+
+

एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ९:५२

१५ मंसिर, पोखरा । अघिल्लो आर्थिक वर्ष एम्बुलेन्समा जडान गरिएका जीपीएसको म्याद गुज्रदा पनि नवीकरण गर्न नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवीकरणका लागि परिपत्र जारी गरेको छ ।

मन्त्रालयका सचिज डा. विनोदविन्दु शर्माले मंगलबार केन्द्रीय स्वास्थ्य मन्त्रालयसहित गण्डकी प्रदेशका सम्पूर्ण सम्बन्धित संघसंस्थालाई एम्बुलेन्सको जीपीएस नवीकरण गर्न परिपत्र जारी गरेका हुन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका ऐन २०७८ को १४ अनुसार गण्डकी प्रदेशले अघिल्लो वर्ष असोजदेखि विभिन्न चरणमा गण्डकीमा चल्ने एम्बुलेन्सहरुमा जीपीएस जडान सुरु गरेको थियो । मन्त्रालयका अधिकृत बुद्धिसागर अधिकारीका अनुसार उक्त जीपीएसको म्याद एक वर्ष हुन्छ ।

गत आर्थिक वर्षमा गण्डकीमा १२२ वटा एम्बुलेन्सले जीपीएस दर्ता गरेका थिए । स्वास्थ्य मन्त्रालय काठमाडौंले पनि थप ८ वटा एम्बुलेन्स दिएको थियो । ‘गण्डकीमा एउटामात्रै क वर्गको, ख वर्गको २४ वटा एम्बुलेन्स र बाँकी अरु छन् । त्यसमा क वर्गले रिन्यू गरिसक्यो । ख वर्गको ४/५ वटाले गरेका छन् । अरुले रिन्यू गर्नै आएका छैनन्,’ उनले भने ।

गण्डकीमा सरकार, गैरसरकारी, विभिन्न संघसंस्थाले एम्बुलेन्स चलाउँदै आएका छन् । ‘अघिल्लो वर्ष अधिकांश हामीले र केही सेभ द चिल्ड्रेनको सहयोगमा जीपीएस जडान गरेका थियौं,’ अधिकारीले भने, ‘अहिले थप ५ वटामा जीपीएस जोड्ने प्रक्रियामा छौं ।’

राष्ट्रिय एम्बुलेन्स निर्देशिका ऐन २०७८ को १४ (ञ)अनुसार एम्बुलेन्समा आफैंले जीपीएस जडान र नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, उक्त व्यवस्थाको वेवास्ता गर्दै नवीकरण गर्न नआएपछि मन्त्रालयले परिपत्र नै जारी गर्नु परेको हो ।

प्रदेशले जडान गरिदिएका जीपीएस अधिकांश मंसिर लागेसँगै म्याद गुज्रिसकेका छन् । अधिकृत अधिकारीका अनुसार निर्देशिका अनुसार एम्बुलेन्समा जीपीएस नराखे सञ्चालन अनुमति पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?