+
+
ब्लग :

लैङ्गिक स्वतन्त्रताको विद्रोह, विवाह बेगर आमा

भावनात्मक सम्मान र सहअस्तित्वको निर्माण, आपसी सद्भाव र सुसम्बन्ध हुँदाको अवस्थामा विवाहलाई समय अनुसार परिष्कृत गर्दै लैजानुपर्छ । पुरुषप्रधान समाजले अझै पुरुष पात्रहरूले पक्कै यो (बिहे बेगर आमा बन्ने) कुरालाई सजिलै स्वीकार गर्न सक्दैन र पनि महिला स्वतन्त्रताको निम्ति हामी निरन्तर लडिरहनुपर्छ नै ।

लक्ष्मी बिसी लक्ष्मी बिसी
२०८० मंसिर २६ गते १४:३३

विवाहको अर्थ स्त्री र पुरुषबीच पति-पत्नीको सम्बन्ध कायम गराउने धार्मिक/सामाजिक प्रक्रिया हो । विवाह भइसकेपछि बर-बधूले संयुक्त जीवनको अभ्यास गर्छन् । सँगसँगै आर्जन गर्ने, उपभोग गर्ने, सन्तानोत्पादन र वंश हस्तान्तरणको कर्तव्य पूरा गर्ने गर्छन् । यसरी संयुक्त जीवनका लागि केटीलाई केटाको घर लैजाने आम अभ्यास बनेको छ । यदाकदा पुरुषलाई विवाह गरेर लैजाने चलन पनि पाइन्छ ।

आदिम समयमा विवाह-बन्धनको प्रचलन थिएन । आदिमकालमा महिला र पुरुष दुवै स्वतन्त्र थिए । दुवैलाई स्वेच्छिक कामसुखको अधिकार थियो ।

तर मातृसत्ताको पतन भएर पितृसत्ताको उदय हुनुमा सम्पत्तिमाथि उत्तराधिकारी खोजी गर्नु थियो । त्यसै क्रममा एकनिष्ठ विवाह र पतिव्रत्य कठोर अनुशासन बाध्यकारी बनाउन पुगेको माक्र्सवादी चिन्तक फ्रेडरिक एंगेल्सको अवधारणा पाइन्छ ।

प्राणीशास्त्री चाल्र्स डार्बिनका अनुसार भने विवाह संस्था मानव समाजमा जीवशास्त्रीय आवश्यकताका कारणले उत्पन्न भयो । यसको मुख्य कारण आफ्नो वंशको सुरक्षा वा वंशलाई निरन्तरता र सुरक्षित बनाउनु थियो ।

तर बिस्तारै विवाहप्रति धारणा परिवर्तन हुँदै आएको छ । औद्योगिक विकास पछाडि विवाहको स्वरूप फेरिएको छ । त्यसको मुख्य कारण भौतिकवादी दृष्टिकोण हो ।

जब समाज विकसित हुन थाल्यो/भयो, बिस्तारै विवाह संस्थामा पनि परिवर्तन भइरहेको छ । आधुनिक र प्रविधियुक्त समाजसम्म आइपुग्दा मानिस जातिको शैक्षिक, सामाजिक, सांस्कृतिक चेतमा विकास हुँदै गएको छ ।

उनीहरूको सोचाइ, जीवन जिउने तरिका फराकिलो हुँदै गएको छ । विवाहप्रतिको लगाव कम हुँदै गएको देखिन्छ । त्यसैले विवाहलाई धेरै महत्व दिएको पाइँदैन ।

जबकि ‘जसको जन, उसको धन’ भन्ने उखान प्रचलनमा रहनुले हिजो विवाह र सन्तानप्रति कुन तहको गौरवबोध थियो भन्ने प्रष्ट हुन्छ । यो उखान विशेषगरी कृषि युगमा भएको हुनुपर्छ । किनकि त्यस्तो समाजमा जसका धेरै संख्याको परिवार हुन्थ्यो, ऊ समृद्ध कहलिन्छ ।

समाजमा समृद्ध कहलिन धेरै श्रीमती विवाह गर्ने र धेरै सन्तान जन्माउने गर्थे । ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर आशिष् दिने चलन त्यसै समयको अर्को उदाहरण हो । यसपछि पूँजीवादी प्रभाव कायम रहँदा पूँजी निर्माण, पूँजीको संरक्षण र विस्तार गर्न वंशको निरन्तरता अपेक्षा गरिन्छ ।

तर प्रविधिको विकास, करिअर निर्माण जस्ता कुराको बोझले गर्दा पछिल्लो पुस्तामा विवाह प्राथमिकतामा पर्न छोडेको देखिन्छ । कमाइ र घरव्यवहार चलाउन पति वा पत्नीको आवश्यकता कमजोर हुँदै जाँदा वंश हस्तान्तरण र यौनसुखका लागि मात्रै पनि विवाह आवश्यक होइन भन्ने सोच विकास भइरहेको छ ।

अर्कातिर पितृसत्ताको दलदलबाट उठ्न नसकेको पुरातनवादी समाजमा भने अझै लैङ्गिक असमानता, भोगवादी दृष्टिकोणले गर्दा महिलामा विवाहप्रति बोझ बढ्दै गएको पाइन्छ । यो अवस्था नेपाली समाजमा पनि विकास भइरहेको छ । उसो त पुरुषहरूमा पनि त्यस्तो अनुभूति नभएको होइन । तर पितृसत्तात्मक सोचले पनि हुनसक्छ, तुलनात्मक हिसाबले महिलामा विवाहप्रति नकारात्मक सोचको विकास भएको देखिन्छ ।

पितृसत्ताले निर्धारण गरेको सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक संरचनाले नारीलाई उसको निरंकुशताको जाँतोमा पिल्सिन बाध्य बनायो । आध्यात्मवाद लगायत धार्मिक चिन्तन र भौतिकवाद दुई विपरीत धारका दार्शनिक चिन्तन भए पनि यौनको महत्व र नारीको गरिमालाई नकारेको छैन । तर यसको आडमा समाजको दलाल वर्ग वा सामन्त वर्गले महिलामाथि अति उत्पीडन र पुरुषमाथि अति दायित्वको बोझिलो भार बोकाएको तथ्य अकाट्य छ । लैङ्गिक समानताको सवालमा नारीको भूमिकालाई भोगवादी दृष्टिकोणले हेर्ने सामन्त पितृसत्ता नै बलशाली र न्यायपूर्ण मातृसत्ता विनाशपछि निर्माण भएको इतिहास छ । आदिम मातृसत्तामा यौनिक स्वतन्त्रता थियो भन्ने तर्कलाई विशेषगरी माक्र्सवादी विचारका लेखकले परिचर्चा गरेका छन् ।

महिलाहरूलाई आदिम, वैदिक, पौराणिककालमा सबै प्रकारका स्वतन्त्रताको छुट थियो । उनीहरूलाई यौन स्वतन्त्रता भएकै कारणले आमा र बच्चाहरूको पहिचानमा समस्या हुनुको साथै उनीहरू बीचको भिन्नता दर्शाउन आमाको नामबाट परिचय खुलाउने पद्धतिको विकास भएको थियो । जुन आमा प्रधान व्यवस्थाको महत्वपूर्ण भूमिका थियो । बच्चाहरूको भौतिक संरक्षण, सीपको हस्तान्तरणको जिम्मेवारी महिलामा थियो । यो प्राकृतिक रूपमै आमाबाट सजिलो हुने कुरा प्राणीविज्ञानको विश्लेषणबाट पनि बुझ्न सकिन्छ । आफूले कस्तो पुरुषको संसर्गबाट बच्चा जन्माउने भन्ने अधिकार वैदिककालदेखि आमामा नै थियो ।

यसरी जन्माइएका बच्चाहरू बलिया, स्वस्थ र स्वतन्त्र चिन्तनयुक्त र आविष्कारमा सफल हुने खालका थिए । क्रमशः मानव समाज विकासमा सीमितता र साँघुरो सम्बन्धका सीमाभित्रबाट निरन्तर हुँदै आएको सृष्टिको चक्रले मानिसलाई कम क्षमतावान्, कम बलवान् बनाइरहेको छ । यसको मनोवैज्ञानिक विश्लेषण गर्ने हो भने विवाहका नियमहरूले खुम्च्याउँदै लगेको यौनिक स्वतन्त्रता र यसले असर गरेको जैविक तथा मनोवैज्ञानिक सीमालाई नै लिन सकिन्छ ।

हाम्रो पितृसत्तात्मक परम्परागत सोच, जाति, धर्म, रीतिरिवाज, चालचलन, संस्कृति आदिका कारण महिलालाई हेप्ने, विभेद गर्ने परम्परा कायमै छ । विवाहका लागि शिक्षित र सक्षम महिला खोजिने तर विवाहपश्चात् ती महिलाको शिक्षा र सक्षमताको कदर नगर्ने गरेका उदाहरण पनि हाम्रो समाजमा छन् । परम्परागत रूपमा चलिआएका गतिविधि र पारिवारिक जिम्मेवारी थाम्नु, जागिर तथा व्यवसायलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने बाध्यता आजका महिलासामु छ ।

एकै पटक दोहोरो, तेहेरो भूमिका निर्वाह गर्नुपर्दा महिलाको जीवन झन् झन् कष्टपूर्ण देखिन थालेको छ । पारिवारिक रूपमा गरिने सेवाको न कुनै मूल्य छ, न मान्यता नै । त्यसकारण पछिल्लो शिक्षित, आर्थिक रूपमा आत्मनिर्भर, समाज र राजनीति बुझेका महिलाहरूले विवाह र परिवारलाई झञ्झटिलो संस्थाका रूपमा लिएको देखिन्छ ।

प्रविधिको विकास र मानव चेतनाको वैज्ञानिक विद्रोहले फेरि एक पटक सन्तान जन्माउने र सृष्टिको निरन्तरता दिनको लागि पुरुष बीजको छनोट गर्ने स्वतन्त्रता महिलामा आइसकेको छ । टेस्टट्युव बेबीको प्रविधिले महिलाहरू सन्तानोत्पादनका लागि निश्चित पुरुषसँग उसको इच्छा वा समाजले देखाएका नियममा बाँधिएर सिंगै जीवन बिताउनुपर्दैन ।

समाजमा आफू स्वतन्त्र र सम्मानित जीवन बिताउन अन्तरनिर्भरको समय पार गरेर आत्मनिर्भर नै भइसकेको छ । यसकारण महिलाहरूले अपमान, अन्याय, अत्याचार र पीडा सहेर परिवार वा विवाह जोगाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

भावनात्मक सम्मान र सहअस्तित्वको निर्माण, आपसी सद्भाव र सुसम्बन्ध हुँदाको अवस्थामा विवाहलाई समय अनुसार परिष्कृत गर्दै लैजानुपर्छ । अन्यथा विद्रोहको एउटा नयाँ चरणलाई विज्ञानले पनि साथ दिएर निर्माण भएको यो अवस्थामा विवाह बेगर नै आमा अर्थात् स्वतन्त्र आमाको नयाँ युग निर्माण गर्न पनि पछि पर्नुहुँदैन । पुरुष प्रधान समाजले अझै पुरुष पात्रहरूले पक्कै यो (बिहे बेगर आमा बन्ने) कुरालाई सजिलै स्वीकार गर्न सक्दैन र पनि महिला स्वतन्त्रताको निम्ति हामी निरन्तर लडिरहनुपर्छ नै ।

अन्ततः अझै हामी पितृसत्तात्मक समाजमा नै छौं । हामी महिला र पुरुष समान हौं भनेर समानताको लागि लड्नु त छँदैछ र त्यसका लागि महिलाहरू शिक्षित, सक्षम र स्वनिर्भर हुन आवश्यक छ । यसका लागि राज्यसत्ताले उचित व्यवस्था गर्नैपर्छ । महिला सशक्तीकरण, हकअधिकार र स्वतन्त्रताको लागि ऐन, नियम, कानुन र नीति–निर्देशिका र त्यसको कार्यान्वयन पक्ष मूलतः महिलाकेन्द्रित हुन आवश्यक छ ।

संविधानप्रदत्त हक–अधिकार प्राप्तिका लागि पनि संघर्ष गर्नैपर्ने बाध्यताले संविधान र ऐन–कानुन भएर मात्र हुँदोरहेनछ, यसको कार्यान्वयन पक्ष पनि उत्तिकै मात्रामा सशक्त हुनुपर्छ भन्ने सत्यको बोध भएको छ । वस्तुतः महिला सशक्तीकरणले महिला–पुरुष लगायत समग्र समाजलाई फाइदा पु¥याउँछ भन्ने सत्य नबुझ्दासम्म लैंगिक समानतायुक्त समाजको परिकल्पना गर्न सकिंदैन ।

अन्त्यमा प्रदीप ज्ञवालीद्वारा लिखित ‘सांस्कृतिक रूपान्तर एक विमर्श’ नामक पुस्तकमा उद्धृत कमला भासिनको शब्द सापटी लिएर भन्नुपरेको छ, ‘महिला तथा पुरुषको मुक्तिको प्रक्रिया आपसमा अभिन्न र सम्बन्धित छ । हाम्रो समाजमा महिलाका लागि पितृसत्तात्मक पिंजडालाई तोडेर बाहिर आउन त्यति बेलासम्म गाह्रो छ, जबसम्म पुरुषले त्यस दिशामा आन्दोलन सुरु गर्दैनन् ।

पितृसत्ता विरुद्ध पुरुषको आन्दोलन कुनै दयावान पितृत्व अन्तर्गत हुनुहुँदैन । स्वयम् आफ्नो मानवीय सम्मान र गरिमालाई पुनः दोस्रोपटक स्थापनाका लागि हुनुपर्छ । पुरुष स्वयंले आफ्नो सम्मान कसरी गर्न सक्छन्, यदि महिलाका लागि उनीहरूका मनमा कुनै सम्मान नै छैन भने ?’

लेखिका सेन्ट्रल नर्मल चाइना युनिभर्सिटीमा सोसल वर्कमा स्नातकोत्तर गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?