News Summary
Generated by OK AI. Editorially reviewed.- डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्ट समाजले स्वास्थ्यमन्त्रीलाई भेटेर चार बुँदे माग राखे।
- गैरचिकित्सकहरूले ‘स्किन स्पेसलिस्ट’ भन्दै गैरव्यावसायिक उपचार गरिरहेको आरोप लागेको छ।
- समाजले अनधिकृत गतिविधि नियन्त्रण र कारबाही गर्न सरकार र नियामक निकायहरूलाई आग्रह गरेको छ।
काठमाडौं । छालारोगको नाममा सौन्दर्य केन्द्र, पार्लर र अनधिकृत संस्थाहरूबाट गैरवैज्ञानिक तथा गैरव्यवसायिक उपचारले जनस्वास्थ्यमा गम्भीर जोखिर परिरहेको भन्दै चिकित्सकहरुले कारबाहीको माग गरेका छन् ।
गतशुक्रबार स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेटेर चार बुँदे माग राखी डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्ट समाजले संयुक्तरुपमा ध्यानाकर्षण गराएको हो ।
समाजका अध्यक्ष डा. मनिषा सिंह बासुकला, महासचिव डा. अदिती मिश्र, नेपाल सोसाइटी अफ हेयर रिस्टोरेसन सर्जन अध्यक्ष डा.धर्मेन्द्र कर्ण र नेपाल मेडिकल काउन्सिलका सदस्य डा. रूपक घिमिरे लगायत ध्यानाकर्षणका लागि मन्त्री पौडेल कहाँ पुगेका हुन् । उनीहरूले यस खालका गतिविधि तत्काल नियन्त्रण गरी कारबाहीको गर्न मन्त्रीसमक्ष माग गरेका छन् ।
गैरचिकित्सकहरूले आफूलाई ‘स्किन स्पेसलिस्ट’ भन्दै इन्जेक्सन, औषधि, लेजर र प्लाज्माथेरापी जस्ता संवेदनशील उपचार गरिरहेको आरोप लगाइएको छ ।यस्ता गलत अभ्यासले बिरामीको छालामा स्थायी दाग, संक्रमण, छाला पातलो हुने र जटिल स्वास्थ्य समस्यासम्म निम्त्याएको चिकित्सकहरूले बताएका छन् । केही घटनामा बिरामीको ज्यानै जोखिममा परेको छाला तथा यौन रोग विशेषज्ञ डा.भुसालले जानकारी दिए ।
‘यस्ता कार्यहरू स्वास्थ्य सेवा प्रवाहको मर्यादा र प्रचलित कानुनविपरीत छन्, ’विज्ञप्तिमा भनिएको छ । समाजले नेपाल मेडिकल काउन्सिल, औषधि व्यवस्था विभाग र स्थानीय प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम नचालिएको गुनासो गरेको छ ।
स्वास्थ्यमन्त्रीसँग प्रस्तुत चार बुँदे मागमा यस्ता अनधिकृत कार्यको छानबिन, दोषीमाथि कडा कारबाही, नियामक निकायहरूबीच समन्वय र कडा निगरानीको व्यवस्था गर्न जोड दिइएको छ ।
प्रतिक्रिया 4