+
+

प्यारापाइलट निस्सिमको मृत्युपछि बाबुको छटपटी : ‘दर्जनौं पटक दुर्घटनास्थल पुगेँ, मनै मान्दैन’

'छानबिन गर्न हारगुहार गर्दा कसैले सुनेन'

अमृत सुवेदी अमृत सुवेदी
२०८० मंसिर २० गते २०:४४
निस्सिम थापा

२० मंसिर, पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाडिङतर्फ स्वर्ण जित्ने सपना निस्सिम थापाले मात्रै होइन, उनका बुवा प्रकाशले पनि देखेका थिए । किनकी प्रकाशलाई विश्वास थियो, निस्सिमको मिहिनेत र लगावले यसपटक स्वर्ण पदक लिएर घर फर्किने छ र परिवारमा अर्को खुसी थपिने छ ।

तर खुसी होइन, दुःखद् खबर आइपुग्यो । नवौं राष्ट्रिय खेलकुदमा ‘क्रस कन्ट्री प्याराग्लाइडिङ’ इभेन्टकै क्रममा ज्यान गयो । ३० असोज २०७९ मा सराङकोटबाट टेक अप गरेर ५०/६० मिटर माथि पुगेका निस्सिम ग्लाइड फनफनी घुम्दै भुइँमा बजारिएका थिए । ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो र आकाशतिर उड्दै जानुपर्ने उनी भुईंमा खस्न पुगे ।

प्रकाश दम्पत्तिको एक्ला सन्तान हुन्, निस्सिम । निस्सिमकै लागि उनीहरुले सबथोक त्याग्न तयार थिए । त्यही सन्तानलाई राष्ट्रिय प्रतियोगिता खेल्दाखेल्दै गुमाउनु पर्दाको पीडा प्रकाश दम्पतिलाई सही नसक्नु थियो । मृत्युपछि भएपनि निस्सिमलाई मानार्थ स्वर्णपदक प्रदान गरियो । पुरुष फुटबलतर्फ नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठले पहिलो गोल उनै निस्सिमप्रति समर्पित गरे । त्यसैले प्रकाश दम्पत्तिलाई आश थियो, घटनाबारे अनुसन्धान होला, नेपाली सेनामा अनुवन्ध भएर प्लाराग्लाइडिङ प्रतियोगितामा भाग लिने क्रममा ज्यान गुमाएका छारोको मृत्युको कारण खुल्ला ।

तर निस्सिमको मृत्युबारे अनुसन्धान नै नभएपछि थापा दम्पत्तिको मन भने जलिरह्यो । घटनाको छानबिन गर्न अनुनय गर्दै उनीहरुले पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई भेटे, राष्ट्रिय खेलकुद परिषद (राखेप)सम्म पुगे ।

प्याराग्लाइडिङको अनुमति दिने नागरिक उड्डयन प्राधिकरण हुँदै खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालयसम्म हारगुहार गर्दै पुगे । तर आश्वासनबाहेक अरु केही पाएनन् । ‘निस्सिमले ज्यान गुमाएको डेढ वर्ष हुन लागिसक्यो । छानबिन गर्न माग गर्दै म कहाँ पुगिन होला ? तर कसैले अनुसन्धान नै गरेन’ प्रकाशले भने ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र पौडेल नेपालीलाई ज्ञापनपत्र बुझाउँदै निस्सिमका बुवा प्रकाश

उनलाई लाग्छ, नवौं राष्ट्रिय खेलकुदमा तयारी पुगेकै थिएन, प्याराग्लाइडिङतर्फ सम्पूर्ण तयारी गरिएकै थिएन । त्यही कारण निस्सिमले ज्यान गुमाए ।

तर सरकारले छानबिन गर्न चाहेन/आवश्यक ठानेन । राष्ट्रिय खेलकुद परिषदले सामान्य औपचारिकता पूरा गर्दै निस्सिमको मृत्युमा दुःख व्यक्त गर्यो ।

राज्य र सरोकारवाला निकायले आवश्यक नठाने पनि एउटा बाबुको मन किन मान्थ्यो र ?

‘दर्जनौं पटक निस्सिम खसेको ठाउँमा पुगेर घन्टौं बिताएको छु । त्यो ठाउँ हेर्छु र खेलको तयारी सम्झिन्छु । मनै मान्दैन,’ प्रकाश भन्छन्, ‘प्याराग्लाडिङको टेक अप नजिकै भवन बनिरहेको छ र त्यहाँ आकासतिर फर्किएका तीखा रडहरु थिए । त्यही निर्माणाधीन भवनकै रडमा परेर निस्सिमले ज्यान गुमायो ।’

सराङकोटको पहिले प्याराग्लाडिङको टेक अप हुने ठाउँ ननिकै पोखराको केसी ग्रुपले भवन बनाइरहेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने भएपछि त्यो ठाउँबाट प्याराग्लाइडिङको टेक अप सारिएको हो ।

प्रकाशको दाबी छ, ‘कुन चाहिँ देशमा समान्य तयारी र अनुमान पनि नगरी राष्ट्रिय खेल खेलाइन्छ ? टेक अप गर्ने ठाउँ नजिकै निर्माणाधीन भवनको रड छोप्ने वा त्यसमाथि कुनै फर्म राख्ने गरेको भए पनि उसको ज्यान जाँदैनथ्यो । खस्दाखस्दै निस्सिमले त्यो निर्माणाधीन भवनको रडबाट जोगिन खाजेर पनि सकेन ।’

निस्सिम थापा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई नेपाललाई चिनाउन सफल निस्सिम पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा एमए समाजशास्त्र द्वितीय वर्षमा अध्ययनरत थिए । निस्सिमले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । राष्ट्रिय खेलकुदमा आठौंबाटै प्याराग्लाइडिङलाई समावेश गरिएको हो । पोखरामा भएको प्रि–वर्ल्ड कपमा पनि निस्सिमले एउटा उपाधि जितेका थिए ।

देशभर प्याराग्लाइडिङ प्रतिबन्ध लगाइएका बेला नवौं राष्ट्रिय खेलकुदमा भने प्याराग्लाइडिङलाई निरन्तरता दिइयो । नागरिक उड्डयन प्राधिकरणको अनुमति पनि लिइएको थिएन ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एशोसिएसन (नेफा) काठमाडौंका पदाधिकारीहरुले गैरकानूनी रुपमा खेलाएको भन्दै निस्सिमका बुवा प्रकाश भन्छन्, ‘उनीहरुले लाखौं रकम पेश्की लिएर दुरुपयोग गरेका छन् । यस बाहेक प्याराग्लाइडिङको तयारीको लागि आएको धनराशी पनि दुरुपयोग गरेका हुनसक्छ । त्यसैले छानबिनको माग गरेको हुँ ।’

नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङका सेफ्टी डाइरेक्टरको पनि कमजोरी देखिएको प्रकाश बताउँछन् । उडान निर्देशन गलत समयमा भएको र प्रतियोगिताको भिडियो रेकर्ड समेत नराखिनु गलत भएको उनको दाबी छ । ‘मेरो छोराको त ज्यान गइसक्यो । तर प्याराग्लाइडिङ क्षेत्र कसरी विकृत भएको छ । कसरी स्वार्थको चंगुलमा छ भन्ने विषय डरलाग्दो छ,’ प्रकाशको अनुरोध छ, ‘मेरो चाहना यो क्षेत्र सुरक्षित बनोस् र निस्सिमजस्ता अरुले ज्यान नगुमाउन् भन्ने हो ।’

प्रकाशले छोरा निस्सिमको नाममा फाउण्डेसन नै बनाएर सामाजिक काम गर्दै आएका छन् भने नस्सिमको यादमा किताब नै बन्ने गरी कथाहरु लेखेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?