+
+

सुरक्षा लापरबाहीले मारिए दुई गैंडा, खागसहित समातिए ८ जना

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर १४ गते १८:५९
गैंडा मारेको आरोपमा पक्राउ परेकाहरु ।

१४ मंसिर, काठमाडौं । तिहारको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

३० कात्तिकमा निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै खाडलमा परेको मरेको गैंडा भेटिएको थियो । एक किलोमिटर वरपर तस्करहरुले ७ वटा खाडल बनाएका थिए, जसमध्ये २ वटा खाडलमा १८ र ६ बर्षका पोथी गैंडा परेका थिए । दुबै गैंडाको खाग काटेर लगिएको थियो ।

गैंडा मारेको आरोपमा ८ जना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी नवराज अधिकारीले गैंडा मार्नेदेखि तस्करी गर्न भूमिका खेल्ने ८ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, लेर्बटका ३३ बर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ का ४४ बर्षका शम्शेर थिङ र मनहरि गाउँपलिका–६ नयाँवस्तीका ५६ बर्षीय थिङ बाजे भन्ने सीताराम थिङ छन् ।

उनीहरु घटनामा मुख्य नाइके भएको प्रहरीको दाबी छ । तीनै जनालाई प्रहरीले राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको थियो ।
चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ बर्षका पासाङ भनिने आइतेसिंह मोक्तान, थाकलटारका ४० बर्षीय उनबहादुर स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका–७ ज्यामिरेका स्याङ्बो भनिने इन्द्रबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आइतेसिंह, उनबहादुर र इन्द्रबहादुर गैंडा मार्ने सिकारी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हेटौंडा–५ बस्ने २८ बर्षका अर्जुन रोका र गोरखा वारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ बर्षका धनबहादुर गुरूङ पनि पक्राउ परेका छन् । दुबैले खाग बिक्री वितरण गर्न भूमिका खेलेका थिए ।

६ जनालाई मंसिर ९ गते पक्राउ गरिएको थियो भने उनबहादुर र इन्द्रबहादुर ११ गते पक्राउ परेको प्रहरीले जनाएको छ । गैंडा मारेको घटना थाहा भएको ११ दिनभित्रै उनीहरूलाई पक्राउ गर्नसक्नु सुखद पक्ष भएको निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना बताउँछन् ।

ग्राहक बनेर पुगेको थियो प्रहरी

पक्राउ परेकामध्ये मुख्य योजनाकार मानिएका रमेश खाती यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति हुन् । अघिल्ला घटनाहरुमा अनुसन्धानका क्रममा गैंडा मार्ने तथा खाग किनबेच गर्ने काममा संलग्न नदेखिएको भन्दै छुटेका उनी यो घटनामा भने योजनाकार भएको निकुञ्जको दाबी छ । अन्य भने यस्तो घटनामा पहिलो पटक सहभागी भएको देखिएको सीआईबीका प्रवक्ता अधिकारीले बताए ।

सीआईबीका एसपी नवराज अधिकारी र डीएसपी दुर्गा दाहाल ।

उनका अनुसार खाग कहाँ लगेर बेच्ने भन्ने योजना विनै गैंडा मारेका थिए । गैंडा मारेपछि ग्राहक खोजीमा लागेका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरु खाग किन्ने ग्राहक बनेर उनीहरुसम्म पुगेका थिए ।

उनीहरुको साथबाट दुबै खाग बरामद भएको छ । १८ बर्षको गैंडाको १८ इन्च गोलाई तथा ६ इन्च उचाइ भएको ४६० ग्रामको खाग र बर्षको गैंडाको ११.८ इन्च गोलाई तथा २ इन्च उचाइ भएको ६० ग्राम तौल भएको खाग बरामद भएको छ । भरुवा बन्दुक, बन्चरो, चक्कु लगायत घटनामा प्रयोग भएको सरसामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ८ जनालाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

सुरक्षा लापरवाहीले घटना

ठूलो गैंडाको मुख खाडलको तल्लो भागमा मुख जोतिएको मुन्टो भाँचिएर मरेको थियो भने सानो गैंडा कुनै वस्तुले आक्रमण गरेर मारेको अवस्था भेटिएका थिए । सानो गैंडा मारेको खाडलको १५/२० मिटर पर घोल छ । घोल नजिकै तस्करले खाडल खनेर गैंडा मार्नु निकै चुनौतीपूर्ण मानिन्छ ।

खाडल खनेर त्यहाँको माटो अन्यत्रै फालेको र खाडलमाथि हरियो घाँस लगायतले छोपेको गैंडालाई धरापमा परेको देखिएको थियो । तस्करहरुलाई यो सबै काम एकाध दिन गर्न सम्भव थिएन ।

तर निकुञ्जका अधिकारीहरुले गैंडा मारिएको स्थानमा ७ दिन अगाडिसम्म गस्ती गरिएको दाबी गरेका थिए । सीआईबीको अनुसन्धानका क्रममा तस्कर समूहले निकुञ्जको सुरक्षा पोष्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करीव ३.५ किलोमिटर नजिकै ७ वटा खाडल खन्नेदेखि गैंडा मार्नेसम्मको सबै काम २० दिनमा सकाएको पाइएको डीएसपी दुर्गा दाहाल बताउँछन् ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल नेतृत्वको छानबिनले पनि निकुञ्जभित्र सुरक्षा गस्तीमा भएको लापरवाहीले घटना भएको निष्कर्ष निकालेको छ ।

छानबिन समितिले बुधबार बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लगिने विभागका महानिर्देशक डा. ढुंगाना बताउँछन् । सबैको ध्यान चाडपर्वमा केन्द्रित भएको मौका छोपेर तस्कर समूहले गैंडा मारेको भन्दै उनले यसमा भएका कमीकमजोरीलाई सुधार गर्दै जाने बताउँछन् ।

गत वर्ष माघमा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी मध्यविन्दु नगरपालिका–२ नारायणी किनारमा सुरक्षा पोष्ट नजिकै तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेर खाग काटेका थिए । गैंडा मारेर खाग कारोबार गर्नेहरुलाई निकुञ्जले पक्राउसमेत गरेर थुनामा पठाइएको छ ।

निकुञ्जको सुरक्षा खड्क दल गणले गर्दै आएको छ । निकुञ्जभित्र सेनाका ६७ सुरक्षा पोष्ट छन् । यो पोष्टमा मात्रै झण्डै २० जना सैनिक बस्छन् । यसपटक तस्करहरुले गैंडा मारेको क्षेत्र आफैंमा संवेदनशील क्षेत्र हो । माओवादी द्वन्द्वका समयमा सबभन्दा बढी गैंडा यहीँ क्षेत्रमा मारिएका थिए । तस्करले एकै वर्ष ३८ वटासम्म गैंडा मारेका थिए, अधिकांश गैंडा पूर्वी सेक्टरमा नै मारिएका थिए ।

सुनाचुरी खोलैखोला, भण्डाराबाट तल खगेन्द्रमल्ली वा पूर्वबाट तस्करहरु यो क्षेत्रमा पुगेका हुन सक्ने अनुमान छ । निकुञ्जको यही क्षेत्रमा १४ भदौमा गैंडाको हाडखोर मात्रै भेटिएको थियो । खाग नभेटिएका कारण त्यो गैंडा पनि तस्करहरुले मारेको हुन सक्ने आशंका गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ८ वटा गैंडा मरेका छन्, जसमध्ये एउटा तस्कर समूहले मारेको हो । गैंडा दुर्लभ वन्यजन्तु भएकाले यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

सन् २०२१ मा गरिएको गणनामा नेपालमा दुलर्भ एक सिङ्गे गैंडा ७५२ रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?