+
+

०.४९ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा निक्षेप राख्दै बैंक, शुक्रबार २५ अर्ब तरलता खिच्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १९:१९

२१ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका छन् । बुधबार र बिहीबार लगातार दुई दिन निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तरलता खिचिसकेको केन्द्रीय बैंकले शुक्रबार पनि थप २५ अर्ब तरलता खिच्ने भएको छ ।

बिहीबार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको थियो । जसमा बैंकहरुले ०.४९ प्रतिशत ब्याजदरमै निक्षेप राख्न प्रस्ताव पेश गरेका छन् । २५ अर्बको निक्षेप संकलन उपकरणमा बैंकहरुले ६४ वटा प्रस्ताव पेश गर्दै ४६ अर्ब ७० करोडको लागि आवेदन दिएका हुन् ।

जसमा न्यूनतम ०.४९ प्रतिशत ब्याजदर र अधिकतम १ प्रतिशत ब्याजदरको प्रस्ताव गर्दा ०.८३४९ प्रतिशत औसत ब्याजदर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा औसत ब्याजदर ०.७०४८ प्रतिशत कायम भएको थियो । जसमा बैंकहरुले अधिकतम ब्याजदर ०.८४९९ प्रतिशत र न्यूनतम ब्याजदर ०.५८९७ प्रतिशत प्रस्ताव गरेका थिए । बुधबारको भन्दा बिहीबार औसत ब्याजदर केही बढे पनि न्यूनतम ब्याजदर भने घटेको छ । १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३७ वटा आवेदनमा ३६ अर्ब ९५ करोडको प्रस्ताव परेको थियो ।

मंसिर लागेपछि मात्रै राष्ट्र बैंकले ८० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिचेको छ । अहिले पनि बैंकिङ प्रणालीबाट खिचेको ४५ अर्ब तरलता राष्ट्र बैंकसँग रहेको छ । २१ मंसिर आज पनि १० अर्बको निक्षेप संकलन उपकरणमा म्याद सकिएपछि १४ दिनको लागि २५ अर्ब तरलता खिचेको हो । १७ मंसिरमा खिचेको १० अर्ब तरलताको अवधिक २४ मंसिरमा सकिंदैछ । त्यसअघि २२ मंसिरमा केन्द्रीय बैंकले थप २५ अर्ब तरलता निक्षेप संकलन उपकरण बोलकबोल मार्फत खिच्न लागेको हो । शुक्रबार १४ दिनका उक्त तरलता खिच्न लागेको हो ।

आर्थिक वर्ष २०७८-७९ मा चरम तरलता अभाव झेलेका बैंकहरुले गत आर्थिक वर्ष २०७९-८० को पहिलो र दोस्रो त्रैमाससम्म राष्ट्र बैंकबाट तरलता सुविधा उपयोग गरिरहेका थिए । तर गत आर्थिक वर्षको निक्षेपको तुलनामा कर्जा विस्तार ज्यादै न्यून भएको र चालु आर्थिक वर्षमा पनि हालसम्म निक्षेपमा भएको वृद्धि भन्दा कर्जा विस्तार न्यून देखिन्छ । चालु आर्थिक वर्ष लागेपछि १५ मंसिरसम्म निक्षेप २ खर्ब ९ अर्बले विस्तार हुँदा कर्जा भने १ खर्ब २५ अर्ब मात्रै विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा विस्तार न्यून हुँदा सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण परिचालन गरिसक्दा समेत बैंकिङ प्रणालीमा अधिक तरलता छ ।

राष्ट्र बैंकको २० मंसिरसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तर बैंक ब्याजदर १.०३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक ब्याजदर ब्याजदर करिडोर अन्तर्गतको निक्षेप संकलन दर भन्दा तल गएमा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने बताएको थियो । तर बैंकिङ प्रणालीमा अधिक तरलता भएर दिनदिनै निक्षेप संकलन उपकरण बोलकबोल गर्दा समेत उक्त व्यवस्था भने कार्यान्वयन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?