+
+

पाँच महिनादेखि रोकियो सिमेन्ट उद्योगको खानी नवीकरण फाइल

सिमेन्ट उद्योगहरुले साउनमै खानी नवीकरणका लागि विभागमा निवेदन दिए पनि अहिलेसम्म पनि कसैको पनि नवीकरण भएको छैन ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर २४ गते १८:२७
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । गत साउन दोस्रो साता एक बहुराष्ट्रिय सिमेन्ट उद्योगले आफ्नो चुनढुंगा खानी नवीकरणका लागि खानी तथा भूगर्भ विभागमा फाइल पेश गर्‍यो । नियमानुसार आवश्यकताका सबै कागजात पुर्‍याएर पेश भएको फाइल मंसिर तेस्रो सातामा पनि टुंगिएको छैन ।

उक्त कम्पनीका एक जना उच्च तहका कर्मचारीका अनुसार यस बीचमा करिब ५ वटा थप कागजात विभागले माग गरेको छ । माग गरेअनुसारकै विवरण फाइलमा थप पठाइएको छ । तर फाइल एक तल्लाबाट माथिल्लो तल्लामा उक्लिएको छैन ।

‘नवीकरण गर्न नपाउँदा उद्योगले गरेका कतिपय कामहरु अवैध जस्तो भएको छ । अन्य सरकारी कार्यालयमा पेश गरेका कागजात पनि रोकिएको छ,’ कम्पनीका ती कर्मचारी भन्छन्, ‘हरेक दिन गयो । ढोकामा उभिएर नमस्कार गर्‍यो । झ्यालमा रुँगेर सर काम भयो भन्यो । प्रक्रिया पुगेको छैन भन्ने जवाफ सुन्यो, फर्कियो भएको छ ।’ काम हुन्छ कि हुन्नसमेत पनि नभनी दुःख दिने र झुलाउने काम गरिएको भन्दै ती कर्मचारी विभागसँग चिढिए ।

आर्थिक वर्षकै सुरुवाती महिनाको पहिला साता रिद्धिसिद्धि सिमेन्टले पनि आफ्नो चुनढुंगा खानी नवीकरणको फाइल विभागमा पेश गरेको थियो । अघिल्ला वर्षसम्म बढीमा १० दिनमा सकिएको सो नवीकरणको फाइल मंसिरको तेस्रो साता सकिंदा पनि टुंगो नलागेको एक कर्मचारीले बताए । ‘कागजपत्र एक पछि अर्को थप गर्दै मागिरहेका छन् । तर नवीकरणको प्रमाणपत्र अझै दिएका छैनन् । यस्तो भएपछि कसरी काम गर्ने ?’ उनी भन्छन् ।

खानी विभागमा फाइल रोकिएर घुमेका अर्का एक सिमेन्ट उद्योगका कर्मचारीका अनुसार भूगर्भको कर्मचारी संरचना र काम गर्ने प्रणाली सेवाग्राहीका लागि रिङ्गटा छुट्ने खालको छ । ‘कर्मचारीले एउटा काम तीन दिनमा गर्छन् भन्ने मान्यता नै राख्दा पनि सेवाग्राही चहार्ने झ्याल र कोठा ५ वटा बनाइएको छ,’ उनी थप्छन्, ‘तर पनि ५ महिनामा पनि काम हुन्न ।’

केही वर्षअघिसम्म स्वभाविक हिसाबले करिब एक सातामा टुंगिने यस्ता फाइल अहिले आधा वर्ष गुजार्न लाग्दा पनि नटुंगिएपछि आजित भएको भन्दै उनी अहिले आफ्नो गुनासो बोकेर उद्योग मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाइरहेका छन् । सबैतिरबाट आश्वासन पाउँछन् तर सिमेन्ट र क्लिंकर उत्पादन गरिरहेको उद्योगको खानी नवीकरणको प्रमाणपत्र पाइरहेका छैनन् ।

पछिल्लो पाँच महिनामा खानी तथा भूगर्भ विभागबाट सिमेन्ट र खानीको नवीकरण नपाएर हैरानी खेप्ने उद्योगको संख्या एक दर्जन हाराहारीमा छ । विभागमा हालसम्म नवीकरणका लागि घोराही, शिवम्, होङ्सी, हुवासिन, अन्नपूर्ण क्वारिज, रिद्धिसिद्धि, सर्वोत्तम, सिजी, युनाइटेड, मेगा माइन, बाराही क्वारिज, सौर्य, सम्राट र मारुती सिमेन्ट लगायतका कम्पनीले आवेदन दिएका छन् । तर कसैले पनि खानी नवीकरणको प्रमाणपत्र पाएका छैनन् ।

सिमेन्टको खानी नवीकरणमा साह्रै हैरानी खेपेको सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले बताए । आर्थिक वर्षको आधाउधी समय गुज्रिन लाग्दासमेत नवीकरण नपाएको भन्दै उनले यसको जवाफ सरकारसँग माग गरे । ‘उद्योगलाई गरिखानसमेत अप्ठयारो पर्नेगरी सरकारी निकायले काम गर्नुहुन्न,’ अध्यक्ष न्यौपाने भन्छन्, ‘कि उद्योगहरुले पेश गरेका फाइलको समस्या भन्दिनुपर्‍यो । कि त समस्याको गाँठो फुकाउनुपर्‍यो । अल्झाएर राखेर हामी समस्यामा मात्रै परिरहेका छौं ।’

सधैंजसो प्रशासनिक काम लिइरहनुपर्ने विभाग, प्राविधिक सेवाका कर्मचारी भएका कारण उच्च पदमा खासै सरुवा नहुने कर्मचारी प्रणालीजस्ता कारणले विभागविरुद्ध सेवाग्राहीहरु सितिमिति बोल्न चाहँदैनन् । तर एकपछि अर्को अप्ठ्यारोमा पारेर कामै अवरुद्ध भएपछि भने उनीहरु विभागविरुद्ध खुलमखुला बोल्न थालेका छन् । आफ्नो समस्या माथिल्लो निकायसम्म पुर्‍याउन थालेका छन् ।

सिमेन्ट उद्योगका एक भुक्तभोगीका अनुसार सिमेन्ट उद्योगले लिएर गएको नवीकरणको फाइल सबैभन्दा पहिले दर्ता शाखामा जान्छ । दर्ताबाट तोकका लागि महानिर्देशकको कोठामा पुग्छ । महानिर्देशकले दर्ताका लागि तोक लगाएपछि उपमहानिर्देशकको कोठामा जान्छ । उनले उक्त फाइल रुजु गरेपछि सम्बन्धित महाशाखामा पुग्छ । सिमेन्टको खानी नवीकरणको फाइल खनिज सम्पदा महाशाखा जान्छ । त्यहाँबाट उपसचिवकहाँ जान्छ भने त्यहाँबाट शाखा अधिकृत (जिओलोजिस्ट वा माइनिङ इन्जिनियर)को कोठामा जान्छ । यसरी फाइल दर्ता गरेर सकिएपछि केही दिनपछि आउन भनिन्छ । ती कर्मचारीकाअनुसार त्यसको केही दिनपछि पुग्दा अब सबैभन्दा पहिले यसअघि फाइल आइपुगेको अधिकृतको झ्याल र ढोकामा सेवाग्राही पुग्नुपर्छ ।

ती कर्मचारी भन्छन्, ‘अब फाइल उठान अधिकृतको झ्यालमा हरेक दिन नमस्कार गर्नुपर्छ । पछिल्ला वर्षहरुमा करिब तीन दिनमा यो शाखाबाट फाइल उठ्थ्यो तर अहिले महिनौं उठ्दैन । अधिकृतबाट उठे उपसचिवकोमा रोकिन्छ, त्यहाँबाट गए महाशाखा प्रमुख र उपमहानिर्देशक हुँदै महानिर्देशकको कोठामा रोकिन्छ ।’

सिमेन्ट उद्योगहरुको आरोपअनुसार अहिले फाइल रोकिनुमा विभागका महानिर्देशक रामप्रसाद घिमिरे मुख्य जिम्मेवार छन् । आर्थिक वर्ष सुरु भएयताको दिनमा एकपछि अर्को फाइल रोकिइरहँदा उनी पनि तेस्रो पटक विदेश भ्रमणमा छन् । केही दिनअघि मात्रै युरोपबाट नेपाल फर्किएका उनी फेरि २५ दिनका लागि अमेरिका उडेका छन् ।

आफ्नो हरेकजसो विदेश भ्रमणको अनुपस्थितिमा विभागको जिम्मेवारी घिमिरेले वरिष्ठ सहचिव जयराज घिमिरेलाई तोकेका छन् । कार्यालयको निमित्त जिम्मेवारी लिएका घिमिरे १० बजे कार्यालय आउँछन् र हाजिर गरेर सचिवको तालिमका लागि ललितपुर हान्निन्छन् ।

विभागकै अधिकारीहरुका अनुसार सचिव बढुवाका लागि आवश्यक पर्ने तीनमहिने सेवाकालीन तालिम उनले लिइरहेका छन् । उनी दिनको ३ बजे मात्रै कार्यालय आइपुग्छन् । ‘मुख्य जिम्मेवार हाकिम प्राय: कार्यालयमा हुन्नन्,’ विभागकै एक अधिकृत भन्छन्, ‘कतिपय काम विवादस्पद पनि हुने भएकाले कायममुकायम जिम्मेवारी पाएकाले कामको जोखिम उठाउँदैनन् ।’

विभागकी प्रवक्ता मोनिका झाले कुनै पनि फाइल नरोकेको र सेवाग्रहीलाई दिने सेवामा कुनै समस्या नभएको दाबी गरिन् । कार्यालयमा जनशक्ति अभाव भएका कारण कामको चाप बढेको उनको भनाइ छ । जनशक्ति थप गर्न मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा आग्रह गरे पनि आर्थिक कारण देखाउँदै त्यसलाई अस्वीकार गरिएको उनी बताउँछिन् ।

विभागका निमित्त महानिर्देशक महानिर्देशक जयराज घिमिरे भने उद्योगहरुको नवीकरणको विषय उनीहरुले दाबी गरेभन्दा फरक रहेको बताउँछन् । नवीकरण नभए पनि खानी उत्खनन नरोकिएको उनी बताउँछन् । ‘उद्योगहरुले विभागले राखेका केही सर्त पूरा गर्न अस्वीकार गरिरहेका छन्,’ उनी भन्छन् ।

आर्थिक वर्षको पहिलो तीन महिना र थप ३५ दिनसम्म नवीकरण गर्न सकिने कानुनी प्रावधान छ । तर यस वर्षदेखि नवीकरणमा पेश हुने लेखा विवरण र खानीमा तौल पुल राख्ने सम्बन्धमा उद्योगहरुले नियमको पालना नगरेको उनको भनाइ छ । आफूले पालना गर्नुपर्ने सर्तहरु पालना नगरी विभागविरुद्ध आरोप लगाउने काम भएको घिमिरेको दाबी छ ।

‘अघिल्लो वर्षसम्म खानीको छुट्टै वित्तीय लेखापरीक्षण प्रतिवेदन चाहिन्नथ्यो तर अहिले चाहिन्छ । यस्तै खानीमै तौल पुल राखिनुपर्छ,’ निमित्त महानिर्देशक घिमिरेले भने, ‘तर सर्तहरु पूरा नगर्ने उद्योगहरु धेरै छन् ।’ उद्योगहरुले सरकार र विभागसँग गरेको समझदारी कार्यन्वयन गरिनुपर्ने भन्दै उनले नियमित काममा जनशक्ति अभाव रहेको भने बताए । प्रक्रिया पुगेका फाइलहरु विभागले छिट्टै टुंग्याउने उनको भनाइ छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?