+
+

‘जलवायु परिवर्तन रोक्न सकिंदैन, अबको प्रमुख मुद्दा अनुकूलन हो’

विकास रोकामगर विकास रोकामगर
२०८० मंसिर २५ गते २०:३२

२५ मंसिर, पोखरा । मंसिर २१ गते हिमपात हुँदा पोखरादेखि नजिकैका माछापुच्छ्रे, अन्नपूर्णलगायत सेताम्मे बने । त्यो दिन धेरैको आँखा माछापुच्छ्रेतिर सोझिए । सामाजिक सञ्जालमा फोटो राख्दै धेरैले लेखे, ‘आहा ! कति राम्रो खुलेको माछापुच्छ्रे ।’

तर, उनीहरुको खुसी धेरै दिन टिकेन । अघिल्लो दिन सेताम्मे बनेको हिमाल पछिल्लो दिनदेखि कालो हुँदै गयो । चौंथो दिनमै माछापुच्छ्रेमा हिउँमात्र होइन, हिमश्रृंखला नै देख्न मुश्किल पर्‍यो ।

‘पहिले सानो हुँदा हिमाल सधैं पूरा सेतै देखिन्थ्यो । अहिले त देखिन्छ कि देखिँदैन, छ कि छैन भन्ने हुन्छ’, सानैदेखि माछापुच्छ्रेलगायत हिमश्रृंखलामा भइरहेको परिवर्तन नियाल्दै आएका अध्येता डा जगन्नाथ अधिकारी भन्छन्, ‘विदेशीहरु आएर कहिलेकाहीं त डज इट रियल्ली एक्जिस्ट ? भनेर पनि सोध्छन् ।’

सरोकारवालाका अनुसार पछिल्लो समय हिमालमा हिउँ तीव्र रुपमा पग्लिनेमात्रै होइन, हिमालमा हिउँ अडिनै छाडेको छ । जसका कारण हिउँ परेको केही समयमै हिमाल फेरि काला पत्थरमै परिणत हुन थाल्छ ।

अत्याधिक हिउँ पग्लिँदा पछिल्लो समय बेमौसममै हिम पहिरो जाने र हिमतालहरु सुक्दै जान थालेका छन् । जलवायुसम्बन्धी अध्येताहरुको निष्कर्ष छ, ‘यो सबै जलवायु परिवर्तनले गर्दा भइरहेको तापक्रम वृद्धिको असर हो ।’

पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा सोमबार जलवायु परिवर्तनले पारेको असरबारे ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो ।

बहसमा अध्येता अधिकारीसँगै पत्रकार कुन्द दीक्षित, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन वक्ता थिए । उनीहरु सबैले एकै मत राखे, ‘जलवायु परिवर्तन रोक्न सकिँदैन, अबको प्रमुख मुद्दा अनुकुलन हो ।’

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । उनले तल्लो भेगमा ‘खेलाँची’ गर्दा त्यसको असर माथिल्लो भूभागका हिमाली क्षेत्रले भोग्नु परिरहेको सुनाए ।

‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ’, उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’

पत्रकार कुन्द दीक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने सुनाए ।

‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो’, दीक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’

दीक्षितले जलवायु परिवर्तनलाई वातावरणीय समस्यासँगमात्रै नभएर आर्थिक र राजनीतिकरणसँग पनि दाँज्नुपर्ने बताए । जलवायु परिवर्तनले गर्दा भविष्यमा ठूलो आर्थिक संकट आइपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनसम्बन्धी लामो अध्ययन गरेका डा. जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुश्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवनमा नै असर गरिरहेको बताए ।

‘पहिलेपहिले एउटा किसानहरुको एउटा फिक्स क्यालेन्डर थियो । कुनबेला रोप्ने, कुनबेला भित्र्याउने सबै योजनाबद्ध रुपमा हुन्थ्यो’, उनले भने, ‘तर, पछिल्लो समय मौसम पूर्वानुमान नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

इसिमोडकी डा अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्र्याउने बेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् ।

‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्’, डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’

पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए । त्यसमा सौर्यसहित विद्युतीय ऊर्जालाई बढीभन्दा बढी प्रयोग गर्न सकिने उनको सुझाव थियो ।

तर, अर्का वक्ता डा घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई जलविद्युतबाट उत्पादित उर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने चेतावनी दिए ।

‘नेपालमा पानीको मुख्य स्रोत यहाँका हिमालय हुन् । तर, हिउँ पग्लिँदै जाँदा केही वर्षमा पानीको स्रोत सकिन्छ । त्यसपछि अहिले खुलेका हाइड्रोको अवस्था के हुन्छ ? कसरी चल्छन् ?’, उनले भने, ‘हामीले पानीका स्रोतलाई जसरी पनि बचाउनुपर्छ ।’

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायु अनुकुल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे ।

‘यो नेपालको हिन्दुकुश हिमालय क्षेत्रको मात्रै समस्या होइन । सबै क्षेत्रमा समस्या बढिरहेको छ’, डा महर्जनले भनिन्, ‘हिमाल पग्लेर त गयो । अब त्यसलाई उल्ट्याउन सकिँदैन । अब हामीले जलवायु अनुकुल वातावरण खोज्नुबाहेक अर्को उपाय छैन ।’

वक्ता डा गुरुङले जलवायु परिवर्तनसँग अनुकूलन हुन यसलाई नै व्यावसायिक ढंगले प्रयोग गर्न सकिने बताए । नेपालमा परम्परागत कृषिमा आधारित वातावरणीय संस्कृति रहेकाले त्यसलाई अंगाल्न सकिने बताए ।

‘म सानो हुँदा मुक्तिनाथमा तरकारी नै फल्दैन थियो । तर, अहिले तापक्रम बढ्दै जाँदा त्यहाँ उत्पादन हुन थालेको छ’, उनले भने, ‘यसलाई अवसरसँग जोड्न किन नसक्ने ?’

आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए ।

उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?