+

कर्णाली महिला फुटबलको ऐतिहासिक दिन

२०८१ वैशाख  २० गते १६:२३ २०८१ वैशाख २० गते १६:२३
कर्णाली महिला फुटबलको ऐतिहासिक दिन

२० वैशाख, सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बिहीबार भएको खेलमा घरेलु टिम कर्णालीले गण्डकीलाई हरायो । यो जितसँगै कर्णाली महिला फुटबल टिमका लागि ऐतिहासिक दिन बन्यो ।

खेलकुदको क्षेत्रमा हुर्किंदै गरेको प्रादेशिक महिला टिमका लागि इतिहास रच्ने दिन बन्यो वैशाख २० । महिला लिगको छनोटका क्रममा ७ प्रदेशले एक अर्कासँग प्रतिस्पर्धा गर्दै शीर्ष तीनमा स्थान बनाउन कोसिस गरे ।

चार टिम असफल हुँदा घरेलु टिम कर्णालीलाई घरेलु मैदानमा, घरेलु दर्शकका अगाडि खुसी साट्ने मौका मिल्यो ।

मिहिनेतको मिठो स्वाद कर्णाली महिला फुटबलले पायो । तुलनात्मक रूपमा कमजोर मानिंदै आएको कर्णाली प्रदेशले पछिल्लो समय खेलकुदलाई दिएको महत्व महिला फुटबल टिमको प्रदर्शनमा देखिएको छ ।

गण्डकीसँग बिहीबार अन्तिम खेलमा २–० को जित हात पार्दै कर्णाली महिला लिगका लागि छनोट भएको हो । यसलाई प्रशिक्षक भोजबहादुर खत्रीले कर्णाली महिला फुटबलको ठूलो उपलब्धिको संज्ञा दिए । ‘खेलेको पहिलो पटक महिला लिगमा छनोट हुनु हाम्रो लागि ऐतिहासिक उपलब्धि हो ।’

कर्णाली महिला फुटबल टिम वामे सर्दै गरेको अवस्थामा छ । हुन त यस टिममा उमेर समूहमा खेलेका खेलाडीहरू समेत छन् ।

साढे २ वर्ष पश्चात केही गतिशील बन्न थालेको महिला फुटबलमा कर्णालीले एक कदम अगाडि पाइला सार्‍यो । यसअघि कहिल्यै पनि महिला लिग नखेलेकाले पहिलो पटकमै छनोट हुँदा प्रदेशमा महिला फुटबललाई उकास्ने माध्यम मिलेको प्रशिक्षक खत्रीले बताए ।

उनले भने, ‘महिला फुटबललाई अझै माथि उकास्न जिल्ला र प्रदेशले यू १०, १२ जस्ता उमेर समूहका खेललाई ग्रासरुटबाट सुरु गरे कर्णाली प्रदेशको फुटबल विकास हुन सक्छ ।’

कसरी बन्यो कर्णाली टिम ?

महिला फुटबलमा पहिलो पटक ७ प्रदेशलाई छनोट खेल खेलाइएको छ ।

१०औं राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा जुटेको कर्णाली प्रदेशले लिग छनोट गर्न २० लाख रुपैयाँ दिने भएपछि कर्णालीले महिला लिग छनोटको प्रतियोगिता गर्न पाएको हो । यसैको फल यस प्रदेशले पाएको छ ।

१०औं खेलकुदका लागि संरचनागत हिसाबले प्रदेश सरकारबाट करिब १ अर्ब ५० करोडभन्दा बढी बजेट विनियोजन भएको छ । बजेटको कमी नभएको र पूर्वाधारको अवस्था सन्तोषजनक रहेका कारण खेलाडी उत्पादन र खेलाडीको स्तरोन्नतिमा पनि कर्णाली प्रदेशको ध्यान तानिएको छ ।

केही उमेर समूहका र केही सिनियर खेलाडीसहित कर्णालीले महिला लिग छनोटको लागि टिम बनाएको थियो । ‘मैले खेलाडीहरूलाई पहिलेदेखि प्रशिक्षण गरिरहेको थिएँ । यसै प्रतियोगितामा पनि पाँचौं खेल राम्रो खेल्न सकेका थिएनौं । जसका कारण अन्तिम खेलमा हामीलाई ३ अंक चाहिएको थियो । त्यहीअनुसार रणनीति बनायौं र सफल पनि भयौं,’ प्रशिक्षक खत्रीले भने ।

उनले आगामी दिनमा विभागीय टिमसँग प्रतिस्पर्धा गर्न आफ्नो टिमलाई थप सुधार र परिमार्जनको जरुरत रहेको बताए ।

जर्सी नम्बर १० वर्षा वली

प्रशिक्षकका अनुसार यो पटक स्नातक र कक्षा १२ को परीक्षाले पनि लिगमा केही खेलाडी उपस्थिति हुन सकेनन् । कर्णालीकी अब्बल मध्येकी फरवार्ड सुनकला राईले परीक्षाका कारण लिगको अन्तिम खेल खेल्न पाइनन् ।

महिला लिग खेल्न टिमले विदेशी तथा अन्य छनोट नभएका प्रदेशका टिमबाट समेत खेलाडी ल्याउन पाउने नियम छ । तर कर्णाली प्रदेश बाहिरको खेलाडी नल्याई आफ्नै खेलाडीलाई मैदानमा उतार्ने तयारीमा रहेको प्रशिक्षक खत्रीले बताए ।

‘हाम्रो खेलाडी पोजिसन बिल्ड गरेर खेल्न सक्छन् । तर डिफेन्समा सुधार चाहिएको छ, अब हाम्रो ध्यान त्यता रहन्छ,’ प्रशिक्षक खत्रीले भने, ‘कम्तीमा पनि ४ हप्तामा बन्द प्रशिक्षणमा राखेर कर्णालीकै खेलाडीलाई सुधार गर्दै लैजाने सोचमा छौं ।’

कर्णालीको जितमा महत्वपूर्ण सदस्य बनेकी र उमेर समूहमा राष्ट्रिय टिमको सदस्य रहेकी १६ वर्षीया वर्षा वली पनि कर्णालीसँगै पहिलो पटक महिला लिग खेल्नेछिन् ।

उमेर समूहमा यू १७ र यू १९ प्रतियोगिता खेलिसकेकी उनको लक्ष्य नेपालका लागि दोस्रो ‘साम्बा’ बन्ने छ । उनी सावित्रा भण्डारी (साम्बा)लाई निकै पछ्याउँछिन् ।

उमेर समूहमा राष्ट्रको प्रतिनिधित्व गरेकी वली भन्छिन्, ‘राष्ट्रिय टिममा र प्रदेशमा खेल्दा धेरै फरक अनुभव हुँदो रहेछ । जे भए पनि सिनियर दिदीहरूसँग मिलेर खेल्दा राम्रो नतिजा आयो ।’

वली टिमको लागि मुख्य राइट विंगरको रूपमा खेलिरहेकी हुन्छिन् । छनोट लिगको अन्तिम तथा निकै महत्वपूर्ण खेलमा भएको दुवै गोलमा वर्षा ‘नायक’ बनेकी थिइन् ।
पहिलो गोल उनको नाममा रह्यो भने दोस्रो गोलका लागि असिस्ट गरिन् । वलीले लिगमा तीन गोल गरेकी छन् ।

कर्णाली महिला फुटबल महिला लिग छनोट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय