News Summary
Generated by OK AI. Editorially reviewed.- चुरोट छोड्दा शरीरले क्रमिक रूपमा सुधार गर्न थाल्छ, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
- पहिलो २४ घण्टामा रक्तचाप र मुटुको धड्कन सामान्य हुन्छ, र फोक्सो सफा हुन थाल्छ।
- एक महिनापछि फोक्सोको कार्यक्षमता बढ्छ र निकोटिनको प्रभाव कम हुन्छ।
चुरोटले शरीरलाई धेरै तरिकाले हानि पुर्याउँछ । यो यस्तो बानी हो । जसले मृत्युको मुखमा पुर्याउन सक्छ । चुरोटका कारण फोक्सोको क्यान्सरको जोखिम बढ्नुको साथै यो छाला, आँखा र मस्तिष्कका लागि पनि हानिकारक हुन सक्छ । यसैकारण स्वास्थ्य विशेषज्ञहरूले यसलाई सधैं छोड्न सिफारिस गर्छन् । यद्यपि, चुरोटको लत छोड्न त्यति सजिलो छैन ।
चुरोट छोड्न निकै गाह्रो हुन्छ । तर, यसलाई छोड्ने निर्णय जीवनको सबैभन्दा उत्कृष्ट निर्णय हुन सक्छ । जब चुरोट छोडिन्छ, शरीरले आफूलाई पुनर्निर्माण गर्न थाल्छ । यो सुधार बिस्तारै हुन्छ, तर हरेक घण्टा, हरेक दिन राम्रो महसुस हुन्छ । चुरोट छोडेपछि शरीरमा हुने परिवर्तनहरू समयको आधारमा क्रमिक रूपमा देखा पर्छन् ।
पहिलो २४ घण्टामा
जब चुरोट छोडिन्छ, त्यसको पहिलो २४ घण्टामै शरीरले सम्हालिन थाल्छ । रक्तचाप र मुटुको धड्कन सामान्य हुन थाल्छ । फोक्सोले आफूलाई सफा गर्न सुरु गर्छ । हल्का खोकी वा खकार आउन सक्छ, जुन फोक्सो भित्रबाट सफा भइरहेको संकेत हो । यो समयमा हृदयघातको जोखिम पनि कम हुन थाल्छ ।
४८ घण्टापछि
यदि ४८ घण्टासम्म चुरोट नखाई बसियो भने पहिले क्षतिग्रस्त स्नायुको क्षति आफैं मर्मत हुन थाल्छ । यति मात्र होइन, पहिले धूम्रपानका कारण सुस्त भएका इन्द्रीयहरूमा सुधार भइरहेको महसुस हुन्छ । पहिलेभन्दा राम्रोसँग सुँघ्न र स्वाद लिन सक्षम भएको पनि महसुस हुन्छ ।
१ हप्तापछि
चुरोट छाडेको जम्मा एक हप्तामा शरीरमा धेरै सुधार हुन थाल्छ । बिस्तारै सुँघ्ने र स्वाद लिने क्षमता राम्रो हुन्छ । सास फेर्न सजिलो महसुस हुन्छ र ऊर्जाको स्तर पनि बढ्छ । यति अवधिसम्म, शरीरबाट निकोटिनको प्रभाव धेरै मात्रामा कम भइसकेको हुन्छ, यद्यपि हल्का तलतल लाग्न सक्छ ।
१ महिनापछि
चुरोट छोडेको १ महिनापछि फोक्सोको कार्यक्षमता बढ्छ । फोक्सोको सफाइ प्रक्रिया तीव्र हुन्छ । सास फेर्न सजिलो हुन्छ, र खोकी तथा कफको समस्या कम हुन्छ । निकोटिनको शारीरिक लत धेरै हदसम्म कम हुन्छ । छालामा अक्सिजन र पोषक तत्वको आपूर्ति बढ्छ, जसले छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।
३ महिनापछि
चुरोट छोडेको ३ महिनापछि, फोक्सोको कार्यक्षमतामा धेरै सुधार देखिन्छ । अब हिँड्दा, दौडदा वा सिँढी चढ्दा कम थकान महसुस हुन्छ । साथै शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, जसले मुटुमा अक्सिजन राम्रोसँग पुग्छ । महिलाहरूमा गर्भधारणको सम्भावना पनि बढ्न सक्छ ।
६ महिनापछि
मुटुसँग सम्बन्धित जोखिम कम हुन्छ । रक्तनलीहरूको कार्यक्षमता थप सुध्रन्छ । चुरोटको कारणले हुने दाँतको पहेँलोपन र गिजाको रोगको जोखिम कम हुन्छ । शरीरको रोग प्रतिरोधी क्षमता सुध्रन्छ, जसले सङ्क्रमणसँग लड्न सजिलो हुन्छ ।
१ वर्षपछि
एक वर्षसम्म सुर्तीजन्य पदार्थहरुबाट टाढा रहेपछि, शरीरमा ठूला परिवर्तनहरू आउँछन् । मुटुसम्बन्धी रोगहरूको जोखिम आधा हुन्छ, र रोग प्रतिरोधक प्रणाली बलियो हुन्छ । विस्तारै छालाको रंग र चमकमा पनि सुधार देखिन थाल्छ । लामो समयसम्म खैनी, चुरोटले भएको क्षतिको पूर्तिे शरीरले गर्न थाल्छ, जस्तै सास फेर्ने क्षमता बढ्छ र फोक्सो, मुख, र घाँटीको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्छ ।
पाँच वर्षपछि
धुम्रपान छाडेको पाँच वर्षपछि मुटु र फोक्सो सामान्य अवस्था आउँछ । अर्थात् धुम्रपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र फाेक्साेकाे क्यान्सर लाग्ने सम्भावना पनि कम हुन्छ ।
थप फाइदाहरू
-मानसिक स्वास्थ्य : चुरोट छाड्दा तनाव र चिन्ता कम हुन्छ । आत्मविश्वास र आत्मसम्मान बढ्छ ।
-आर्थिक बचत : चुरोटमा हुने खर्च बचत हुन्छ, जसले आर्थिक अवस्था सुधार्न मद्दत गर्छ ।
सामाजिक जीवन : धूमपान नगर्ने व्यक्तिको रूपमा सामाजिक स्वीकार्यता र सम्बन्धमा सुधार हुन्छ ।
डाक्टरको सल्लाह
सुर्तीजन्य पदार्थ छाड्ने यो यात्रामा मानसिक र भावनात्मक सहयोग धेरै महत्त्वपूर्ण हुन्छ । निकोटिन रिप्लेसमेन्ट थेरापी, परामर्श र चिकित्सकीय सहयोगले यो यात्रा अझ सजिलो हुन सक्छ ।
प्रतिक्रिया 4