+
+

एनसेलको स्वामित्व बिक्रीबारे छानबिन गर्न समिति गठनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते २१:१४

१९ मंसिर, काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र उसलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारले बताएको छ ।

यसबारे छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको भन्दै वक्तव्यमा भनिएको छ, ‘प्रचलित कानुनी प्रावधान, अन्तर्राष्ट्रिय विधिको पालना, यस्ता क्रियाकलापबाट दुरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने अवसर, राजश्वमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।’

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठक छ, त्यही बैठकले सम्भवत छानबिन समिति बनाउनेछ । छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सरकारले बताएको छ ।

मन्त्री शर्माका अनुसार दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि बल्ल एनसेलले मंगलबार मात्र पत्र पठाएको छ ।

अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न जरुरी देखिएको भन्दै उनले भनिन्, ‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ ।’

यसमा कतिपयले प्रधानमन्त्री र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देवउालाई समेत जोडेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘जे उठेको छ, त्यसमा कुनै सत्यता छैन । यदि त्यसमा सत्यता हुन्थ्यो भने सरकारले यस्तो निर्णय गर्ने थिएन ।’

सरकार राष्ट्रहितप्रति प्रतिवद्ध रहेको भन्दै उनले नियम विपरीतका कुनै पनि क्रियाकलाप मान्य नहुने बताइन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका थिए ।

छलफलमा सहभागी नेताहरुले उक्त घटनालाई शंकास्पद भन्दै छानबिन गर्न सरकारलाई सुझाव दिएका थिए । ‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?