+
+

पोर्चुगलका प्रस्तावित राजदूत भन्छन् : रोनाल्डो नेपाल ल्याउन पहल गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १९:१४

२२ मंसिर, काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ ।

त्यस अगाडि सुनुवाइ समितिले नेपालको नामका सम्बन्धमा परेको उजुरीमाथि छलफल गरेको थियो । उजुरीकर्ताको उजुरी सुनेपछि प्रस्तावित राजदूत सनिल नेपालसँग छलफल गरेको समितिले नाम अनुमोदन गरेको हो ।

सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । ६ महिना, एक वर्ष, दुई वर्ष र चार वर्षभित्र के कस्ता काम गर्ने भनी योजना बनाएको सुनाउँदै उनले योजना अनुसार काम हुन सके/नसकेको समीक्षा गर्ने बताए ।

सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । नयाँ दूतावास खोलेर त्यहाँ राजदूतका रुपमा नेपाललाई पठाउने सरकारको निर्णय छ ।

१४ पृष्ठ लामो कार्ययोजनामा उनले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए ।

उनका अनुसार पोर्चुगलमा २१ हजार नेपाली रहेको औपचारिक तथ्याङ्क छ । तर, अनौपचारिक तथ्याङ्क अनुसार थप ३९ हजार नेपाली रहेका छन् । ३९ हजार नेपालीलाई पनि औपचारिक हुने प्रक्रियाका लागि सहजीकरण गर्ने उनको पहिलो प्राथमिकतामा छ ।

नेपालमा पोर्चुगलबाट आउने पर्यटकहरु सानो संख्यामा रहेको भएपनि निरन्तर बढिरहेको तर, कोरोना भाइरसको महामारीपछि कम भएको उल्लेख गर्दै प्रस्तावित राजदूत नेपालले त्यसलाई बढाउन पहल गर्ने बताए । त्यसका लागि भारतको गोवा आउने पर्यटकलाई नेपालको हिमाल देखाउने गरी ‘समुन्द्रदेखि सगरमाथासम्म’ अभियान चलाउने नेपालको कार्ययोजना छ ।

आफू राजदूत भएर गएको पहिलो वर्ष कम्तीमा १० हजार पर्यटक नेपाल भित्र्याउने नेपालको लक्ष्य छ । ‘यसमा सफल हुने गरी काम गर्ने विश्वास दिलाउन चाहन्छु’, नेपालले भने ।

त्यस्तै नेपाल र पोर्चुगलका खेलाडीको दुवै देशमा भ्रमणका लागि पहल गर्ने प्रस्तावित राजदूत नेपालको प्रतिवद्धतामा सांसद रमेशजंग रायमाझीले प्रश्न गरे, ‘रोनाल्डोलाई किन नल्याउने ? रोनाल्डोलाई ल्याएर नेपालको हिमाल देखाउन पाए हुन्थ्यो कि !’

जवाफमा प्रस्तावित राजदूत नेपालले रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए । ‘मेरो मनमा थियो, कार्ययोजनामा राखौं झैँ लागेको थियो तर, साह्रै महत्वकांक्षी हुनुभएछ भन्ने होला भनेर नराखेको हुँ । तर, रोनाल्डोलाई नेपाल भ्रमण गराउन भरमज्दुर प्रयास गर्छु’, प्रस्तावित राजदूत नेपालले भनेका छन् ।

कृषिमा प्रशिक्षार्थी कामदार

पोर्चुगल कृषिमा आफ्नो ढंगले अगाडि बढेको र सफल मुलुक भएको उल्लेख गर्दै प्रस्तावित राजदूत नेपालले पोर्चुगलबाट धेरै विषय सिक्नुपर्ने बताए । त्यसका लागि नेपालबाट कृषिमा प्रशिक्षार्थी लैजान पहल गर्ने उनको प्रतिवद्धता छ ।

‘अर्निङ र लर्निङ दुवै हुने गरी जान सकियो भने त्यसले व्यक्ति र देशको पनि हित गर्छ भन्ने लाग्छ’, नेपालले भनेका छन् ।

नेपाल र पोर्चुगलबीच श्रम सम्झौता भएको छैन । श्रम सम्झौताका लागि आफू गएदेखि नै पहल गर्ने उनको प्रतिवद्धता छ ।

आफू यूवा भएको र युवाले अवसर पाए काम गरेर देखाउँछन् भन्ने पुष्टि गर्ने उनको प्रतिवद्धता छ । सुनुवाइ समिति सदस्य रमेश लेखकले संसदमा युवा सांसदहरु बढेको उल्लेख गर्दै युवा राजदूतले काम गर्न नसके अर्को पटक संसदमा युवा सांसदको संख्या घट्न सक्ने भन्दै प्रस्तुत कार्ययोजनाको कार्यान्वयनको आधार माग गरे ।

जवाफमा प्रस्तावित राजदूत नेपालले ६ महिनामै केही न केही रिजल्ट आएको सन्देश प्रवाह हुने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

गत कातिक २३ गते सरकारले सनिल नेपाललाई पोर्चुगलको राजदूतका लागि सिफारिस गरेको थियो । नेपाली कांग्रेस निकट उनी राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा काम गरेको बताउँछन् ।

सुनुवाई समिति सदस्य इश्वरी घर्तीले कुटनीतिक क्षमताको कमी रहेको भनी गूनासो आएको बताएकी थिइन् । जवाफमा नेपालले आफूले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक रुपमा हुने कार्यमा लामो समयदेखि काम गर्दै आएको बताए ।

प्रस्तावित राजदूत नेपालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?