+
+

हरिपुर्वा र सिम्रौनगढका शिक्षकहरु तलबको माग गर्दै आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते २०:०२

११ मंसिर, काठमाडौं। सर्लाहीको हरिपुर्वा नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकाका शिक्षकहरु पाउनुपर्ने तलब, भत्ताको माग गर्दै आन्दोलनरतमा उत्रिएका छन् । यी दुई पालिकाको नगरसभा सदस्यहरुबीचको लडाइँले नगरसभा बस्न नसक्दा शिक्षकहरुले साउनदेखिको तलब, भत्ता पाउन सकेका छैनन् ।

हरिपुर्वा नगरपालिकाका शिक्षकहरु साउनदेखि तलब नपाएको भन्दै ६ मंसिरदेखि विद्यालय बन्द गरेर नगरपालिकामा धर्ना दिन थालेका छन् । हरिपुर्वा माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्जय कुमार यादव नगरसभा सदस्यहरुको स्वार्थको लडाईंले नगरवासीलाई अन्याय भइरहेको बताए ।

उनले भने, ‘उहाँहरुको लडाईंको कारण हामी भोकै बस्नुपर्ने अवस्था छ । विद्यालय बन्द गर्नुपर्दा दुःख लागेको छ । तर हामी पनि बाँच्न त पर्छ नि ।’ नगरप्रमुखको पटक पटकको झुटो आश्वासन विश्वास गर्दा धोका पाएकोले अब विश्वास गर्ने आधार नभएसम्म विद्यालय नफर्कने उनले बताए ।

शिक्षा शाखा अधिकृत जनक काफ्ले नगर सभा बस्न नसक्दा कर्मचारी, शिक्षक, अपांग, ज्येष्ठ नागरिक सबैलाई असर परिरहेको बताउँछन् । उनले भने, ‘नगरसभा सदस्यहरुबीच मत नमिल्दा समस्या भइरहेको छ । त्यहि कारण प्रमुख प्रशासकीय अधिकृत टिक्नै सकिरहेका छैनन् ।’

नगरसभा बस्न नसक्दा समस्या जटिल बन्दै गइरहेको उनले बताए । विद्यालय बन्द गरेर शिक्षक आन्दोलन गर्न थालेपछि पालिकाभित्रका १६ विद्यालयका पाँच हजार बढी विद्यार्थी पठनपाठनबाट बन्चित भइरहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाका शिक्षक तलब नपाएको भन्दै विगत ४० दिनदेखि आन्दोलनरत रहेका छन् । उनीहरु हरेक दिन नगरपालिकाका ३२ वटा विद्यालयबाट प्रतिनिधिमुलक शिक्षक जाने र नगरपालिकामा धर्ना बस्ने गरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिम्रौनगढ कचर्वाका प्रधानाध्यापक रामायण प्रसाद साहले जानकारी दिए ।

उनले भने ‘आलोपालो धर्नामा सहभागी हुन्छौं । अहिलेसम्म विद्यार्थीको पढ्न पाउन हकलाई सुरक्षित गरेका छौं । यस्तै हो भने कहिलेसम्म हो भन्न सकिँदैन ।’नगरपालिकाको लापरवाहीले कतिपय शिक्षक, कर्मचारी, ज्येष्ठ नागरिकको घरमा चुल्हो बल्न छाडेको उनको भनाइ छ ।

पालिकाको नगरसभा बस्न नसक्दा शिक्षकले तलब नपाएको पालिकाका सूचना अधिकृत अर्जुन यादवले बताए । उनले अहिले झन समस्या जेलिँदै गइरहेकोले कहिले समस्या समाधान हुने टुंगो नदेखिएको बताए ।

नगरपालिकाका एक कर्मचारीका अनुसार गत ३ कार्तिकमा नगरसभा हुने भन्दै नगर प्रमुख किशोरी साह कलवारले पत्राचार गरेका थिए । तर उक्त दिन उनी नगरपालिकाको नगरसभा हलमा नआएर निजी निवासबाटै नगरसभा सम्पन्न भएको प्रेस विज्ञप्ति जारी गरेपछि झन नगरसभा सदस्यहरुबीच मतभेद बढेर गएको छ ।

उनले भने, ‘मेयरले केही आफ्ना समर्थकहरुको बलमा मनपरी गरिरहेका छन् । घरबाटै नगरसभा सम्पन्न भएको सम्म प्रचार गरिरहेछन् तर बहुमत नभएपछि अगाडी बढ्न सकेका छैनन् ।’

अभिभावकीय जिम्मेवारी पाएको निकाय नै निकम्मा हुँदा नागरिकहरु अन्यायमा परिरहेको उनको भनाइ छ । उनले भने, ‘जनप्रतिनिधिहरु आफ्ना नागरिकप्रति यो हदसम्म गैर जिम्मेवार हुँदै गइरहेका छन कि जसले सर्वसाधारणमा व्यवस्था नै गलत हो कि भ्रम सिर्जना हुन थालिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?