+
+

अस्मिता अधिकारीको अमेरिका टुर : ४५ दिनमा १२ सहरमा कन्सर्ट  

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १४:१८

काठमाडौं । गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा- भोल्युम वान’ नाम दिइएको कन्सर्ट न्युयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डालस, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस, ह्यारिसबर्गसहितका सहरमा भएको थियो ।

दशैं र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्सासको डालसबाट कन्सर्ट सुरु भएको थियो । नोभेम्बर २५ मा भर्जिनियामा कन्सर्ट समापन भयो । अस्मिताको यो पहिलो अमेरिका टुर हो ।

एउटै यात्रामा अमेरिकाका १२ सहरमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेसनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्ट सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरीय कन्सर्ट स्थलमा कार्यक्रमको आयोजना भएका थिए ।

‘यस क्षेत्रमा काम गरेको डेढ दशक अवधिमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा पायौं,’ आयोजक शरद युवराज सिंहले बताए ।

उनले भने, ‘आफूलाई यसरी स्थापित गर्दै गएकी छन् कि जुन आजको संगीतको बजारमा दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौं ।’ नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक ल्याउन अस्मिताले योगदान दिएको उनले बताए ।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’ सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिमझिम भो, फूलैफूल दिन्छौ कि लगायत दर्जनौं लोकप्रिय गीत गाएर दर्शकलाई झुमाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?