+
+

विना तयारीका आयोजनाहरूको ठेक्का प्रक्रिया अगाडि बढाउँदैनौं : भौतिकमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १३:२०

१ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिकमन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमा नै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै उनले मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने बताए ।

‘पहिला नै सबै कुराको तयारी गरेर निर्माणको कामलाई अगाडि बढाउनुपर्छ । आयोजनाहरु पूर्वतयारी गरे मात्रै अगाडि लैजाने हो । अहिले पुरानै आयोजनाहरुको भार बोक्नुपरेको छ । आयोजनाहरुको तयारी विना टेण्डर गरिदिने दिँदा पछि समस्या आउने र आयोजनाहरुको समय लम्बिने समस्या छ । यो हिजोदेखिको समस्या हो । तर अहिले सरकारले विना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा लैजाँदैन,’ उनले भने ।

मन्त्री ज्वालाले बहुवर्षिय ठेक्का मापदण्डअनुसार आयोजनाहरुको ठेक्का लाग्न ईआईए, आईएई र डीपीआर पूरा हुन आवश्यक रहेको बताए ।

पछिल्लो समय सरकारले काम नगर्ने आयोजनाका ठेक्काहरु तोड्ने कामहरु पनि गरिरहेको उनले बताए । उनले ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाहरुमा ठेक्का तोड्न नसकिएको बताए ।

उनले आयोजनाहरुको रकामान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको बताए ।

संसदीय समितिहरुले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाईसँगै राखेर छलफल गराए भौतिक मन्त्रालयलाई सहज हुने उनको भनाइ छ ।

अन्तर मन्त्रालय गत समन्वयमा समस्या रहेको भन्दै मन्त्री ज्वालाले अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरु त्यही अड्किने गरेको दाबी गरे ।

उनले संयन्त्र नै बनाएर अन्तरमन्त्रालय समन्वय गराउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कारण केही सहजता हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?