![](https://www.onlinekhabar.com/wp-content/uploads/2023/09/nepal-climate-change-agriculture-pesticide-1024x683.jpg)
११ वैशाख, काठमाडौं । मुलुकमा विषादी प्रयोग गर्ने किसान यसको असरबारे सचेत नभएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणनाअन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो नतिजा देखाएको हो । नतिजाअनुसार ६ हजारभन्दा बढी वडामध्ये अधिकांशमा आंशिक सचेत भए पनि असरबारे जानकारी नभएको पाइएको हो ।
६ हजार ३६ वडामार्फत प्राप्त विवरणअनुसार ३ हजार ६ सय ५४ वडाका बासिन्दा मात्रै तरकारीमा प्रयोग हुने विषादीबारे आंशिक सचेत भएको पाइएको हो ।
बालीमा प्रयोग हुने बिषादीबारे सचेत बासिन्दा रहेको वडा संख्या १ हजार ७ सय ३६ छ । यो भनेको २८.८ प्रतिशत मात्रै हो । ६ सय ४६ वडा अर्थात् १०.७ प्रतिशत बासिन्दाले यस प्रकारको विषादी प्रयोगका सम्बन्धमा सचेत नै नरहेको बताएका छन् ।
प्रदेशगत रूपमा तुलना गर्दा सबैभन्दा बढी सचेत बासिन्दा रहेका वडा गण्डकीमा ३६.८ प्रतिशत र बागमतीमा ३६.४ प्रतिशत छन् । यसैगरी लुम्बिनीका ३०.८ र कर्णालीका ३०.७ प्रतिशत वडाका बासिन्दा तरकारी बालीमा प्रयोग गरिने बिषादीबारे सचेत रहेको गणनाले औंल्याएको छ ।
यसप्रकारको प्रतिशत कोशी, मधेश र सुदूरपश्चिमका सन्दर्भमा क्रमशः २७.४, २१.२ र २०७ रहेको उक्त नतिजाले देखाएको छ ।
४२ प्रतिशत कृषि फोहोर जलाएरै नष्ट
कृषि गणना गरिएका वडामध्ये सबैभन्दा धेरै २ हजार ५ सय ५९ वडाका बासिन्दाले कृषि कार्यबाट निस्केको फोहोर जलाएर नष्ट हुने बताएका छन् । जुन कुल गणना भएको मध्ये ४२.४ प्रतिशत हो ।
यस्तै कम्पोस्ट मल बनाएर कृषि फोहोर व्यवस्थापन गर्ने वडा संख्या १ हजार ४ सय १३ अर्थात् २३.४ प्रतिशत छ । १ हजार ६१ वडामा फोहोर गाडेर व्यवस्थापन गर्ने गरेको पाइएको छ ।
फोहोर व्यवस्थापकमार्फत नै कृषि कार्यबाट फोहोर व्यवस्थापन हुने वडा संख्या २ सय ६० छ । ३ सय ९ वडा अर्थात् ५.१ प्रतिशत वडामा फोहोर व्यवस्थापन अन्य तरिकाले गर्ने गरिएको कृषि गणना गर्दा देखिएको छ । यस्तै कृषिजन्य फोहोर व्यवस्थापन नगरी यत्तिकै छाडिदिनेको संख्या ४ सय ३४ वडा अर्थात् ७.२ प्रतिशत रहेको छ ।
कृषि प्रणाली नै रासायनिक विषादीबाट हट्नुपर्छ
नेपालका किसानले तरकारी खेतीमा गर्ने विषादीबारे नै सचेतना नभएको विषयमा राष्ट्रिय कृषक समूह महासंघ संस्थापक अध्यक्ष उद्धव अधिकारीले सरकारलाई दोष दिन्छन् ।
उनले किसानलाई व्यावसायिक खेतीका नाममा रासायिनक विष प्रयोग गर्न सरकारले नै प्रोत्साहन गरेको भन्दै चेतनास्तर निकै कम भएको बताए ।
‘आफूले तरकारी उत्पादन गर्दा प्रयोग गर्ने विषादीले मानव स्वास्थ्य, प्रकृतिमा कस्तो असर पर्छ भन्ने किसानलाई कसैले भनेन,’ उनले भने, ‘उन्नत जातको बाली लगायो, किरा लाग्न थालेपछि एग्रोभेट गएर औषधि माग्दा एग्रोभेटले व्यापार जुनमा फस्टाउँछ त्यही दिन्छन् ।’
उनले नेपाली किसानमा विषादी प्रयोग र यसको मात्रासमेत थाहा नभएको बताए । ‘कतिपय किसानले त धेरै विष हाल्दा अर्को पटकबाट सोही माटोमा खेती नै नभएको अवस्था छ,’ उनले भने, ‘तरकारीलाई हाल्ने विष जहाँ पनि जसले पनि बेचिरहेको छ । बेच्दा सचेतनाका कुरा केही छैन ।’
केही वर्ष अगाडिसम्म नेपालमा तरकारी उत्पादन गर्दा रसायनयुक्त विष नै हाल्नु नपर्ने अवस्थामा अहिले विष नहाली तरकारी उत्पादन गर्नै नसक्ने अवस्था आएको उनले बताए ।
‘किसानलाई खेती बढाउन जुन स्तरमा नेपालमा रासायनिक विष प्रयोग भयो, त्यसको प्राकृतिक रूपमा दीर्घकालीन असर त छँदैछ,’ अधिकारीले भने, ‘यसले मानव स्वास्थ्यमा पर्ने असर पनि धेरै छ, तर यसबारे चेतना सानोतिनो ढंगले गरेर हुँदैन ।’
सरकारले विषादी बेच्ने एग्रोभेटहरूलाई नियमन गर्नुपर्ने भन्दै अब जैविक विषादीमा जानुपर्ने अधिकारी सुझाउँछन् ।
‘खुर्सानीको धुलो, तितेपाती, वनमाराको रस, गौमुत्र लगायत प्रयोग गरेर जैविक रूपमा धेरै विषादीको काम गर्नुपर्छ तर रासायनिक विषमा व्यापारीहरूको कमिसन धेरै छ,’ उनले भने, ‘सरकार त्यही भएर पनि रासायनिक विष प्रयोग गर्न बढावा दिइरहेको छ ।’
अधिकारीले कृषि मोडेलमै परिवर्तन गरेर प्राङ्गारिक खेतीमा नगए दीर्घकालीन रूपमा अहिले माटोमा उत्पादन नै हुन नसक्ने खतरासमेत रहेको बताए ।
दैनिक भान्छामा तरकारीसँगै विष गइरहेको विषयमा किसानलाई तालिम, सचेतना मात्रै नभई आर्गनिक खेतीको परीक्षण र बजार पनि निश्चित गर्नुपर्ने अधिकारीको तर्क छ ।
उनको अनुसार तरकारीमा हाल्ने विषादी वार्षिक १५ लाख किलो औपचारिक हिसाबमा नेपाल भित्रिने गरेको छ ।
प्रतिक्रिया 4