+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिसिँदै काठमाडौं, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

भोलि मौसम सफा हुन्छ : मौसमविद पुडासैनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ९:१३

२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।

आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद सरोज पुडासैनीले आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिए । ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’

आज दिउँसो भने काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

पूर्वी, मध्य र पश्चिम तराईमा हुस्सु कुहिरो

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । तराई मधेशमा पनि मौसम सामान्यता सफा छ । पूर्वी, मध्य र पश्चिम तराईका केही स्थानमा आज बिहान हुस्सु–कुहिरो लागे पनि त्यो क्रमशः हट्दै गइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा वर्षाको समेत सम्भावना रहेको मौसमविद पुडासैनीले बताए । काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना नरहेको उनले बताए ।

भोलि सफा हुनेछ मौसम

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको समेत सम्भावना छ । तर राति कुनै पनि ठाउँमा वर्षाको सम्भावना नरहेको मौसमविद पुडासैनीले बताए ।

उनका अनुसार आजको तुलनामा भोलि (बिहीबार) मौसम सफा हुनेछ । ‘आजभन्दा भोलि मौसम झन् सफा हुन्छ,’ उनले भने, ‘भोलि तराई, पहाड कतै पनि पानी पर्ने सम्भावना छैन ।’

देशभरी नै प्रभावित पार्ने ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले मंगलबारदेखि चिसो मौसमी प्रणाली नेपाल प्रवेश गरेको र त्यो कम्तिमा बुधबारसम्म रहने बताएका छन् । त्यसपछि घाम लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?