+
+

कुटपिटको विरोधमा रुपन्देहीकाे प्रहरी कार्यालय बाहिर डाक्टरहरुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १४:५५

१४ मंसिर, बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।

नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का हुन् ।

उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता गर्न लागेको बताए ।

गुल्मी घर भई भैरहवा बस्ने भवानी रास्कोटीको सल्यक्रियाबाट सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको संघका सचिव डा. पोखरेलले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए ।

निजी अस्पताल ब्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दासमेत पिटिनुपर्ने अवस्था आउनु दुखद भएको बताए । यस्तो विकृति रोक्नेतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने बताए ।

अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माएको अर्को दिन मृत्यु भएकी सुत्केरी भवानी रास्कोटी मगरका आफन्तले शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण भवानीको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति र पक्राउ परेका ७ जनालाई बिना शर्त रिहाई नभए अस्पतालको लापरबाहीविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

मृतककी आफन्त कल्पना पाँडे मगरले सामान्य हातपात भएकामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई आईसीयूमा राखेर लापरबाही ढाकछोप गर्न खोजिएकाले सत्य तथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउन माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?