+
+

नेप्सेको सिस्टममा बुधबार किन आयो समस्या ?

कमल नेपाल कमल नेपाल
२०८० मंसिर १३ गते १८:२५

१३ मंसिर, काठमाडौं । शुक्रबार र सार्वजनिक विदाबाहेक हरेक दिन बिहान साढे १० बजे सेयर बजारको ‘प्रिओपनिङ’ कारोबार सुरु हुन्छ । बिहान १०ः४५ सम्म हुनुपर्ने प्रिओपनिङ कारोबार बुधबार हुनै सकेन । प्रिओपनिङ कारोबार त रोकियो नै, ११ बजे सुरु हुनुपर्ने नियमित कारोबार पनि २४ मिनेट ढिला हुन गयो । ढिला भएको समयलाई मध्यनजर गर्दै नेप्सेले दिउँसो ३ बजे बन्द गर्नुपर्ने सेयर कारोबार ३ः२४ बजेसम्म खुला राखेको थियो ।

नेपाल स्टक एक्सचेञ्जको भनाइ मान्ने हो भने विद्युत् आपूर्तिमा समस्या भएर सिस्टम डाउन भएका कारण कारोबार हुन नसकेको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेपाल स्टक एक्स्चेञ्जभित्र भइरहेको निर्माण कार्यका क्रममा मंगलबार साँझ कामदारहरुले मुख्य स्वीच अफ गरी विद्युत् आपूर्ति बन्द गरिदिएका थिए ।

त्यसरी बन्द भएको स्वीच बुधवार बिहानसम्म नखुलेपछि विद्युत् आपूर्ति निरन्तर बन्द हुन पुग्यो । बुधबार बिहान नेप्सेका कर्मचारी आएपछि मात्रै स्वीच अन गरी विद्युत् आपूर्ति खुलाए । तर, त्यही बीच नेप्सेको सिस्टम डाउन भइसकेको थियो र विद्युत् आपूर्ति नियमित हुँदा पनि सिस्टममा पर्याप्त पावर पुग्न केही समय लाग्यो । जसले गर्दा प्रिओपनिङ सेसन खुल्नै नसकेको र नियमित कारोबार पनि २४ मिनेट ढिलामात्रै सुरु भएको उनले बताए ।

विद्युत् आपूर्ति रोकिएका कारण मुख्य सिस्टम नै सञ्चालन हुन नसकेपछि ब्रोकरहरुले आफ्नो टीएमएस खुला राखे पनि त्यसको अर्थ नै रहेन ।

धितोपत्र व्यवसायी कृष्ण गिरीका अनुसार बुधबार बिहानैदेखि टीएमएस सञ्चालन हुन सकेको थिएन । सबै ब्रोकरको कारोबार प्रणाली (टीएमएस) नेप्सेको यही मुख्य सिस्टममा जोडिएको छ । यही सिस्टमबाट ब्रोकर कार्यालयमार्फत हुने कारोबारको विवरण एकीकृत गरिन्छ । पहिले मुख्य सिस्टम सञ्चालन हुन्छ, त्यसपछि सबै ब्रोकरहरुले टीएमएस सञ्चालन भई कारोबार सुरु हुने हो । बुधबार बिहानैदेखि टीएमएस सञ्चालन नभएपछि ब्रोकर सञ्चालकहरुले नेप्सेसँग यसबारे सोधपुछ पनि गरेका थिए ।

‘जसरी ट्यांकीमा पानी नहुँदा धारा खोले पनि पानी झर्दैन, त्यस्तै गरी यहाँको सिस्टम नचलेपछि ब्रोकरले टीएमएस अन गर्दा पनि खुल्दैन,’ नेप्सेका प्रवक्ता पराजुलीले भने । नेप्सेले हरेक दिन बिहान कारोबार खुल्नुअघि अघिल्लो दिनको डेटा सुरक्षित गर्दै नयाँ कारोबारका लागि मार्ग प्रदान गर्दछ । यो मार्ग प्रदान गर्नका ‘बीओडी’लाई अपडेट गरिन्छ । बीओडी अपडेटपछि मात्रै अरु प्रणाली सञ्चालन हुने हो । कहिलेकाहीं सर्भरमा समस्या आउँदा पनि बीओडी अपडेट हुन पाउँदैन ।

बुधबार विद्युत् आपूर्तिमा आएको समस्याकै कारण सिस्टम सञ्चालन हुन नसकेको नेप्सेको भनाइ छ । सेयर कारोबारमा बेलाबेला यस्ता समस्या देखिने गरेका छन् । कहिले नेप्सेको मुख्य सिस्टम नै सञ्चालन नहुने त कुनै बेला ब्रोकर टीएमएसमा समस्या आउने गरेका छन् । नेप्सेको डेटा सेन्टर र ब्रोकरको डेटा सेन्टरबीच कनेक्सन नहुँदा, ब्रोकर र ग्राहकबीचको डेटा कनेक्सन नहुँदा पनि समस्या देखिने गरेको नेप्सेका अधिकारीहरु बताउँछन् । यी समस्या निम्तिनुमा मुख्यतः बाह्य कारण ‘सर्भर डाउन’ तथा इन्टरनेटको समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

बुधबारको समस्यामा नेप्सेको लापरबाही समेत रहेको जानकारहरु बताउँछन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले नेप्से मात्रै नभएर सबै ब्रोकर कम्पनीहरुले सम्भावित समस्या समाधानका लागि ब्याकअप बलियो बनाउनुपर्ने बताए ।

‘यस्ता समस्याहरु भोलिका दिनमा पनि नआउलान् भन्न सकिन्न, आज नेप्सेको विद्युतका कारण समस्या आयो, भोलि ब्रोकरमा त्यस्तो समस्या आउन सक्छ यस्ता समस्या आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्छ,’ उनले भने ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?