+
+

सातौं अक्षरा मोडेल युनाइटेड नेसन्समा विद्यार्थीले गरे अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १६:४६

काठमाडौं । अक्षरा स्कुलले सातौं मोडेल युनाइटेड नेसन्स (एमयूएन) कार्यक्रम आयोजना गरेको छ । शुक्रबार सुरु भएको कार्यक्रम आइतबार औपचारिक कार्यक्रम गरी सम्पन्न भएको विद्यालयकी संस्थापक निर्देशक अन्जु भट्टराईले जानकारी दिइन् ।

किताबी ज्ञान मात्र नभई विद्यार्थीमा जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताइन् । एमयूएनमा विद्यार्थीहरुबीच विश्वका समसामयिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा अन्तरक्रिया गरियो ।

‘संयुक्त राष्ट्र संघबाट मान्यताप्राप्त शैक्षिक मञ्च ‘मोडेल युनाइटेड नेसन्स’को माध्यमबाट विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रही ती देशको नीति र दृष्टिकोणका साथै वास्तविक विश्वव्यापी समस्या बुझ्ने र तिनको समाधान गर्ने उपाय खोजेर सुझाव दिने गर्छन्,’ उनले भनिन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. लेखनाथ शर्माले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास गर्ने बताए ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एमयूएन अत्यन्तै उपयोगी भएकाले विद्यालयले सात वर्षदेखि विद्यार्थीबीच गराउँदै आएको विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरुले जानकारी दिए ।

त्यस्तै, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा आर्थिक र दिगो विकासका सल्लाहकार सुवास नेपालीले एमयूएन जस्ता बालमैत्री कार्यक्रमले खोज अनुसन्धान गर्ने, कुनै पनि विषयवस्तुको उठान गर्ने र तर्क गर्नेजस्ता सीप विकास गरी भविष्यमा विद्यार्थीलाई सफल योजनाकार तथा कूटनीतिज्ञ बन्न सहयोग गर्ने बताए ।

त्यसैगरी, स्कुलकी प्राचार्य मिलन केसी लोप्चनले एक्काइसौं शताब्दीसँगै विश्वव्यापीकरणको युगमा विद्यार्थीलाई सबै क्षेत्र र विषयमा आधारभूत ज्ञान दिन आवश्यक रहेको धारणा राखिन् ।

माध्यमिक तहका विद्यार्थी सहभागी सो कार्यक्रमको संयोजन कक्षा १० का विद्यार्थीले गरेका थिए । कार्यक्रममा अक्षरा स्कुल र अन्य विद्यालयका गरी करिब १४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट तीनजनालाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?