News Summary
Generated by OK AI. Editorially reviewed.- रात्रीकालीन ड्युटीले शरीरको प्राकृतिक सर्काडियन रिदमलाई प्रभावित पार्छ, जसले शारीरिक र मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ।
- स्वास्थ्य समस्या जस्तै निद्रा, पाचन, हृदय, मधुमेह, र प्रतिरक्षा प्रणालीमा असर पर्ने भएकाले उचित व्यवस्थापन आवश्यक छ।
सामान्यतया हाम्रो दैनिकी भनेको दिनमा काम गर्ने र रातमा सुत्ने भन्ने हुन्छ । तर सबै पेशा उस्तै खालका हुँदैनन् । स्वास्थ्य सेवा, सुरक्षा, सूचना प्रविधि जस्ता थुप्रै पेशा छन्, जसमा राति पनि काम नगरी सुखै छैन ।
सवारी चालक, रात्रीकालीन होटल व्यवसाय, व्यापार आदि क्षेत्रमा काम गर्ने व्यक्ति पनि रातभर सुत्दैनन् । कतिपय उद्योगहरूले उत्पादन बढाउनका लागि राति पनि काम सुचारु राख्ने गर्छन् ।
रात्रीकालीन ड्युटी गर्नेहरू दिउँसो सुत्छन् । मानव शरीर सामान्यतया रातमा सुत्न र दिनमा सक्रिय रहने गरी विकास भएको हुन्छ । रात्रीकालीन ड्युटीले यो प्राकृतिक चक्रलाई बिथोल्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ।
रात्रीकालीन ड्युटी गर्नेहरूमा कस्ता स्वास्थ्य समस्या देखिन्छन् त ?
रात्रीकालीन ड्युटीले शरीरको प्राकृतिक जैविक घडीमा असर पार्छ, जसलाई सर्काडियन रिदम डिस्रप्सन भनिन्छ। यो अवस्थाले विभिन्न शारीरिक र मानसिक समस्याहरू निम्त्याउँछ।
प्रमुख स्वास्थ्य समस्याहरू
१.निद्रासम्बन्धी समस्या
रातमा काम गरेर दिउँसो सुत्ने प्रयास गर्दा निद्रा नलाग्ने वा पर्याप्त निद्रा नहुने समस्या हुन्छ । दिउँसोको उज्यालो, आवाज र वातावरणीय अवरोधले गहिरो निद्रा लिन गाह्रो हुन्छ।
२.पाचन समस्याहरू
अनियमित खानपान र रातको समयमा खानाले पाचन प्रणालीमा गडबडी, अपच र ग्यास्ट्रिकको समस्याहरू निम्त्याउँछ । रात्रीकालीन ड्युटी गर्नेहरूमा ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स रोग र पेप्टिक अल्सरको जोखिम बढ्छ ।
३.मुटुसम्बन्धी रोग
रात्रीकालीन ड्युटी गर्नेहरूमा उच्च रक्तचाप, हृदयघात र मस्तिष्कघातको जोखिम बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ। यो तनाव हार्मोन (कोर्टिसोल) को वृद्धि र अनियमित जीवनशैलीका कारण हुन्छ ।
४.मधुमेह र मोटोपन
रात्रीकालीन ड्युटीले इन्सुलिन संवेदनशीलता कम गर्छ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ । राति ड्युटी हुँदा प्राय: रातमा खानुपर्ने हुन्छ । राति खाने बानी र शारीरिक निष्क्रियताले मोटोपन निम्त्याउँछ ।
५.प्रतिरक्षा प्रणाली कमजोर
निद्रा अनियमित हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसले सङ्क्रमण र रोगहरूको जोखिम बढाउँछ ।
६.हर्मोनल असन्तुलन
मेलाटोनिन (निद्रालाई नियन्त्रण गर्ने हार्मोन) को उत्पादनमा कमी आउँछ, जसले निद्रा र समग्र स्वास्थ्यमा असर गर्छ ।
७.चिन्ता/डिप्रेसन
रात्रीकालीन ड्युटीले सामाजिक जीवन र पारिवारिक समयमा असर पार्छ, जसले तनाव र चिन्ता बढाउँछ। निद्राको कमी र जैविक घडीको गडबडीले डिप्रेसनको जोखिम बढाउँछ।
८.स्मरणशक्ति कमी
अनियमित निद्राले मस्तिष्कको कार्यक्षमता घटाउँछ, जसले स्मरणशक्ति र निर्णय लिने क्षमतामा असर पार्छ। रात्रीकालीन ड्युटी गर्नेहरूमा चिडचिडापन र मूडमा उतारचढाव देखिन्छ।
९.सामाजिक सम्बन्धमा असर
रातमा काम गर्ने व्यक्ति दिउँसोमा सुत्नुपर्छ । जतिबेला अरु व्यक्तिहरू सक्रिय हुन्छन्, त्यो समय सुत्नुपरेपछि परिवार र साथीहरूसँग समय बिताउने अवसर कम हुन्छ ।सामाजिक गतिविधि तथा विभिन्न समारोहहरूमा सहभागी हुन पनि समस्या पर्छ । जसले, सामाजिक सम्बन्धमा तनाव उत्पन्न गर्छ।
१०. अव्यवस्थित जीवनशैली
नियमित खानपान, व्यायामको कमी र अनुचित निद्राले समग्र जीवनशैलीलाई असर पारिरहेको हुन्छ । अव्यवस्थित जीवनशैलीका कारण विभिन्न दीर्घरोगहरूको जोखिम बढ्छ ।
स्वास्थ्य समस्याहरू कम गर्ने उपायहरू
जतिसुकै समस्या भए पनि अत्यावश्यक सेवामा राति पनि काम गर्नैपर्छ । यसकारण राति ड्युटी गर्ने व्यक्तिले सकेसम्म कम असर गरोस् भनेर निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।
१.निद्राको व्यवस्थापन
दिउँसो सुत्दा सुत्ने कोठालाई अँध्यारो, शान्त र उचित तापक्रम कायम गर्ने । झ्यालमा कालो पर्दा लगाउन सकिन्छ । रात्रीकालीन ड्युटी गरेपछि सुत्ने र उठ्ने समयको निश्चित तालिका बनाउने । दिउँसो सुतेका बेला विभिन्न व्यक्तिको फोन आएर डिस्टर्ब हुन्छ भने फोन अफ वा साइलेन्टमा राख्ने । अती जरुरी नपरीकन निद्रा माया मारेर दिउँसोका कुनै कार्यक्रम, जमघट वा समारोहमा समावेश नहुने ।
२.स्वस्थ खानपान
सन्तुलित आहार, फलफूल, सागपात तथा पोषणयुक्त खानामा जोड दिने । प्रशोधित तथा बजारका तयारी खानेकुरा सकेसम्म नखाने । रातमा सलाद, सूप जस्ता हल्का खाना खाने । रातको ड्युटी सकिने बेलातिर सकेसम्म चिया कफी नपिउने, यसले ड्युटीपछि सुत्ने बेला निद्रा नपर्न सक्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउने । रातिमा नसुत्दा ग्यास्ट्राइटिस, कब्जियत जस्ता समस्या देखिन सक्छ त्यसैले फाइबरयुक्त खानामा पनि जोड दिनुपर्छ ।
३.नियमित व्यायाम
हप्तामा कम्तिमा ५ दिन, दिनको ३० मिनेट व्यायाम गर्नु आवश्यक छ । तनाव कम गर्न प्राणायाम र ध्यान गर्ने।
४.समय-समयमा स्वास्थ्य जाँच
रातिमा ड्युटी गर्ने व्यक्तिले आफ्नो अवस्था अनुसार नियमित रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जाँच गर्दा सम्भावित रोगको जोखिमबाट बच्न सकिन्छ । तनाव भएमा मानसिक स्वास्थ्य समस्याहरूका लागि मनोवैज्ञानिक परामर्श लिन सकिन्छ।
५.कामको सही व्यवस्थापन
रातको समयमा काम गर्दा तनावपूर्ण अवस्थाबाट बच्नुपर्छ । काम गर्ने स्थानमा आँखालाई सहज हुनेगरी उज्यालोको सही व्यव्थापन गर्नुपर्छ । ड्युटीमा छोटो-छोटो ब्रेक लिन राम्रो।
६.सामाजिक व्यवसथापन
परिवार र साथीहरूसँग समय बिताउनका लागि समयको व्यवस्थापन गर्नु आवश्यक छ । ड्युटी सकेर आएपछि निश्चित समय सुतिसकेपछि र राति फेरि ड्युटी जाने बेला नहुँदा सम्मको समय परिवार, आफन्त वा साथीहरूका लागि छुट्याउन सकिन्छ ।
प्रतिक्रिया 4