निद्रा परे पनि दिनभर किन रहन्छ थकान ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निद्राको गुणस्तर, पोषण, तनाव, थाइराइड, मधुमेह र हावापानी जस्ता कारकहरूले दिनभर थकान महसुस गराउँछन्।
  • स्रोतले भने, 'यदि माथिका उपायहरू अपनाउँदा पनि थकान कम भएन भने, यो गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ।'
  • स्वस्थ जीवनशैली अपनाउन, नियमित निद्रा, सन्तुलित आहार, तनाव व्यवस्थापन र चिकित्सकको परामर्श आवश्यक छ।

काम गरेर थाकेपछि हाम्रो शरीरलाई आराम चाहिन्छ । दिउँसो काम गर्ने र राति आराम गर्ने हाम्रो आम प्रचलन हो । थकानपछि निदाएर उठ्दा शरीरमा नयाँ जोश आउँछ । थकान हट्छ ।

रातमा राम्रो निद्रा परेन भने दिनभर थकान हुनु स्वभाविक हो । तर, रातमा ८ घण्टा वा त्यो भन्दा बढी सुत्दा पनि दिनभर थकान महसुस भइरहने, आलस्यता हुने, निद्रा नपुगेको र उर्जाको कमी जस्तो महसुस हुन्छ भने त्यसलाई सामान्य मान्न सकिँदैन ।

किन हुन्छ, त्यस्तो ?

निद्राको गुणस्तरमा कमी

पर्याप्त समय सुत्नु मात्र ठूलो कुरा होइन । निद्राको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि गहिरो निद्रा परेन भने धेरै समय सुतेपनि त्यसले थकान नमेटिने हुन्छ । शरीर र दिमागले पर्याप्त आराम पाउँदैन । निद्रामा बाधा पुग्ने अवस्थाहरू जस्तै स्लीप एप्निया (निद्रामा सास रोकिने), अनिद्रा वा बारम्बार ब्यूँझने समस्याले हुनसक्छ ।

पोषणको कमी

शरीरलाई ऊर्जा प्रदान गर्न सन्तुलित आहार आवश्यक हुन्छ । भिटामिन १२, आइरन, भिटामिन डीको कमीले थकानको समस्या हुन सक्छ । विशेषगरी, रक्तअल्पता भएका व्यक्तिहरूमा आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ ।

साथै, कम पानी पिउने बानी वा अत्याधिक चिनी र प्रशोधित खानाले पनि ऊर्जा कम गर्न सक्छ ।

तनाव र मानसिक स्वास्थ्य

दौडधुपको जीवनशैलीमा तनाव र चिन्ता सामान्य समस्या हुन् । लामो समयसम्मको तनावले कोर्टिसोल हर्मोनको स्तर बढाउँछ, जसले थकान र मानसिक आलस्यता निम्त्याउँछ। डिप्रेसन, चिन्ता वा अन्य मानसिक स्वास्थ्य समस्याहरूले पनि दिनभर थकान र अनिच्छा उत्पन्न गर्न सक्छ ।

थाइराइड समस्या

थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्छ । हाइपोथाइराइडिज्म (थाइराइडको कमी) भएमा शरीरको ऊर्जा उत्पादन कम हुन्छ, जसले सधैं थकान, कमजोरी र सुस्त महसुस गराउँछ । यो अवस्थामा कपाल झर्ने, तौल बढ्ने वा छाला सुख्खा हुने जस्ता लक्षणहरू पनि देखिन सक्छ ।

मधुमेह

मधुमेह भएका व्यक्तिहरूमा रगतमा चिनीको स्तर असन्तुलित हुँदा शरीरले ऊर्जा सही रूपमा उपयोग गर्न सक्दैन । यो अवस्थाले थकान, बारम्बार पिसाब लाग्ने र तिर्खा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँछ ।

स्लीप एप्निया

स्लीप एप्निया एक यस्तो अवस्था हो, जसमा निद्रामा सास बारम्बार रोकिन्छ । यसले मस्तिष्क र शरीरमा अक्सिजनको कमी गराउँछ, जसले गर्दा बिहान उठ्दा थकान र टाउको दुख्ने समस्या हुन्छ । घुर्ने, निद्रामा सास फुलेको आवाज आउने वा बारम्बार ब्यूँझने यो रोगका लक्षण हुन् ।

मुटु र फोक्सोसम्बन्धी समस्या

मुटु र फोक्सोले शरीरमा अक्सिजन र रक्तसञ्चार सही रूपमा पुर्‍याउन नसकेमा थकानको अनुभव हुन सक्छ । यस्ता समस्याहरूमा सास फुल्ने, छाती दुख्ने वा कमजोरी महसुस हुने लक्षणहरू देखिन सक्छन् ।

यसबाहेक नियमित व्यायाम नगर्ने, धेरै क्याफिन वा रक्सीको सेवन गर्ने वा अनियमित निद्रा तालिकाले पनि थकान निम्त्याउँछ । साथै, लामो समयसम्म स्क्रिनमा हेर्ने बानीले आँखामा तनाव र थकान बढ्न सक्छ ।

अन्य स्वास्थ्य समस्याहरू

कतिपय अवस्थामा दीर्घकालीन थकान सिन्ड्रोम फाइब्रोमायल्जिया वा अन्य रोगहरूले पनि थकान सक्छ । यस्ता अवस्थाहरूमा थकानका साथै मांसपेशी दुख्ने, जोर्नी दुख्ने वा एकाग्रतामा कमी हुने लक्षणहरू देखिन्छ ।

कसरी कम गर्ने ?

निद्राको गुणस्तर सुधार्ने

-नियमित निद्रा तालिका बनाउने, हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्ने ।

– सुत्ने ठाउँलाई शान्त, अँध्यारो र आरामदायी बनाउने ।

– सुत्नुअघि मोबाइल, ल्यापटप वा टिभीको प्रयोग कम गर्ने ।

सन्तुलित आहार

– हरियो सागसब्जी, फलफूल, प्रोटिन र स्वस्थ चिल्लो भएका खानेकुरा खाने । पर्याप्त पानी पिउने ।

– भिटामिन डी, बी १२ र आइरनको कमी छ कि छैन परीक्षण गर्ने । आवश्यक परे चिकित्सकको सल्लाहमा सप्लिमेन्ट लिन सकिन्छ ।

– पर्याप्त पानी पिउने बानी बसाल्ने ।

– क्याफिन र रक्सीको सेवन सीमित गर्ने

-धेरै क्याफिन वा रक्सीले निद्रा र ऊर्जा स्तरमा असर गर्छ।

यी पदार्थको सेवन कम गरेर स्वस्थ पेय पदार्थ जस्तै जडीबुटी चिया वा पानी पिउन सकिन्छ ।

तनाव व्यवस्थापन

–  योग, ध्यान वा गहिरो सास लिने अभ्यासले तनाव कम गर्न सकिन्छ ।

–  आफ्नो भावना व्यक्त गर्न साथी वा परिवारका सदस्यसँग समय बिताउने ।

–  आवश्यक परे मनोचिकित्सको सहायता लिने ।

नियमित व्यायाम

– हप्तामा कम्तीमा ३० मिनेटको मध्यम व्यायाम (हिँड्ने, योग, वा साइक्लिङ) गर्ने ।

– व्यायामले रक्तसञ्चार र मस्तिष्कमा अक्सिजन प्रवाह बढाउँछ, जसले थकान कम गर्छ ।

स्वास्थ्य परीक्षण

यदि थकान लामो समयसम्म रहिरहन्छ भने, रक्त परीक्षण, थाइराइड जाँच वा स्लीप स्टडी गर्नुपर्ने हुनसक्छ । चिकित्सकसँग परामर्श गरेर सम्भावित रोगहरू जस्तै मधुमेह, थाइराइड वा स्लीप एप्नियाको परीक्षण गराउन सकिन्छ ।

सूर्यको प्रकाशमा केही समय बस्ने

-बिहान १५ देखि २० मिनेट सूर्यको प्रकाशमा बस्दा भिटामिन डी प्राप्त हुन्छ । यसले जैविक घडीलाई सन्तुलनमा राख्छ ।

कहिले चिकित्सकलाई भेट्ने ?

-यदि माथिका उपायहरू अपनाउँदा पनि थकान कम भएन भने, यो गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।

-लामो समयसम्म थकान रहनु, टाउको दुख्ने, मांसपेशी दुख्ने वा एकाग्रतामा कमी

-तौलमा अचानक परिवर्तन, कपाल झर्ने वा छाला सुख्खा हुने

-सास फुल्ने, छाती दुख्ने वा बारम्बार ब्यूँझने भएमा चिकित्सकलाई भेट्नु उचित हुन्छ ।

थकान शरीर
डा. अमित गौली
लेखक
डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११३६२ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय