+
+

ओलीको भाषण सुनेपछि सर्वसाधारण भन्छन् : भोट माग्ने अर्को बहाना

जनक विष्ट जनक विष्ट
२०८० मंसिर १४ गते २०:०६

१४ मंसिर, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ को लोडासौउका दशरथ ओड ६१ वर्षका भए । १० वर्षको हुँदा आमाबुवा गुमाएका उनले अध्ययन गर्न पाएनन् । १६ वर्षको कलिलो उमेरमा भारत पसेका ओडले आफ्नो जीवनको उर्जावान ४० वर्ष भारतमै बिताए ।

सुरुवातका दिनमा होटल तथा रेष्टुरेन्टमा ज्यालादारी गरेका ओड उतै सेक्युरेटी गार्डको रुपमा काम गरेर ४० वर्ष बितेको पत्तै नलागेको बताउँछन् । उनै ओड बिहीबार बैतडीको गोठालापानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न आएका थिए । बिहीबार एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तरगत सदरमुकाम गोठलापानीमा आयोजना गरिएको जनसभामा भेटिएका ओड निराश देखिए ।

‘संघीयता आएपछि देशमा विकास र रोजगारी आउँछ भन्ने सुनेर गाउँ फर्किएको थिए तर त्यो विकास कहिले देख्न पाइने हो, थाहा छैन’, उनले भने ।

स्वदेश फर्किएपछि शीर्ष तहका नेताको भाषण प्रत्यक्ष रुपमा पहिलो पटक सुनेको बताउने उनी अबको नयाँ पुस्ताले देशमै रोजगारी, राम्रो शिक्षादिक्षा पाउनुपर्ने बताउँछन् । ‘हाम्रो पुस्ताले त अर्काको देशमा दुःख गरेर जिन्दगी बितायौं तर अबको पुस्तालाई देशमै काम गर्ने वातावरण बनाउनुपर्छ नि’, दशरथले भने ।

प्लस टु सम्मको अध्ययन सकेर घरमै बसिरहेका दशरथचन्द नगरपालिका–१ का प्रकाश भट्ट (२८) पनि बिहीबार एमालेले आयोजना गरेको आमसभास्थल गोठलापानीमै भेटिए । हालसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएका भट्ट एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङको संकल्प यात्राबारे खासै जानकारी नभएको बताउँछन् ।

‘हुन त म पनि आज केपी ओलीले के भन्छन् भनेर सुन्न मात्रै यहाँ आएको हुँ तर अब बोलेर, भाषण गरेर होइन देखिने गरी काम गर्नुपर्छ’, भट्टले अनलाइनखबरसँग भने, ‘नेताहरु भाषण गरेर जान्छन् । काम गर्दैनन् । अझै पनि यिनीहरुमाथि विश्वास छैन ।’

बेरोजगारी समस्याका कारण आफू जस्तै गाउँघरमा अन्य युवाहरु समेत खाली हात बसेको उनी बताउँछन् । अहिलेको प्रमुख आवश्यकता रोजगारी सिर्जना गरी देशमा गरिबी न्यूनीकरण गर्नु रहेको बुझेका भट्टले बेरोजगार भएर बस्दा कुनै बेला दिक्क लाग्ने गरेका बताए ।

उनकै उमेरका दार्चुलाको लेकम गाउँपालिका–४ झलातीका प्रकाशराम पार्की (२७) पनि आफूहरुलाई नेताको भाषण नभएर काम चाहिएको बताउँछन् । गरिबीका कारण ८ कक्षासम्म मात्रै अध्ययन गर्न पाएको बताउने उनी मजदुरी गर्न भारत आउजाउ गरिरहन्छन् ।

भारतमा मासिक १२ देखि १५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाएमा परिवारको खर्च धान्न पुग्ने तर गाउँमा बस्दा उल्टै ऋण लाग्ने अवस्थाबाट मुक्ति दिनुपर्ने उनको भनाइ छ ।

‘राजतन्त्र ढलेपछि अहिलेसम्म बुवा पुस्ताले यिनै नेताको भाषण सुनेर आफ्नो उमेर कटाइसक्नुभयो फेरि हामीलाई पनि भाषण र आश्वासन विभिन्न बहानामा आइपुग्छन्’, पार्कीले भने, ‘अब परिवर्तन जरुरी छ । नेताहरु सुध्रिनुपर्छ नभए हामी जनताले विकल्प सोच्नुपर्ने बेला भइसक्यो ।’

देशमा नयाँ राजनीतिक दल आएपछि पुराना नेताहरु पनि दबाबमा परेकाले उनीहरु सुध्रिएलान् भन्नेमा आशावादी रहेको पार्कीले बताए ।

आमसभामा भेटिएका दशरथचन्द नगरपालिका–४ को बबेतका नारायण बडु (६०) राजतन्त्र ढलेपछि पालैपालो शासन गरिरहेका नेताहरु एकअर्कालाई गालीगलौज गर्नमै केन्द्रित भएको देखेर दिक्क छन् ।

‘राजतन्त्र ढलेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल लगायतका नेताहरुले पालैपालो शासन गरेको हामी समान्य मान्छेलाई थाहा नभएको होइन । एकअर्कालाई गाली गरेर यिनीहरु हामी जनतालाई समेत लडाएर फाइदा लिन्छन्’, बडु भन्छन्, ‘ओलीको यो अभियान ल्याएको पनि भोटकै लागि हुनुपर्छ । भोट माग्न अनेक आश्वासन बाँड्छन् । यिनीहरुबाट अब पार लाग्दैन । विकल्प जरुरी भइसक्यो ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?