+
+
साताको सेयर समीक्षा :

हाइड्रोपावरमा सबैभन्दा उच्च वृद्धि, यी हुन् धेरै मूल्य बढेका ८ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १७:५५

यो साताको सेयर बजारमा पहिलो दिन नै ६ प्रतिशत बढ्दा सर्किट ब्रेक लागेर कारोबार बन्द भयो । त्यसपछिका दिनमा सामान्यः उतारचढाव देखिए पनि बजारले ठूलो ‘करेक्सन’ लिएको छैन । आइतबार नै १११ अंक बढेपछि सोमबार १५ अंक घटेको बजार मंगलबार नै ३७ अंक बढ्यो । बुधबार ३ र बिहीबार ६ अंक बढेपछि यो साता १९९४ विन्दुमा सेयर बजार बन्द भएको छ, गत साता १८५२ विन्दुमा थियो ।

समग्रमा यो साता बजार ७.६ प्रतिशत अर्थात् १४२ अंक बढेको छ । सेयर बजारको अंक मात्रै होइन, कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम दुई गुणाभन्दा धेरै बढेको छ । गत साता ५ दिन खुलेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यो साता पनि ५ दिन नै कारोबार हुँदा १६ अर्ब ६७ करोडको कारोबार भयो ।

आइतबार ९ मिनेटमा ४८ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार ४ अर्ब ८४ करोड, मंगलबार ४ अर्ब ३० करोड, बुधबार ३ अर्ब ९० करोड र बिहीबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कुन क्षेत्रका सूचक कति बढे ?

गत साता समग्र बजार घट्दा पनि निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.४१ प्रतिशतले बढेको थियो । यो साता भने जलविद्युत् समूह सबैभन्दा धेरै ११. ८७ प्रतिशतले बढेको छ । हाइड्रोपावर निकै तल्लो विन्दुमा झरेपछि गत साता उल्लेख्य वृद्धि देखिएको छ । हाइड्रोपावर समूह अन्य समूहको तुलनामा सुरक्षित पनि मानिन्छ ।

‘बैंकिङमा कर्जा नउठ्ने जोखिम देखिएको छ, पूँजीकरणका आधारमा बैंकिङपछि ठूलो समूह हाइड्रोपावर हो,’ लगानीकर्ता पिताम्बर खकुरेलले भने, ‘हाइड्रोपावरमा आयोजनाबाट विद्युत् नियमित उत्पादन भइरहन्छ, न आम्दानीको समस्या, न पैसा नउठ्ने समस्या ।’ त्यस्तै माइक्रोफाइनान्स समूहमा पनि यो साता उत्साह देखिएको छ । यो समूह ८.६९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको बैंकिङ समूहको सूचक भने जम्मा ५ प्रतिशत मात्रै बढ्यो ।

क्षेत्रगत सूचकको वृद्धिदर :

धेरै मूल्य बढेका कम्पनी :

यो साता समग्र बजार ७.६ प्रतिशत बढ्दा दोल्ती पावरको मूल्य ५५ प्रतिशत बढ्यो । थोरै मूल्यको कम्पनी र सेयर आपूर्ति पनि थोरै नै भएकाले निश्चित समूहले कम्पनीको मूल्य बढाएको देखिन्छ । गत साता प्रतिकित्ता २१२ रुपैयाँ रहेको यो कम्पनीको मूल्य यो साता ३३० रुपैयाँ पुग्यो । प्रतिसेयर नेटवर्थ जम्मा ७८ रुपैयाँ छ ।

हाथवे इन्भेस्टमेन्ट, नेपाल रिपब्लिक मिडिया, आखुखोला जलविद्युत्, मानुसी लघुवित्त र सोनापुर सिमेन्टको सेयरमा पनि निश्चित समूह हाबी भइ मूल्य बढाएको पाइन्छ । बोटलर्स नेपाल भने आफैंमा मजबुत रहेको छ । सस्तो मूल्यमा सेयर बिक्री गर्नेहरु प्रायः छैनन् । प्रतिसेयर नेटवर्थ नै ३ हजार २२४ रुपैयाँ छ भने बजार मूल्य ३ हजार ५९१ रुपैयाँ छ ।

कस्तो रहला आगामी साता ?

सरकारले ‘भूतप्रभावी’ कर लिन गरेको नीतिगत व्यवस्थापछि सरकारविरुद्ध बैंकहरुको तर्फबाट परेको रिट सर्वोच्चले खारेज गरेसँगै यसको असर आगामी साताको सुरुका दिनमा पर्ने देखिन्छ । रिट खारेज भएसँगै बैंकहरुले विगतमा भएको मर्जर तथा प्राप्तिको ‘बार्गेन पर्चेज गेन’मा र एफपीओको प्रिमियममा समेत कर तिर्नुपर्ने भएको छ ।

जसले ठूला पूँजीकृत कम्पनी नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, शिखर इन्स्योरेन्स, स्टान्डर्ड चार्टड बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई, प्रभु बैंकजस्ता कम्पनीहरुलाई सिधा असर परेको छ । आगामी वर्ष लाभांशमा यसको असर पर्ने भएकाले लगानीकर्ताको मनोबल खुम्चिन गई आउने साताका सुरुका दिनमा नै बजार नकारात्मक रुपमा प्रभावित हुन सक्नेछ ।

यद्यपि बजारलाई प्रभाव पार्न सक्ने केही सकारात्मक पक्ष पनि देखिएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै सार्वजनिक गरेको साउनदेखि कात्तिक मसान्तसम्मको वित्तीय विवरणअनुसार अर्थतन्त्रका सूचकहरु धेरै मजबुत बनेका छन् । कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ९७ अर्ब पुगेको छ । शोधनान्तर स्थिति १ खर्ब ४६ अर्ब बचतमा छ भने मूल्यवृद्धि समेत केही घटेको छ । अर्कोतर्फ पुस मसान्तदेखि बैंकहरुले ब्याजदर घटाउनेगरी सूचना सार्वजनिक गरिरहेका छन् । यी पक्षले बजारलाई सकारात्मक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?