 
																			८ मंसिर, पोखरा । उच्च अदालत पोखराले कास्की जिल्ला अदालतलाई मणिपाल शिक्षण अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात भएको प्रकरणमा पक्राउ परेका ७ जनालाई धरौटीमा छोड्नुको कारण मागेको छ ।
उच्च सरकारी वकिलको कार्यालय पोखराले बिहीबार दिएको निवेदनका आधारमा उच्चले शुक्रबार चिकित्सकमाथि हातपात तथा अस्पताल तोडफोडमा संलग्नलाई छोड्नुको कारण लिखित रुपमा जवाफ मागेको हो ।
न्यायाधीश धनसिंह महराको इजलासले मुद्धा चलाउनुपर्ने व्यक्तिहरुलाई धरौटीमा छाड्नुको फैफियत पेश गर्न आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विश्वनाथ अर्यालले जानकारी दिए ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड प्रकरणमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।
गत असोज ८ गते मणिपल शिक्षण अस्पतालमा उपचारका क्रममा लमजुङकी शुकमाया दुराको निधनपछि अस्पतालमा आफन्तले चिकित्सकमाथि हातपात तथा अस्पताल तोडफोड गरेका थिए । सोही घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार मुद्धा अगाडि बढाएको थियो ।
८ गते नै पक्राउ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरी बाँकी ७ जनालाई गत असोज २६ गते जिल्ला अदालत कास्कीले १/१ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनविरुद्ध काम गरेको भन्दै पक्राउ पुर्जी जारी गरेका १० जना अझै फरार सूचीमै छन् । २ जनालाई पुर्पक्षका लागि जेल चलान गरी सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङलाई धरौटीमा छाडिएको थियो ।
यीमध्ये केही पटक पटक हिरासत पुगेका व्यक्तिहरुसमेत रहेको प्रहरीको भनाइ थियो। तर, मुद्धा चलाउनुपर्ने व्यक्तिलाई जिल्ला अदालतले धरौटीमा छोडेको भन्दै बिहीबार उच्च अदालतमा निवेदन परेपछि शुक्रबार यससम्बन्धी लिखित कैफियत माग गरिएको उपरजिस्ट्रार अर्यालले बताए ।
गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा डा. अनिल शाहमाथि आक्रमण भएको थियो ।
शाहमाथि आक्रमण भएपछि चिकित्सकहरु पनि आक्रोसित बनेका थिए भने मृतकको आफन्तको तर्फबाट पनि ठूलो संख्यामा युवाहरु जम्मा भएर विरोध तथा तोडफोडमै उत्रिएका थिए ।
मणिपालमा भएको तनाब क्रममा कमाण्ड सम्हालेका तत्कालीन बैदाम प्रहरी प्रमुख डिएसपी वेदप्रकाश जोशी हेडक्वाटर तानिएका थिए भने आक्रोशित भीडलाई झनै उत्तेजित बनाउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्वनमै परेका छन् ।
मणिपालको घटनालाई लिएर देशभर चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चौतर्फी दबाब सिर्जना भएपछि प्रहरीले सिसी टिभी फुटेज हेर्दै पक्राउ गर्न थालेको थियो । अस्पतालको तनाम कायमै रहेका बेला चिकित्सकले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए भने आफन्तका तर्फबाट महेन्द्रपुलमा चक्काजाम नै गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
तोडफोडमा संलग्न रहेको र भीडलाई उत्तेजित तथा आक्रामक बनाउन नेतृत्व लिएको भन्दै तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएका भट्टराईसहित १० जना अझै फरार नै रहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4