+
+

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा २० लाख कुकुर छोडिदिने कृषकहरुको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १२:५०

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव आएसँगै कृषकहरु सरकारसँग आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् ।

‘कुकुर पाल्ने कृषकहरु सरकारको यो प्रस्तावबाट निकै आक्रोशित छौँ । सरकारले गरेको प्रस्ताव फिर्ता नलिए हामी २० लाख कुकुर सडकमा छोडिदिनेछौँ’, कृषक जुयो ओङ्ले भने ।

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ ।

सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ । सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार कुकुर उत्पादनका लागि १ हजार भन्दा बढी फार्म रहेका छन् । यस्तै ३४ वटा वधशाला र १६०० वटा रेस्टुराले कुकुरको मासु बेच्छन् ।

कुकुरको मासु प्रतिबन्ध लगाउनुअघि सरकारले यससँग सरोकार राख्ने सबै व्यापार व्यवसायलाई तीन वर्ष समय दिने भनेको छ । यस्तै अन्य पेशा तथा व्यवसाय थालनीका निम्ति अनुदान समेत दिने सरकारको प्रस्ताव छ । सत्तारुढ पिपल पावर पार्टीले प्रतिबन्धपछि मासुका लागि कुकुर बिक्री वितरण गरेमा ५ करोड रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

यो विधेयकमाथि छलफलका लागि ४४ सांसद सहभागी छन् । कुकुरको मासु प्रतिबन्धको सबैभन्दा ठूलो वकालत गर्ने व्यक्ति फस्ट लेडी हुन् । उनी आफैंले पाँचवटा बिरालो र ६ वटा कुकुर पालेकी छिन् । विगतमा पनि दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रयास गरिएको थियो । तर निकै ठूलो प्रदर्शनका कारण सरकार पछि हटेको थियो ।

दक्षिण कोरियामा कुकुरको मासु खाने चलन सय वर्ष पुरानो हो । कुकुरको मासुले शीतलता प्रदान गर्ने विश्वास त्यहाँ रहेको छ । सन् २०२३ मा ह्युमन सोसाइटी इन्टरनेशनल नामक संस्थाले गरेको सर्वेक्षणले ८६ प्रतिशत दक्षिण कोरायालीले कुकुरको मासु खाने देखाएको थियो । तीमध्ये ५७ प्रतिशत कुकुरको मासु प्रतिबन्धको पक्षमा थिए ।

कुकरको मासुका परिकारका सवालमा त्यहाँ विभिन्न विवाद भइरहन्छन् । कुकुर घर पालुवा जनावरका रुपमा प्रख्यात भएसँगै कोरियाली चलनलाई क्रुरताका रुपमा व्याख्या भइरहेछ । कुकुर पालक कृषक संघका अध्यक्ष जोऊले आफू सार्वजनिक स्वास्थ्य र क्रुरताको सवालमा जानकार रहे पनि सुरक्षा मापदण्ड पालना गरेर कुकुर पालन हुनुपर्ने र यसले पशुपालनकै मान्यता प्राप्त गर्नुपर्ने बताउँछन् ।

सन् २००८ मा कुकुर पालनलाई अन्य पशुपालनझैँ बर्गीकरण गर्ने प्रयास भए पनि पशुअधिकारकर्मीहरुले विरोध जनाएका थिए ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा कोरियाको प्रभाव विस्तार भइरहेको समयमा कुकुरको मासु खपत गर्न नहुने अधिकांशको मत छ । ‘विदेशीहरुले कोरियालाई सांस्कृतिक शक्तिका रुपमा लिइरहेको अवस्थामा र विश्वमा कोरियाली पप शैलीले ख्याती कमाइरहँदा कुकुरको मासु खपतको हाम्रो शैलीबाट विदेशी नै त्रसित हुने अवस्था छ’, प्रतिपक्षी दलका सांसद ह्वेन ये भन्छन् ।

गत वर्ष अमेरिकाको न्यूजर्सीमा कोरियाली विद्यार्थीहरुको भ्रमण कुकुरको मासु प्रकरणकै कारण रोकिएको थियो । कुकुरको मासु प्रतिनबन्धको प्रस्तावलाई अधिकारकर्मीहरुले स्वागत गरिरहेछन् । यता, कृषकहरुले भने राष्ट्रपति कार्यालय तथा विधायकहरुको घरमा २० लाख कुकुर छोडिने चेतावनी दिइरहेछन् ।

टाइम म्यागजिनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?