+
+

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते ८:३०

९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो दिन आज दुई खेल हुँदैछन् । जसमा पोखरा थण्डर्स र एफसी चितवनबीच पहिलो खेल हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

पोखराको मार्कीमा युवा विगंर आयुष घलान छन् भने प्रशिक्षकमा नवीन न्यौपाने छन् । यो टिममा युवा खेलाडीहरुका साथै नेपालमा घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् ।

राष्ट्रिय टिमका खेलिसकेका र अष्ट्रलिया गएका डिफेण्डर दिनेश राजवंशी आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । उनी पहिलो सिजन धनगढी एफसीबाट खेल्दै एनएसएलको उत्कृष्ट डिफेण्डर घोषित भएका थिए । पोखरामा विदेशी खेलाडीमा क्यामरुनमा गोलकिपर प्रिसोज र फ्रांकलिन कुएटे टाला तथा घानाका जोए आइडु, मोसेस त्वाम र स्टेफेन कोजो अनोर छन् ।

उता राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विशाल श्रेष्ठ चितवनको मार्की प्लेअर छन् । यस टिममा पनि नयाँ र पुराना खेलाडीहरु छन् । अष्ट्रेलिया गएका विमल घर्ती मगर आइकोनिक प्लेअरका रुपमा फर्किएका छन् । यस्तै घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडी पनि छन् । चितवनको विदेशी खेलाडीमा घानाका युसिफ मुबारिक, टोरिक जेब्रिन, रफिक अमिनु र अफ्रियीए अक्वाह छन् । यस्तै मोन्टेनेग्रोका डिफेण्डर मार्को इभानोभिच छन् ।

पहिलो सिजन पोखराले चितवनलाई २-१ ले पराजित गरेको थियो । त्यसमा पोखराका लागि पहिलो गोल गरेका फरवार्ड नवयुग श्रेष्ठ यस सिजन चितवनमा अनुबन्ध भएका छन् ।

यस्तै दोस्रो खेल साँझ साढे ५ बजे ललतिपुर सिटी एफसी र एफसी बुटलव लुम्बिनी हुनेछ ।

ललितपुरको मार्कीमा राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङ छन् । यस्तै पहिलो सिजन ललितपुरबाटै खेलेका एरिक विषट यस पटक बुटवल लुम्बिनीको मार्की प्लेअरमा छन् ।

ललितपुरमा राष्ट्रिय टिमका सनिश श्रेष्ठ, सेसेहाङ आङदम्बे र दिनेश हेन्जन पनि छन् । यस्तै  फ्रान्सबाट दुई खेलाडी गोलकिपर जेफ्री बाल्टुस र र फरवार्ड अनुबन्ध गरेको छ । यस्तै नाइजेरियाका इमोह इजेकिएल र ओमालाजा करिम तथा प्यालेस्टाइद्दका जोनाथन भिभिएना छन् ।

बुटवलको टिममा पनि अष्ट्रेलिया गएका फरवार्ड आशिष लामा आइकोनिक प्लेहरको रुपमा फर्केका छन् । यस्तै हाल राष्ट्रिय टिममा रहेका जिलेस्पी जंक कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा र प्रकाश बुढाथोकी पनि यस टिममा छन् ।

पहिलो सिजन काठमाडौंबाट खेलेका क्यामरुनका स्टेफन विनोङ यसपटक बुटलवको टिममा अनुबन्ध भएका छन् । यसबाहेक नेपालमा खेलिसकेका एर्नेस्ट थम्पी, आन्द्रे थिएरी बियिक र सर्ज सोङ विदेशी खेलाडीको रुपमा छन् ।

पहिलो सिजन यी दुई टोलीबीच दुई खेल भएको थियो । जसमा नुर्लान नोभ्रुजोभको गोलमा ललितपुरले बुटवललाई लिग चरणमा १-० ले पराजित गरेको थियो । यस्तै इलिमिनेटरमा पनि यी दुई टोलीबीच खेल हुँदा ललितपुर १-० ले विजयी रह्यो र त्यसमा अन्जन विष्टले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?