+
+

हक्कीको वार्षिक कार्यक्रम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते २०:०२

२६ मंसिर, काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली हकी फेरि सक्रियता देखाउन थालेको छ । नेपाल हकी संघले मंगलबार आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गर्दै यस वर्ष विभिन्न ७ प्रतियोगिता गर्ने जनाएको छ ।

डेभलपमेन्ट अफ नेशनल स्पोर्ट्स सिस्टम-डीएनएसएस लेभल टु कोर्सको समापन कार्यक्रमको अवसरमा संघले वार्षिक कार्यक्रम पनि सार्वजनिक गरेको हो । जसमध्ये पहिलो कार्यक्रम अन्तर्गत रहेको हकी कोचेज ट्रेनिङ डीएनएसएस लेभल टु कोर्स मंसिर २० देखि २६ गतेसम्म सम्पन्न भइसकेको छ ।

यसअघि डीएनएसएस लेभल वान कोर्स र एफआईएचए-एएचए नेपाल नेशनल अम्पाइरिङ कोर्स पनि सम्मपन्न भइसकेको छ ।

प्रतियोगिताहरुबाट नै खेल प्रतिभाको पहिचान गर्न सकिने र प्रतियोगिताले नै खेलाडीलाई पलयान हुनबाट रोक्न सकिने भन्दै संघले प्रतियोगिताको सूची सार्वजनिक गरेको हो ।

यसबाहेक संघले सहाना प्रधान राष्ट्रिय महिला हकी च्याम्पियनसिप र गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हकी प्रतियोगितालाई निरन्तरता दिंदै केही नयाँ प्रतियोगिता समेत गर्ने जनाएको छ ।

सहाना प्रधान महिला हकी आगामी फागुनमा काभ्रेको धुलिखेलमा र गिरिजाप्रसाद कोइराला पुरुष हकी चैतमा विराटनगरमा गर्ने कार्यक्रम छ ।

यस्तै नगरपालिका स्तरीय हकी प्रतियोगिता आगामी पुसमा हेटौंडामा हुनेछ ।

यसैगरी मदन भण्डारी कप महिला हकी राष्ट्रिय प्रतियोगिता माघ अन्तिम साता जनकपुरमा गर्ने तालिका छ । यस बाहेक महिला र पुरुष दुवैको प्रदेश स्तरीय हकी च्याम्पियनसिप आगामी वैशाखमा हेटौंडा/चितवनमा हुनेछ भने महिला र पुरुक्ष दुवैको इन्डोर हकी प्रतियोगिता आगामी जेठमा पोखरामा गर्ने तयारी छ ।

यस्तै भेट्रान्स कप पनि काठमाडौंमा अर्को वर्ष गर्ने कार्यक्रममा समावेश छ ।

वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा नेपाल हकी संघका अध्यक्ष अनिलप्रसाद शर्माले प्रशिक्षक र अम्पायरको प्रशिक्षणपछि संघ प्राविधिक रुपमा सबल भएको र अब यसलाई फिल्डमा प्रभावकारी ढंगले लागू गर्ने बताए ।

२०११ सालमा सातौं खेलको रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हकीको राम्रो इतिहास भए पनि वर्तमानमा भने हकी गुमनाम जस्तै बनेको थियो ।

तर दोस्रो साधारण सभाबाट अनिल शर्माको नेतृत्वमा नयाँ समिति चयन भएपछि अहिले हकी संघले फेरि नेपालको हकीलाई ब्युँताउने प्रयास गरिरहेको छ ।

‘हकी इतिहास बोकेको खेल हो । पछिल्लो समयम यो खेल चर्चामा थिएन । अब नयाँ कार्यसमिति बएपछि हामीले लेभल वान र लेभल टु कोचिङ कोर्स र अम्पायर कोर्स गरिसकेका छौं । अब विभिन्न प्रतियोगिताहरु गर्ने तयारीमा छौं’, संघका महासचिव सुवर्ण श्रेष्ठले भने ।

उनले अब स्कुल र स्थानीय तहदेखि नै हकी खेललाई सुरु गर्ने बताइन् ।

कार्यक्रममा हकीका पूर्व मुख्य प्रशिक्षक अशोक पाण्डेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?