+
+

रास्वपाको ध्यान मधेशमा, तीनदिने केन्द्रीय बैठकदेखि सभा-भेला

आठ जिल्लामा ३२ संघीय निर्वाचन क्षेत्र रहेको मधेशमा रास्वपाले आफ्नो शक्ति परिचालन गरेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० मंसिर १० गते १९:३७

१० मंसिर, काठमाडौं । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तरक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ ।

केन्द्रदेखि प्रदेशका उच्च तहका नेताहरु मधेश पुर्‍याएर भावी विकल्प आफू हुने सन्देश प्रवाह गर्न रास्वपाले खोजेको छ । आठ जिल्लामा ३२ संघीय निर्वाचन क्षेत्र रहेको मधेशमा पार्टी शक्ति परिचालित हुनुले भावी चुनावलाई समेत मध्यनजरमा राखेको देखिन्छ ।

रास्वपा गठन भएदेखि हालसम्म लगातार तीन दिन बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक राखिएको यो पहिलो पटक हो । ११ मंसिर देखि १३ गतेसम्म महोत्तरी, जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रदेश सभापति, इञ्चार्ज र महामन्त्रीलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ । संस्थागत उपस्थिति बढाउनका लागि उच्च महत्वमा मधेशमा राखेर पार्टी संयन्त्र परिचालित भएको छ । मधेशमा पार्टी संयन्त्र लागेर रास्वपाले ‘रणनीतिक मूभ’ सुरु गरेको छ ।

मधेशका जिल्लामा तिन दिनको सभा, अन्तरक्रिया र भेटघाट गर्नु र केन्द्रीय समिति र संसदीय दलको बैठक आव्हान सोही  स्थानमा गर्नुले रास्वपाले मधेशलाई प्राथमिकतामा राखेको पुष्टि गर्दछ ।

महामन्त्री मुकुल ढकाल मधेशलाई पार्टीले प्राथमिकतामा राखेर कार्यक्रमहरु निर्धारण गरेको बताउँछन् । तुलनात्मक रुपमा रास्वपाको संगठन मधेशमा कमजोर छ । ‘संगठनात्मक रुपमा पनि मधेशमा हामीले सुधार गर्नुपर्नेछ’ महामन्त्री ढकाल भन्छन्,‘पार्टी जीवनको महत्वपूर्ण बैठक भएकाले मधेशबाटै सन्देश प्रवाह गर्ने लक्ष्य हो ।’

सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु खटिएर मधेशका आठ जिल्लामा सभा, अन्तरक्रिया तथा भेटघाट गरिरहेका छन् । मधेशमा हुने कार्यक्रममा सभापति लामिछाने, उपसभापति डीपी अर्याल, सांसदहरु मनिष झा, सोविता गौतम लगायत सहभागी भएका छन् । रौतहटको सन्तपुर र गौरमा शनिबार जनसभा राखिएको थियो ।

शुक्रबार बाराको सिम्रौनगढ र निजगढ सभामा सहभागी भएका सभापति लामिछानेले सोही दिन वीरगञ्जमा अन्तरक्रिया गरे । आइतबारको लागि सप्तरीको छिन्नमस्ता र फत्तेपुरमा जनसभा गरेको छ । आइतबार बिहान सिरहाको गोलबजारमा पनि कार्यक्रम गरिएको छ ।

पार्टीको संगठन नभएका स्थानका सभामा पनि स्थानीयको उल्लेख्य उपस्थिति रहेको रास्वपा सांसद झाले जानकारी दिए ।  पार्टी र जनता दुवै तयार भएर नै मधेशका कार्यक्रम सफल भएको रास्वपाको दाबी छ ।

‘पार्टी तयार भई नेता उभिएर मात्रै कार्यक्रमहरु सफल हुन सक्दैन’ सांसद झाले भने, ‘हाम्रो लागि मधेश जनता पनि तयारी थिए । स्विकार्यता हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो पाइरहेका छौं ।’

गौर र गोलबजारमा नगर समिति गठन नभएपनि नागरिकको उपस्थिति उत्साहजनक रहेको झाले बताए । पूर्व पश्चिम र हुलाकी राजमार्गमा सभा र भेटघाटमा केन्द्रित रहेको रास्वपा एक महिना पछि हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिने भएको छ ।

गत उप चुनावमा बारामा मधेश मूलका व्यक्ति उम्मेदवार नहुँदा मत परिणाम अस्वभाविक कमि आएको चर्चा पार्टीभित्र पनि हुँदै आएको छ । मधेश समुदायबाट केन्द्रीय नेतृत्वमा उपस्थिति कमि रहेकाले रास्वपाको संगठन मधेशमा कमजोर रहेको विश्लेषण हुँदै आएको छ ।

‘पार्टी ‘समावेशिताका कुरामा भएको कमजोरी हटाउन पनि मधेश यात्राले सहयोग गर्छ’, महामन्त्री ढकाल भन्छन् । देशको सबैभन्दा ठूलो पार्टी बनाउने लक्ष्यलाई पुरा गर्न मधेशलाई प्राथमिकता दिइएको महामन्त्री ढकाल बताउँछन् । सदस्यता प्राप्त गर्ने प्रक्रियाको ज्ञानमा कमि हुँदा संगठित कार्यकर्ता मधेसमा अन्यत्र सरह हुन नसकेको महामन्त्री ढकालले बताए ।

‘अरुतिर धेरै राम्रो भएको अवस्थामा मधेशमा ठिकठाक हो’, महामन्त्री ढकाल भन्छन् । संस्थागत उपस्थित कमि रहेकाले पनि संगठन कमजोर रहेको रास्वपाको बुझाई छ ।

मधेशमा पार्टीलाई बलियो बनाउन नेताहरु भित्र्याउन पनि रास्वपाले सुरु गरेको छ । धनुषाका डा. नन्दन यादवलाई पार्टीमा प्रवेश गराइएको छ । रास्वपा स्रोतका अनुसार यादवलाई केन्द्रीय समितिमा मनोनित गर्ने तयारी छ ।

सभापति लामिछानेले यादवलाई मनोनित गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । यादव लोहियावादी पार्टीबाट रास्वपामा प्रवेश गरेका हुन् । थप केन्द्रीय सदस्यमा मनोनित प्रस्तावलाई बैठकमा प्रवेश गर्ने/नगर्ने विषय विचाराधिन रहेको महामन्त्री ढकाल बताउँछन् । मधेशको राजनीतिमा उनलाई सक्रिय बनाउने रणनीति रास्वपाले बनाएको छ ।

बैठकमा महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने भएको छ । बैठकमा छलफलका थप एजेण्डामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन लगायत छन् ।

‘सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । पार्टीको नीतिगत वैचारिक स्पष्टता निर्णय गर्छौं’, महामन्त्री ढकालले भने । पार्टीले अंगीकार गर्ने नीतिका विषयमा विवाद बढेपछि थप बहसका लागि थाती राखिएको थियो ।

दस्तावेज निर्माणका लागि १७ जनाले तयार गरेको मस्यौदा, १९ फरक फरक जिल्लाबाट नागरिकका सुझाव, नीतिमाथिको बहसबाट आएका विषयहरु समेटेर दस्तावेज निर्माण गर्न लागिएको छ ।

महामन्त्री ढकालका अनुसार आधारभूत विषयवस्तुलाई बैठकले पारित गर्नेछ । ‘नीति दस्तावेजको पूर्ण रुप होइन, त्यसको सार पारित हुन्छ’, महामन्त्री ढकाल भन्छन् । बैठकले राष्ट्रिय मुद्दामा पार्टीको स्पष्ट अडान बाहिर ल्याउने सांसद झाले बताए ।

‘व्यवस्थामा समस्या छैन भनेर हामीले भन्दै आएका हौं । राजनीतिक अभ्यास गर्नेहरुमा समस्या हो । बैठकमा संविधान बाधक नरहेको विषयमा पनि छलफल हुन्छ’, झाले भने ।

रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भन्दै आएपनि उक्त समयमा केन्द्रीय महाधिवेशन हुन सकेन । वडा तहको अधिवेशन भने सुरु भएको छ । मधेशमा हुने बैठकले महाधिवेशन मिति तय नगर्ने नेताहरु बताउँछन् । महाधिवेशनका आवश्यक थप विधि र प्रक्रियाहरु पारित गरिने रास्वपाले जनाएको छ ।

सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ११ मंसिरमा केन्द्रीय र संसदीय दलको संयुक्त बैठक बस्नेछ । १२ गतेको संयुक्त बैठकले सभापतिको प्रतिवेदन पारित गरेपछि पुन छुट्टाछुट्टै बैठक बस्ने महामन्त्री ढकालले जानकारी दिए ।

बैठकमा प्रदेशका इञ्चार्ज र महामन्त्री पनि सहभागी हुने भएका छन् । केन्द्रीय सदस्य, सांसद, प्रदेशका सभापति, इञ्चार्ज र महामन्त्री गरेर एक सय आसपासको उपस्थित हुने रास्वपाले जनाएको छ ।

जलेश्वरमा पार्टी प्यालेसमा हुने बैठकमा लाग्ने पुग्नेहरुले खाना र बस्नको खर्च स्वयंले बेहोर्नुपर्ने भएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?