+
+

‘एनिमल’ले नेपालमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १३:४२

काठमाडौं । रणवीर कपुर र रश्मिका मान्दाना स्टारर बलिउड फिल्म ‘एनिमल’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । हलले उच्च शो दिंदै बुधबारदेखि एड्भान्स टिकट बिक्री थालेका छन् ।

बुधबार मध्यान्हसम्म ५० प्रतिशत हाराहारीमा टिकट बिक्री देखिन्छ । बिहीबार बेलुकासम्म टिकट सोल्डआउट हुने अनुमान छ । एड्भान्स टिकट बिक्री र शो संख्या हेर्दा फिल्मले शुक्रबार डेढ करोड नेरु हाराहारीमा ओपनिङ गर्ने देखिन्छ ।

क्यूएफएक्सले देशव्यापी ७० शो दिएको छ । सिनेप्लेक्ससहित आईएनआईको ३८ शो छ । बिग मुभिजका आठ शोमा रातो घेरा लागेको देख्न सकिन्छ । काठमाडौं र उपत्यकाबाहिरका हलमा समेत एड्भान्स टिकट बिक्री राम्रो देखिएको छ ।

फिल्मले भारतमा हिन्दी संस्करणमा ५५ करोड भारु र तेलुगू संस्करणमा १० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ । विश्वव्यापी ९५ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तेलुगू भर्सनमा फिल्मले शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्ने बताइएको छ ।

बुधबार बिहानसम्म भारतका पीभीआर र सिनेपोलिस मल्टिप्लेक्स चेनमा ‘एनिमल’का दुई लाख टिकट बिक्री भएको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् । सन्दीप रेड्डी भांगा निर्देशित फिल्म ट्रेलर रिलिजसँगै चर्चामा छ । फिल्ममा रणवीर र रश्मिकासँगै अनिल कपुर र बबी देओलको समेत शीर्ष भूमिका छ ।

दिमाग खराब’ चौथो सातामा

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारदेखि चौथो सातामा प्रवेश गर्दैछ । तेस्रो सातामा फिल्मको अकुपेन्सी घटेको देखिन्छ । हलहरुले ‘एनिमल’ र ‘सामबहादुर’ रिलिज हुने दिन शुक्रबार ‘दिमाग खराब’लाई पनि राम्रै शो दिएका छन् ।

अब फिल्मले दर्शक कति तान्न सक्छ, यो उसको सक्षमतामा निर्भर गर्छ । दोस्रो सातासम्म राम्रो कमाइ गरेको फिल्मले तेस्रो सप्ताहन्तसम्म सुखद कमाएको थियो । तर विकडेजमा अकुपेन्सीमा गिरावट देखिन्छ । चौथो सप्ताहन्तमा खगेन्द्र लामिछाने स्टारर फिल्मको अकुपेन्सीले यसको भविष्यबारे संकेत गर्नसक्छ ।

चलचित्र संघ र निर्माता संघको सहमतिअनुसार तय भएको फिल्म चलुञ्जेल ५० प्रतिशत सेयर बाँडफाँट हुने सहमतिको फाइदा ‘दिमाग खराब’ले कति उठाउन सक्छ, यो हेर्न बाँकी छ । तर पनि चौथो सप्ताहन्तमा फिल्मको अकुपेन्सीमा केही वृद्धि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?