+
+

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १७:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।

मंगलबार झापाको एक बैंकमा कार्यरत कर्मचारीलाई ऋण नदिएको भन्दै केही व्यक्तिले उठाएर प्रहरी चौकी पुर्‍याएका थिए । सोही घटनाप्रति लक्षित गर्दै तीन संस्थाहरुले पछिल्लो समय केही व्यक्ति-समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको, अराजक व्यवहार देखाएको र आक्रमण गरिएको जनाइएको छ ।

‘झापा बिर्तामोडस्थित एक वाणिज्य बैंकको शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरुमाथि यस प्रकारको दुर्व्यवहार हुनु निन्दनीय भएको बैंक र वित्तीय संस्थाका छाता संस्थाहरुको भनाइ छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले भयरहित काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन् ।

 ‘बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?