२४ मंसिर, बुटवल । रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् ।
रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।
भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका छन् ।
प्रदर्शनमा सहभागीहरुले विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसंग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

सरकारले माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सरोकारवालालाई भेटेर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।
‘एक महिनाअघिदेखि आन्दोलन घोषणा गरेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझायौं तर माग सम्बोधन हुने छांटकांट नदेखेपछि सडकमा उत्रिनुको विकल्प भएन’, ज्ञवालीले भने, ‘विमानस्थललाई हेरेर होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेको छ, तर अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायी लगानी डुब्ने चिन्तामा छन् ।’
माग सम्बोधन नभएपछि व्यवसायीहरु बाध्य भएर सडकमा उत्रिएको सञ्जालका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए । डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेपनि झण्डै एक वर्षदेखि रोकिएको छ । हाल विमानस्थलबाट बुद्ध, यती, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरिरहेका छन् ।
सिद्धार्थ सञ्जालसंगै नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी र सिद्धार्थ उद्योग वाणिज्य संघ पनि अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै छुट्टै आन्दोलनमा छन् । उनीहरुले निजी क्षेत्रका विमान कम्पनी नआए पनि नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट नियमित सेवा सुरु गर्नुपर्ने व्यवसायीको माग छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशतलाई अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गर्न दिइएको छुट थप एक वर्ष निरन्तरता दिनुपर्ने व्यवसायीको माग छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4