
News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरे र अस्पताल व्यवस्थापनको जिम्मेवारीबारे छलफल भयो।
- नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्र राज भुसालले ऐनले व्यवस्थापक राख्न सकिने बताए र सुधारको आग्रह गरे।
- डाक्टर बच्चु कैलास कैनीले अस्पताल व्यवस्थापन र नेतृत्वका महत्वपूर्ण कुराहरु र बेलायतको अभ्यास प्रस्तुत गरे।
काठमाडौं । नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास सम्बन्धी एक दिवसीय कार्यशाला आयोजना गरिएको छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको संयुक्त आयोजनामा ‘नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास’ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । मन्त्री पौडेलले अस्पतालको पुनर्संरचना गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक-पटक छलफल गरिएको र हाल भएको मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारीबारे दुविधा भएको बताए ।
‘घोषणा पत्रमा स्वास्थ्य पहिलो प्राथमिकता भनिए पनि लामो समयदेखि दरबन्दी सिर्जना गर्न र ओएनएम गर्न सकिएको छैन’ मन्त्री पौडेलले भने, ‘सरकारी स्वास्थ्य सेवामा क्यान्सर, मुटु, मिर्गौला रोग विशेषज्ञ कम भएका कारण सातै प्रदेशमा स्वास्थ्य सेवा पुर्याउन सकिएको छैन।’
स्वास्थ्य संस्थाको व्यवस्थापकिय जिम्मेवारी सरकारको भएकाले मेसुलाई सो जिम्मेवारी सहित सेवामा लगाउने वा व्यवस्थापकलाई अधिकृत भन्दा माथि हुने गरी संरचना तयार गरी आफ्नै समयमा यो काम गर्ने प्रतिवद्धता मन्त्री पौडेलले जनाए ।
२५ सयको ओएनएम गरी ८०० डाक्टर १२०० नर्स थप्दै गर्दा १९ अस्पतालमा १९ व्यवस्थापकीय जनशक्ति थप्ने गरी काम भइरहेको उनले जानकारी दिए । आउँदै गरेको स्वास्थ्य सेवा ऐनले धेरै कुराको सम्बोधन गर्ने मन्त्री पौडेलले बताए ।
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्र राज भुसालले अस्पतालका अधिकांश समस्या अस्पतालका व्यवस्थापकीय समस्या भएको भन्दै अहिले भएकै ऐनले व्यवस्थापक राख्न सकिने बताए । ५० शय्या भन्दा बढीका अस्पतालमा व्यवस्थापक राख्न सकिने भुसालको भनाइ छ । नेपाल सुँहाउदो हुने गरी ऐनमा सुधार गर्ने र सरकारी र निजी दुवै लागू हुने व्यवस्था गर्न उनले आग्रह गरे ।
कार्यक्रममा अफिनका अध्यक्ष डा. पदम खड्काले सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापक हुनु पर्नेमा जोड दिदै अस्पतालको मापदण्ड निजी तथा सरकारी दुवैले कार्यान्वयन गर्न सक्ने हुनुपर्ने बताए ।
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका महासचिव डा. होम प्रसाद अधिकारीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको बारेमा जानकारी दिएका थिए।
निक साइमन्स इन्स्टिच्युटका जनार्दन पाठकले सरकारी स्वास्थ्य संस्थामा हेल्थ केयर मेनेजरको उपस्थिति कस्तो छ भन्ने बारेमा जानकारी दिएका थिए । ५० जाना हस्पिटल केयर मेनेजरले सरकारी संस्थामा काम गरिरहेको जानकारी दिए ।
न्युनतम सेवा मापदण्डमा ८० नं भन्दा माथि ल्याएका २४ मध्ये २२ अस्पतालहरूमा भने अस्पताल व्यवस्थापक अधिकृत रहेको पाइएको बताए ।
यस कार्यशालाका प्रमुख ट्रेनर डा. बच्चु कैलास कैनीले अस्पतालको व्यवस्थापनले लगानी गर्दा वा सञ्चालन गर्दा के कस्ता तयारी गर्नुपर्छ भन्दै १६ महत्वपूर्ण कुरामा ध्यानदिनु पर्ने बताए।
हस्पिटल बोर्ड गभर्नेन्स प्लानिङ तथा अपरेसन जस्ता महत्वपूर्ण रहेको भन्दै अस्पतालको सञ्चालनमा बोर्डको महत्वपूर्ण भूमिका भएको बताए डा. कैनीले बताए। संस्थामा काम गर्ने हरेक व्यक्तिले आफ्नोपन हुने वातावरण हुनुपर्नेमा उनले जोड दिए । उनले नेतृत्व गर्ने हरेक व्यक्तिमा ज्ञान, सीप र आत्मविश्वास हुनुपर्ने बताए ।
बच्चु कैलास कैनीले बेलायतमा ७८ प्रतिशत अस्पताल व्यवस्थापकले चलाउने गरेको जानकारी दिए । अस्पतालको व्यवस्थापनमा जाने डाक्टरले तालिम लिएर आउनुपर्ने र पूर्णकालीन हुनुपर्ने उनको भनाइ छ । नेपालमा अस्पतालको प्रमुख डाक्टर मात्र हुने चलन रहेको भन्दै उनले बेलायतमा त्यस्तो नभएको बताए ।
डा.कैनीले बेलायतमा स्वास्थ्य सेवा कसरी दिइन्छ भन्ने कुरा प्रस्तुत गरेका थिए । नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण कुरा भनेको सेल्फ लिडरसिम सबै भन्दा महत्वपूर्ण कुरा भएको बताउँदै त्यस्तै टिम लिडरसिप र संस्थागत लिडरसिप महत्वपूर्ण भएको उनले उल्लेख गरे।
‘स्ट्राटिजिक प्लानिङ भनेको हामी कहाँ छौ ? हामी कहाँ पुग्ने हो ? र कसरी पुग्ने भन्ने मुख्य विषय हो, डा.कैनीले भने, ‘योजना बनाउँदा के गर्ने भने जस्तै के नगर्ने भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’
डा कैनी एआरयूमा स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्वका वरिष्ठ व्याख्याता हुन्। उनी उच्च शिक्षा प्रतिष्ठानका वरिष्ठ फेलो र बेलायतको रोयल सोसाइटी अफ पब्लिक हेल्थका फेलो हुन्। बेलायत र नेपालमा स्वास्थ्य संस्थामा व्यवस्थापन र नेतृत्व गर्ने काममा उनीले ३२ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
कर्पोरेट लयर्स सृजना अधिकारीले अस्पताल व्यवस्थापन र सञ्चालनका लागि के-कस्ता सामान्य ऐन कानुन, नियमावली सम्झौता जस्ता कुराहरूबारे जानकारी भनी प्रस्तुति राखेकी थिइन् । उनले अस्पताल सञ्चालकले सामान्य कानुन र स्वास्थ्य सेवाका विविध कानुनबारे जानकार हुनुपर्ने विषयमा राखिन् ।
चार्टर एकाउन्टेन्ट समीर घिमिरेले अस्पताल व्यवसायमा फाइनान्स व्यवस्थापनको के-कस्ता समस्याहरू रहेका छन् भन्ने विषयमा आफ्नो प्रस्तुति दिदै तथ्यांक विश्लेषण भन्दा आफ्नो परम्परागत अनुभवका आधारमा सेवाको मूल्य राख्ने प्रचलन रहेकाले फाइनान्सका हिसाबले सबै अस्पतालले एकैखाले समस्या भोगिरहेको बताए।
कार्यक्रमको दोस्रो सत्रमा नेपालमा अस्पताल सञ्चालनमा कस्ता समस्या रहेका छन्, यस्तो समाधानका उपाए के हुन सक्छन् भन्ने विषयमा सहभागीहरूको चार समुह बनाएर छलफल गरिएको थियो । छलफलपछि समूहगत प्रस्तुति गरिएको थियो ।
टेक्निकल सेसनको सार्वजनिक तथा निजी स्वास्थ्य संस्था सञ्चालक समिति र म्यानेजरहरूको रणनीतिक नेतृत्वमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो।
प्रतिक्रिया 4