+
+

म्युचुअल फण्ड : १० अंकित मूल्य, ७ रूपैयाँमै कारोबार

कमल नेपाल कमल नेपाल
२०८० मंसिर ११ गते १९:१३

११ मंसिर, काठमाडौं । ४ मंसिरदेखि प्राथमिक बजारमा खुलेको एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड–२’ नामक म्युचुअल फण्डमा माग गरिएजति इकाइका लागि आवेदन नपरेपछि अवधि लम्ब्याइएको छ । अंकित मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ बिक्री गर्नका लागि ७ मंसिरसम्म आवेदन खुलाइएकोमा सो अवधिसम्म आधा इकाइ पनि बिक्री नभएपछि १८ मंसिरसम्मका लागि आवेदन खुला गरिएको हो ।

एनआईसी एसिया ग्रोथ फण्ड–२ मात्रै होइन, यसअघि खुलेका धेरै म्युचुअल फण्डको अवस्था उस्तै थियो । कमजोर कम्पनीका सेयरमा समेत पहिलो दिन नै माग गरिएजति आवेदन पर्ने गरेको छ । तर, सेयरको तुलनामा जोखिम कम रहने यस्ता म्युचुअल फण्ड भने थपिएको समयसम्म पनि पूरा इकाइ बिक्री हुन मुस्किल पर्ने गरेको छ । यसको प्रमुख कारण हो– दोस्रो बजारमा सूचीकृतमध्ये करिब सबैजसो म्युचुअल फण्डको भाउ अंकित मूल्यभन्दा तल झर्नु ।

म्युचुअल फण्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहने गर्छ । यही मूल्यमा प्राथमिक बजारमा म्युचुअल फण्ड खुल्ने गरेका छन् । तर दोस्रो बजारमा भने अहिले ७ रुपैयाँमै यस्ता फण्ड पाइने गरेको छ ।

बजारमा हाल विभिन्न कम्पनीका ३४ नामका म्युचुअल फण्ड योजना सूचीकृत छन् । तीमध्ये ३० भन्दा धेरै योजनाको मूल्य १० रुपैयाँभन्दा तल झरेको छ भने अधिकांशको ८ रुपैयाँभन्दा तल छ । जसले गर्दा हाल प्राथमिक बजारमा किन्नुभन्दा दोस्रो बजारमा म्युचुअल फण्ड खरिद गर्नु फाइदाजनक देखिएको छ ।

किन घट्यो म्युचुअल फण्डको मूल्य ?

म्युचुअल फण्डहरुले आफ्नो कुल लगानीमध्ये अधिकांश रकम विभिन्न कम्पनीका सेयरमा लगानी गर्छन् । ८० प्रतिशतभन्दा बढी रकम सेयरमै लगानी हुने गरेको छ । सेयरबाहेक विभिन्न कम्पनीका ऋणपत्र, अरु म्युचुअल फण्ड तथा बैंकमा निक्षेपका रुपमा पनि फण्ड लगानी हुन्छ ।

लगानीका लागि म्युचुअल फण्डले दक्ष जनशक्ति राखेका हुन्छन् । जब फण्ड लगानी भएका सेयरहरुको मूल्य घट्न जान्छ, त्यसपछि म्युचुअल फण्डको प्रतिइकाइ खुद सम्पत्तिको मूल्य (न्याभ) पनि स्वतः घट्न जाने र यसले बजार मूल्य पनि घट्ने गरेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश वैद्य बताउँछन् ।

‘बजार उच्च भएका बेला खुलेका कतिपय म्युचुअल फण्डले सो बेला नै सेयरमा लगानी गर्ने गरेकाले बजार घट्दा स्वभाविक रुपमा तिनको न्याभ घट्दछ,’ उनले भने, ‘तर समग्रमा लामो अवधिलाई हेर्दा म्युचुअल फण्डको प्रतिफल राम्रो छ ।’ न्याभका अलवा म्युचुअल फण्डको व्यवस्थापकीय टिम, लगानीका क्षेत्रहरुको अवस्था लगायतले पनि फण्डको मूल्यमा प्रभाव पर्ने गर्दछ ।

म्युचुअल फण्डमा लगानी गर्दा के हुन्छ फाइदा ?

छरिएर रहेको पूँजीलाई एकत्रित गर्ने र विभिन्न इक्विटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो ।

म्युचुअल फण्डले रकम संकलन गरी इक्विटी, ऋणपत्र वा अन्य कोषमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफलबाट आफ्नो खर्च कटाएर इकाइधनीलाई नगद लाभांश दिन्छन् । धेरै फण्डले वार्षिक रुपमै लगानीकर्तालाई नगद लाभांश दिँदै आएका छन् ।

फण्डका योजना व्यवस्थापकले सबैभन्दा धेरै रकम इक्विटीमा लगानी गर्ने गरेका छन् । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइ अर्थात् १ हजार रुपैयाँ यस्ता फण्डमा लगानी गर्न सकिन्छ । योजना व्यवस्थापकले नै फण्डको व्यवस्थापन गर्ने भएकाले लगानीकर्तालाई विज्ञता वा समय खर्चिनुपर्ने हुँदैन ।

म्युचुअल फण्डको अधिकांश रकम सेयरमै लगानी हुने भएकाले सेयर बजार बढ्दा लगानी भएको १० रुपैयाँको खुद सम्पत्ति मूल्य पनि बढ्न जान्छ । यस्ता फण्डको रकम परिचालनका लागि विज्ञहरु नै परिचालन हुने भएकाले फण्डको लगानी सेयरमाभन्दा कम जोखिम मानिन्छ । थोरै रकम पनि धेरै कम्पनीको सेयरमा लगानी हुने भएकाले जोखिम विविधिकरण हुन जान्छ ।

यो वर्ष म्युचुअल फण्डले दिएको लाभांश 

म्युचुअल फण्डले इकाइधनीलाई समयमै लाभांश घोषणा गर्ने गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट १९ म्युचुअल फण्डले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?