+
+

श्रमिकलाई सीपमूलक तालिम दिने सरकारी प्रतिष्ठानको जिम्मेवारी समितिलाई, ललितपुरमा मुख्यालय

अच्युत पुरी अच्युत पुरी
२०८० मंसिर ११ गते १९:४१

११ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरी कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै समितिले यस्तो समिति सक्रिय बनाएको हो । यससँगै यसअघि ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यालय समितिको कार्यालयमा परिणत भएको छ ।

यसअघि सो प्रतिष्ठानबाट भइरहेका काम समेत समितिले गर्ने कामका रुपमा परिणत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानको सुनसरीको इटहरी र रुपन्देहीको बुटवलस्थित कार्यालय समेत अब समितिको कार्यालयका रुपमा परिणत भएका छन् । समितिले आफ्नो कार्यालय अब राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान राख्न सक्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको हो ।

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरूप दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनका लागि उक्त समिति (गठन) आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरेको छ ।

प्रतिष्ठानलाई श्रम बजारको माग बमोजिमको प्रशिक्षणको विषय पहिचान र छनौट गर्ने, प्रशिक्षणको पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागु गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने गराउने जिम्मेवारी दिईएको छ ।

यसैगरी बाह्य तालिम प्रदायक संस्थाहरुको दर्ता, आवद्ता, सूचीकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यावस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तर्राष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउने सम्मको अधिकार प्रतिष्ठानलाई छ ।

यस प्रतिष्ठानबाट आगामी दिनमा ६ महिना अवधिसम्मको व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गरिने छ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्य समेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?