+
+

केपी ओलीको ‘लङ मार्च’

विशेषगरी पहाडका जनतामा आत्मविश्वास जगाउनु यो यात्राको उद्देश्य थियो । यात्राभर अध्ययन, अभिव्यक्ति र गतिविधिबाट अध्यक्ष ओलीले त्यस्तो आत्मविश्वास जगाउने काम गर्नुभयो ।

हिरामान लामा हिरामान लामा
२०८० मंसिर ३० गते ७:२३
संकल्प यात्राका क्रममा तेह्रथुमकोआठराई स्थित छातेढुंगामा तस्वी लिंदै केपी ओली ।

कर्तव्यप्रतिको इमानदारीले आगो र पानीको पर्वाह गर्दैन भनिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियताले त्यही उक्ति पुष्टि गर्छ । ७२ वर्षको उमेरमा पनि अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गमा चलेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को नेतृत्व गरिरहनुभएको छ ।

यो संकल्प यात्रा एउटा लङ मार्च पनि हो । यसमा अध्यक्ष ओलीले जस्तो उत्साह र सक्रियता देखाउनुभएको छ, त्यसले बहुआयामिक सन्देश दिएको छ ।

मंसिर महिनाको चिसो अनि राम्रोसँग बनिनसकेको सडकमा रात-दिनको नभनी गरिएकाले यात्राबाट युवा पुस्तामा विशेष ऊर्जाको काम गरिरहेको छ । किनकि हाम्रो राजनीतिक संस्कृति बिस्तारै चुनावको बेला मात्रै जनता र कार्यकर्ताबीच पुग्ने बन्दै गएको छ । जनताभन्दा टाढा पुगेकै कारण पुराना दलहरू काम लाग्दैन भन्ने भाष्य जबर्जस्त स्थापित गराउन खोजिंदैछ ।

तर जीवनको उत्तरार्धमा ठिटौले जोशका साथ जसरी अध्यक्ष ओली खटिनुभएको छ, त्यसले केन्द्रीकृत संगठनात्मक शैलीलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता थप पुष्टि भएको छ ।

किनकि हाम्रा नेताहरू राजधानी र सदरमुकाम केन्दि्रत हुँदै गएका छन् । बसाइँ केन्द्रीकृत हुने अनि मिडियाको वक्तव्यबाजी र सामाजिक सञ्जाल रमाउने प्रवृत्तिलाई यो यात्राले बदल्नुपर्ने सन्देश दिएको छ ।

यात्राको राजनीतिक सन्देश अझ बहुआयामिक छ । किनकि संकल्प यात्रापछि राजनीतिक आन्दोलनले नै नयाँ मोड लिएको कैयौं उदाहरण भेटिन्छन् ।

बलियो उदाहरण त उत्तरी छिमेक चीनमै भेट्न सकिन्छ । अहिलेको चीनको वैभव र कम्युनिष्ट आन्दोलनको सफलतामा माओ त्से-तुङको नेतृत्वमा चलेको लङ मार्च छुटाउन सकिंदैन ।

कमजोर र रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनको पुनर्जीवनका निम्ति माओले सन् १९३४ को अक्टोबर २२ देखि ३८१ दिन लामो लङ मार्च गरेका थिए । ८६ हजार लालसेना सहितको लङ मार्चले १० हजार किलोमिटर पार गरेको थियो ।

लङ मार्चका क्रममा चिनियाँ जनताका समस्या र भूगोलको अध्ययन भएको थियो । त्यही लङ मार्चले च्याङकाइ सेक सरकारको दमन विरुद्ध जनतालाई जागृत र एकताबद्ध हुन बल पुग्यो । त्यो अभूतपूर्व साहसकै जगमा तयार पार्टीले १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भयो । आज चीन संसारको शक्ति मुलुक भएर अगाडि बढिरहेको छ ।

गएको १४ मंसिरदेखि सुरु भएको एमालेको यात्राले पनि देशको लामो भूमि पार गरेको छ ।

भारतको उत्तराखण्ड राज्यको पिथौरागढसँग सीमा जोडिएको झुलाघाटबाट अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर सुरु यात्राले १ हजार ८७९ किलोमिटर पार गरेको छ ।

यो यात्रामा देखिएको जनलहर उत्साहप्रद छ । मध्यपहाडी क्षेत्रको पार्टी कमिटी चलायमान बन्यो । लोकमार्ग नजिकका नागरिक उत्साह ल्याएको छ । किनकि उसका अगाडि यसअघि कहिल्यै नपुगेका मुलुकको नेतृत्व पंक्ति पुग्यो । एमालेको राजनीतिक जीवन र मुलुकको इतिहासमा यस्तो यात्रा पहिलो पटक भएको छ ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भनिएको यात्राले मध्यपहाडी नागरिकलाई एउटै मालामा उनेको देखियो । बैतडीका पुराना नेता जयराज अवस्थीका बुझाइमा त पहाडी लोकतन्त्रलाई नै चलायमान बनाएको छ ।

थियोडोर रुजवेल्ट भन्छन्, ‘सफल राजनीतिज्ञ त्यही हो, जसले आम व्यक्तिका कुरा बुझिदिन्छ र चर्को स्वरले भनिदिन्छ ।’ यो यात्रामा अध्यक्ष ओलीले त्यही गर्नुभएको छ

हुन पनि पार्टीको अधिवेशन अथवा चुनावी कार्यक्रम बाहेक कहिल्यै ठूला नेता नपुग्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पूर्व रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथर भएर यो यात्रा चलेको छ ।

यात्राका क्रममा राष्ट्रिय महत्वको परियोजना भनिएको १० ठूला शहर निर्माण गरिने पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कणर्ाली, अछामको साँफेबगर र बैतडीको पाटन पुगेर नेताहरूले थप अध्ययन समेत गरेका छन् ।

के-कति कारणले यी परियोजनाले गति पाएको छैन भनेर बुझ्ने काम भएको छ । बसाइँसराइले रित्तिंदो पहाडको बस्तीसम्म पुग्ने काम भएको छ । यहाँका जनसंख्यालाई पलायनबाट रोकेर राष्ट्र निर्माणमा लगाउने विकल्पबारे प्रतिबद्धता गरिएको छ, पहाडमा समृद्धि सम्भव छ भन्ने आश्वस्त पारिएको छ । मुख्यगरी यस क्षेत्रका बासिन्दामा नयाँ ऊर्जा र उत्साह ल्याउने बारे अध्ययन गरिएको छ ।

विशेषगरी पहाडका जनतामा आत्मविश्वास जगाउनु यो यात्राको उद्देश्य थियो । यात्राभर अध्ययन, अभिव्यक्ति र गतिविधिबाट अध्यक्ष ओलीले त्यस्तो आत्मविश्वास जगाउने काम गर्नुभयो ।

स्वेट मार्डेनले भनेका छन्, ‘आशा र आत्मविश्वास नै ती वस्तुहरू हुन् जुन हाम्रो शक्तिहरूलाई जागृत गर्दछ र हाम्रो उत्पादन शक्तिलाई दुई गुणा, तीन गुणा बढाइदिन्छ ।’ अर्थात् यो लङ मार्च नागरिकमा र पार्टी पंक्तिमा ऊर्जा भर्न सहयोगी बनेको छ ।

मंसिरको चिसोबीच चलेको मार्चले व्यवस्था र संविधान विरुद्ध भइरहेको अराजकता रोक्ने शक्तिका रूपमा एमालेले थप आफूलाई उभ्याएको छ । यो यात्राको नेतृत्व गरेर अध्यक्ष ओलीले आफ्नो उचाइ पनि बढाउनुभएको छ । किनकि अरू पार्टीका नेताहरू सत्ता जोगाउन राजधानीमा तिकडम गरिरहँदा अध्यक्ष ओलीले जनताको बीच पुगेर उनीहरूको समस्या सुन्नुभयो, आफ्नो कुरा राख्नुभयो ।

थियोडोर रुजवेल्ट भन्छन्, ‘सफल राजनीतिज्ञ त्यही हो, जसले आम व्यक्तिका कुरा बुझिदिन्छ र चर्को स्वरले भनिदिन्छ ।’ यो यात्रामा अध्यक्ष ओलीले त्यही गर्नुभएको छ ।

आमसर्वसाधारण, किसान, मजदुर, प्राध्यापक, शिक्षक, नेता-कार्यकर्ता, विद्यार्थी, साना उद्योगीसँग संवाद गर्नुभएको छ । ऐतिहासिक महत्व राख्ने ठाउँ र व्यक्तिप्रति श्रद्धा प्रकट गर्नुभएको छ । शहीद दशरथ चन्द, नेकपाका संस्थापक पुष्पलाल, योद्धा रामप्रसाद राईदेखि योगमायासम्म सम्झनुभएको छ । आर्थिक सम्भावनाबारे संवाद गर्नुभएको छ ।

यात्रा भएका जिल्लाहरूमा सर्वदलीय अन्तरक्रियाकै अतिथि बनेर अध्यक्ष ओलीले मुलुकको आगामी यात्रा समृद्धि भएको सन्देश दिनुभएको छ । विशेषगरी समकालीन नेताहरूमा आफूलाई देशको समस्या र समय चिन्ने नेताका रूपमा स्थापित गर्नुभएको छ ।

(यात्राभर सँगसँगै हिंडेका लामा प्रेस चौतारी नेपालका महासचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?