+
+

‘बेस्ट सेलर’ उपन्यासकार धमाधम फिल्म लेख्दै, दृश्यभाषाको खडेरी तोडिने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १८:१६
उपन्यासकारहरु कुमार नगरकोटी, बुद्धिसागर र उपेन्द्र सुब्बा

काठमाडौं । घरेलु फिल्ममा ‘दृश्य साहित्य’को खडेरी परेको बेला पछिल्लो साता राहत मिल्ने खबर आए । राहतपूर्ण यस अर्थमा कि ५८ वर्ष लागेको नेपाली फिल्मको ठूलो ‘सेटब्याक’ भनेकै पटकथामा दृश्य साहित्य नहुनु हो । ‘औपन्यासिकता’को यो रिक्तताबीच समकालीन नेपाली साहित्यका ठूला नाम फिल्मसँग एकपछि अर्को गरी जोडिएका छन् ।

कुमार नगरकोटीले लेखेको कथामा पाका निर्माता नीर शाह फिल्म बनाउँदैछन् । चैत वा वैशाखदेखि छायांकन सुरु हुने भनिएको यो बेनामे फिल्मलाई फेन्टासी र स्वैरकाल्पनिक जनरामा राखिएको छ । केहीअघि आयोजित एक कार्यक्रममा शाहले नगरकोटीको कथामा फिल्म बनाउने जीवनको धोको रहेको बताएका थिए ।

नेपाली पाठकमाझ चर्चित अर्का आख्यानकार बुद्धिसागर यतिबेला तीन फिल्म लेखिरहेका छन् । अर्जुन कुमारसँगको ‘ब्रह्मजंगको भिडियो’, निश्चल बस्नेतसँगको ‘जिन्दावाद’ र दीपेन्द्र के खनालसँगको ‘के घर के डेरा : घर नम्बर २’ को कथा उनी लेखिरहेका छन् । तर रिलिजको हिसाबले ‘के घेरा के डेरा’को सिरिज पहिलो हुनेछ, जसको प्रदर्शन मिति आगामी तिहारलाई तय छ ।

कवि उपेन्द्र सुब्बा अहिलेका ‘ब्लकबस्टर’ फिल्म लेखक तथा निर्देशक हुन् । उनले लेखेको ‘कबड्डी ४’ घरेलु फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्म हो, जसले २४ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । उनको डेब्यु निर्देशन रहेको ‘जारी’ले १७ करोडको व्यापार गर्‍यो । सुब्बा यतिबेला दयाहाङ र मिरुनालाई शीर्ष भूमिकामा लिएर ‘मनसरा’ बनाउँदैछन्, जुन वैशाख २१ गते प्रदर्शनको तयारीमा छ ।

सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’को एडप्टेसन फिल्म सन् २०१९ मा रिलिज भयो । यो फिल्मले व्यावसायिक अब्बलता प्रमाणित नगरे पनि यसले दृश्य साहित्यतर्फ लेख्य साहित्यकारको बाटो खुला गर्‍यो । धमाधम चर्चित पुस्तकमाथि फिल्म बनिरहेपनि स्वयं पुस्तक लेखकहरु पटकथातर्फ मोडिएको यो क्षणलाई अभूतपूर्व मान्न सकिन्छ ।

चर्चित कवि समेत रहेका सुब्बा नेपाली उपन्यासकारले विश्वका फिल्म हेरिरहेको र फिल्मको सन्दर्भ पनि बुझेकाले उनीहरुले लेख्ने र बनाउने फिल्म सुन्दर हुने कुरामा आफू आशावादी रहेको बताए । नेपाली फिल्ममा लेखकको भयंकर खडेरी देखिएको समयमा यो खुसीको कुरा भएको सुब्बाको कथन छ ।

उनी भन्छन्, ‘किनभने नेपाली फिल्ममा लेखकको भयंकर खडेरी छ । थोरै प्राविधिक ज्ञान जरुरी होला । त्यो सिक्न सकिने कुरा हो, किनभने नगरकोटी, बुद्धि सागर लगायतका लेखक फिल्मप्रति क्रेजी हुनुहुन्छ । विश्वका राम्रा फिल्म हेर्नुभएको छ । फिल्ममेकर भन्दा पनि धेरै फिल्म हेर्नुहुन्छ । उहाँहरुले फिल्मको कन्टेक्स्ट बुझ्नुभएको छ ।’

‘मलाई लाग्छ, उहाँहरुले लेखेको फिल्म सुन्दर हुन्छ होला । उनको लेखनमा वर्तमान देशको समय झल्किन्छ भन्नेमा म आशावादी छु । साहित्यकार पात्र पनि राम्रो निर्माण गर्नुहुन्छ । काव्यात्मक तरिकाले बन्छ भन्नेमा म आशावादी छु,’ सुब्बा सुनिए ।

आफूले पहिलेदेखि नै अन्य नेपाली साहित्यकारलाई फिल्म लेखनमा आउन जोडबल गरेको स्मरण सुब्बाले गरे । ‘हामी लेखक कल्पना गर्छौं नै । कथा पनि त दृश्य कल्पना गरेर लेखिने कुरा हो । मलाई त यो राम्रो हो भन्छु । लेखक धेरै आउन फिल्म लेखनमा भन्ने मेरो अनुरोध पनि थियो । जोडबल पनि गर्न खोज्या हो । बढीभन्दा बढी आउन आग्रह गर्छु,’ उनले भने ।

साहित्यकारको दृश्यभाषाको यात्रालाई लेखक बुद्धिसागर सकारात्मक बताउँछन् । ‘एउटा लेखकको जे अनुभूति हुन्छ त्यसलाई शब्दमार्फत किताबमा लेख्छौं र दृश्य खोजिने चीज सिनेमामा लेखिन्छ । राम्रो स्क्रिप्ट भएपछि निर्देशकले राम्रै गर्नुहुन्छ भन्ने लाग्छ । स्क्रिप्ट राम्रो भएपछि फिल्म राम्रो बन्छ भन्ने लाग्छ,’ उनी भन्छन् ।

उनी फिल्ममा लेखक र निर्देशकबीच संवाद र समन्वय जरुरी देख्छन् । ‘स्क्रिप्ट पछाडिको पृष्ठभूमिको पनि हजारौं पृष्ठभूमि हुन्छ । लेखक र निर्देशकबीच आत्मीय सम्बन्ध भएपछि त्यो कुरा सेयरिङ हुन्छ । ब्याकस्टोरी र अवधारणा स्पष्ट भएपछि राम्रो हुन्छ । यसकारण लेखक र निर्देशकबीच समन्वयको खाँचो छ,’ बुद्धिसागर बताउँछन् ।

फिल्म लेखक तथा समीक्षक मनोज पण्डित यो प्रक्रियाले फिल्मको औपन्यासीकरण उत्कृष्ट हुने बताउँछन् । ‘नेपाली फिल्मको विकासक्रममा नाटकबाट आएका मान्छेको धेरै ठूलो विकासक्रम छ । उनीहरुले चरित्र चित्रण लगायतमा धेरै योगदान गरेका छन् । अब उपन्यासबाट आउने भए । अब औपन्यासीकरण राम्रो हुने भो,’ उनी भन्छन्, ‘फिक्सनमा काम गरेको मान्छे आउँदा नेपाली सिनेमाले कोल्टे फेर्ने सम्भावना देखिंदैछ । जसरी पनि नेपाली सिनेमाले आफ्ना कथा खोजिरहेको छ ।’

पण्डित साहित्यकार फिल्ममा आउनुलाई आशाको किरणको रुपमा व्याख्या गर्छन् । ‘नेपाली फिल्ममा बीचमा निराशाको बादल छाएको थियो । साहित्यकार फिल्ममा आउनु भनेको आशाको किरण देखिनु हो । म एकदम उत्साहित छु,’ उनी भन्छन्, ‘मैले जैले पनि नेपाली साहित्यकारलाई भन्थें– तपाईंहरुसँग कथा कवितामा काम गर्ने सामर्थ्य छ । कथासँगै न्यारेटिभको सशक्तता छ । न्यारेटिभ प्रस्तुत गर्न सक्नुहुन्छ । दृश्यको व्याख्या गर्न सक्नुहुन्छ भने दृश्यभाषाको क्षेत्रमा पनि आउनुस्, तपाईंहरुको खाँचो छ भनेको थिएँ ।’

समीक्षकले लामो समयदेखि नेपाली फिल्म दृश्य साहित्यको व्याख्या र संरचनामा उभिन नसकेको भन्दै आइरहेका थिए । पुस्तक र फिल्म लेखनबीच पाँच पुस्ताको खाडल मानिन्छ । यो खाडल पुर्ने काम दृश्य साहित्य र त्यसको कल्पनाशीलताले मात्र हुने देखिन्छ । यसका लागि बुद्धिसागरले भनेजस्तै निर्देशक र लेखकबीच समन्वय र अन्तरक्रिया जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?