+
+

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार सामाजिक सुरक्षा कोषमा, निरन्तरतामा प्रश्न 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १९:१९
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ४ लाख नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै यो योजनाको शुभारम्भ गरेका थिए ।

कोषका अनुसार वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता कम देखिएको छ । तर, वैदेशिक रोजगारीमा रही विदेशबाटै योगदान गर्नेको हकमा भने ९० प्रतिशतको निरन्तरता रहेको कोषले जनाएको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार नेपालबाट श्रम स्वीकृति लिनेको हकमा कोषमा आवद्धता अनिवार्य गरिएको छ । जसले गर्दा सहभागिता संख्या उत्साहजक देखिएको हो । तर, कोषमा निरन्तर योगदानको प्रश्न अझै पनि रहेको उनी बताउँछन् ।

‘यहाँबाट म्यानपावरले फारम भरिदिने भएकाले आवद्धता संख्या बढ्यो,’ उनी भन्छन्, ‘तर, कोषको महत्वबारे बुझाउन नसक्दा निरन्तर योगदान गर्नेको संख्या भने केही कम छ ।’ यसका लागि कोषले जनचेतना फैलाउने गरी कामको तयारी गरिरहेको उनले जानकारी दिए । निरन्तर योगदान नगर्दा श्रमिकले पाउने सुविधा प्रभावित हुने उनले बताए ।

सामाजिक सुरक्षा कोषमा योगदान गरी वैदेशिक रोजगारीमा जाने योगदानकर्तामध्ये अहिलेसम्म ३ जनाको दुर्घटनामा ज्यान गइसकेको छ । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामध्ये कम्तीमा ९ महिना योगदान गरेको हुनुपर्ने प्रावधान रहेको कारण ज्यान गुमाउनेहरुले कोषबाट कुनै सुविधा भने प्राप्त गर्न नसकेको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने, श्रम स्वीकृति नवीकरण र नवीकरण गर्ने बेला नभएकाले वैदेशिक रोजगार विभाग र कोषमार्फत सहभागी हुन सक्ने प्रावधान छ ।

वैदेशिक रोजगारीमा रहेकाले विभागको सफ्टवेयरमार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट्समार्फत कोषमा सूचीकृत हुन निवेदन दिन सक्छन् ।

कोषमा श्रमिकले हरेक महिना २ हजार २ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ । निरन्तर योगदानको सन्दर्भमा औपचारिक क्षेत्रका श्रमिकभन्दा अनौपचारिक क्षेत्रका श्रमिकको कम सक्रिय रहेको कोषको विश्लेषण छ ।

कोषमा १८ हजार ४३९ रोजगारदाता सूचीकृत, लक्ष्य भने भेटिएन

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार ४३९ पुगेको छ ।

कोषले स्थापनाको छैठौं वार्षिकोत्सव मनाउँदैछ । यस अवधिमा कोषमा योगदानकर्ता भने ९ लाख २८ हजार ४५३ जना पुगेको कोषले जनाएको छ । यस अवधिमा कोषमा भएको योगदान रकम ४४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

कोषले आर्थिक वर्ष २०७९/८० सम्म ३० हजार रोजगारदातालाई सूचीकृत गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य भने कोषले पूरा गर्न सकेन ।

आव २०७९/८० सम्म ५ लाख योगदानकर्तालाई सूचीकरण गर्ने लक्ष्य राखिएकोमा ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता सूचीकृत गर्दै कोषले लक्ष्यभन्दा झण्डै दोब्बर योगदानकर्ता पुर्‍याएको छ ।

अहिलेसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी ७६ करोड १२ लाख रुपैयाँ भइसकेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८.७५ करोड पुगेको छ । आश्रित परिवार सुरक्षा दाबी रकम १० करोढ ९६ लाख पुगेको कोषको तथ्यांक छ । अवकाश दाबी रकम ५ अर्ब ४८ करोड ९७ लाख रहेको छ । यसरी ५ वर्षको अवधिमा ६ अर्ब ४४ करोड रुपैयाँ दावि भुक्तानी भएको कोषले जनाएको छ ।

कर्जा सुविधा के–के छन् ?

कोषका अनुसार अहिलेसम्म विशेष (स्पेसल) कर्जा ९ हजार ७४४ जनाले लिएका छन् । यो रकम १ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ रहेको छ । घर कर्जा लिने १७ जना छन् । यो रकम २ करोड ८९ लाख रुपैयाँ रहेको छ । शैक्षिक कर्जा लिनेको संख्या ३ जना र रकम २३ लाख ६४ हजार रहेको कोषको तथ्यांक छ । ९२६ जनाले अअिलेसम्म कर्जा मिलान गरिसकेका छन् ।

६ स्थानीय तहको मात्रै सहभागिता

कोषले १७ असोज २०८० मा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आवद्धताका लागि अनुरोध गरेको थियो ।

जस अन्तर्गत अहिलेसम्म ६ वट स्थानीय तहले मात्र कोषमा आवद्धताका लागि सहमति जनाएका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिका, मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगञ्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका यो स्किममा आवद्ध भएका छन् ।

दुई स्थानीय तह भने प्रक्रियामा रहेका छन् । बागलुङको ताराखोला गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका प्रक्रियामा रहेको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?